सुर्खेत–दैलेख बाटो बन्द,वैकल्पिक मार्ग मन्द मन्द

सुर्खेत–दैलेख बाटो बन्द,वैकल्पिक मार्ग मन्द मन्द

सुर्खेत–दैलेख सडक खण्ड आजदेखि एक महिनाका लागि बन्द गरिएको छ । उक्त सडकअन्तर्गत गुराँस गाउँपालिकाको गाइबान्नास्थित घाम ताप्ने भीरमा सडक फराकिलो बनाउन लागिएकाले सडक थुनिएको हो ।
साँघुरोका कारण दुर्घटनाको जोखिम बढेपछि सडक चौडा गर्ने काम शुरु गरिएकाले पुस १५ गतेसम्मका लागि सडक खण्ड बन्द गरेको जनाइएको छ ।

हाल सो क्षेत्रको सडक तीन मीटर मात्रै चौडा छ । ‘दोहोरो गाडी चल्न सक्ने अवस्था थिएन,सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढी थियो,’ डिभिजन सडक कार्यालय सुर्खेतका इञ्जिनियर तुलाराम शर्माले भन्नुभयो, ‘कार्यालयले ठेक्का आह्वान गरेर सडक फराकिलो बनाउन श्याम एण्ड शंकर जेभीलाई निर्माणको जिम्मा दिएर आजदेखि काम शुरु गरिएको छ ।’

यहाँ १५ मीटर उचाइको भीर काटेर सडकलाई सात मीटर फराकिलो बनाइने छ । घाम ताप्ने भीरमा तीन सय मीटर लम्बाई काट्न लागिएको इञ्जिनियर शर्माले जानकारी दिनुभयो । ‘ब्रेकरबाट भीर काट्ने काम आजैदेखि शुरु भएको छ,’ शर्माले भन्नुभयो, ‘दैनिक अनुगमन र छिटो काम सक्ने हिसाबले निर्माण व्यवसायीसँग समन्वय गर्ने योजनामा छौं ।’

सडक डाइभर्ट

दैलेख सडक अवरुद्ध भएपछि वैकल्पिक सडकबाट सवारी पठाउन थालिएको छ । दैलेख सडक भएर सदरमुकाम,बेस्तडा,नौमुले, जाजरकोट क्षेत्रमा जाने सवारीहरुलाई कर्णाली राजमार्गको बाङ्गेसिमल–तल्लोडुंगेश्वर–सियाकोट रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र सुर्खेतसँग कार्यालयले समन्वय गरेर मालवाहक,यात्रुवाहक सवारीलाई त्यही रुटबाट पठाउने व्यवस्था मिलाइएको छ ।

‘घाम ताप्ने भीरदेखि माथिबाट अस्थायी डाइभर्ट पनि बनाएका छौं,’ शर्माले भन्नुभयो, ‘त्यो सडक अलि भरपर्दो छैन, दुई पांग्रे र हलुका साना जीपबाहेक मालवाहक र यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाएका छौं ।’ भीर कटान गर्ने कार्य आफैँमा जोखिम हुन्छ,त्यो समयमा सवारी आवागमन कठिन हुने भएकाले पनि सडक बन्द गर्नु परेको कार्यालयको भनाइ छ । वैकल्पिक सडक भएकाले काम गर्न सहज हुने र निर्धारित समयमै काम सक्ने अपेक्षा सडक कार्यालयको छ ।

टिप्पणीहरू