आगामी तीन दिन बादल लाग्ने, चिसोबाट जोगिन सुझाव

आगामी तीन दिन बादल लाग्ने, चिसोबाट जोगिन सुझाव

आगामी २४ घण्टामा मुलुकभित्रको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

हाल नेपालमा अरब सागरमा बनेको निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाउदै विभागले उक्त अनुरोध गरेको हो । देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले बताएको छ ।

राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ ।
भोलि दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू–भागसहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ । शनिबार दिउँसो बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

टिप्पणीहरू