यो वर्ष पनि भृकुटीमण्डपमा प्रविधि मेला हुने

यो वर्ष पनि भृकुटीमण्डपमा प्रविधि मेला हुने

क्यान इन्फोटेक मेला आगामी माघको दोस्रो हप्ता सञ्चालन गर्ने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघले यो वर्षको क्यान इन्फोटेक मेला काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गर्ने बताएको हो । इन्फोटेकको २७ औँ संस्करण प्रविधि मेला माघ १८ देखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो ।

गत वैशाख २८ देखि जेठ २ गतेसम्म गर्ने गरी सबै तयारी पूरा गरिए पनि कोभिड दोस्रो लहरका कारण उक्त मेला स्थगित गरिएको थियो । सन् १९९५ देखि महासंघले क्यान इन्फोटेक मेला शुरु गरेको हो ।

पछिल्लो पटक सन् २०२० मा इन्फोटेकको २६औँ संस्करण गरिएको थियो । यसपटकको मेला छ दिनसम्म चल्नेछ । आयोजनाले कोभिड १९ कारण प्रभावित सबै सूचना र सञ्चार प्रविधिसम्बन्धी व्यवसायीलाई राहत तथा सहयोग पुग्ने महासंघले अपेक्षा राखेको छ ।

मेलामा यसपटक सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनलाई क्यान इन्फोटेकमा ल्याउने महासंघले बताएको छ ।

प्रविधि मेलामा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने बताइएको छ ।

अघिल्लो संस्करणमा साढे तीन लाख दर्शकले अवलोकन गरेका थिए । यो संस्करणमा अझ बढी अवलोकनकर्ता आउने महासंघले विश्वास लिएको छ ।

टिप्पणीहरू