पोखरा र लुम्बिनीमा अब ठूला विमान उड्न र उत्रन सक्ने

पोखरा र लुम्बिनीमा अब ठूला विमान उड्न र उत्रन सक्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी पाँच महिनाभित्र अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको छ । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक पक्षको काम लगभग सकिएकाले पाँच महिनाभित्र अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको हो ।

क्षेत्रीले भन्नुभयो, ‘अबको एक महिनामा परीक्षण उडान र त्यसबीच आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’ उहाँले थप्नुभयो, ‘जति नै ढिलो गरे पनि अबको पाँच महिनामा गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ । उडानको निम्ति कति वटा एयरलाइन्स आउँछन् त्यो चाहिँ पछिको कुरा हो । तर,वी विल बी रेडी बाइ देन । भारतको कुशीनगर विमानस्थल र हाम्रोलाई दाँज्न मिल्दैन,उनीहरुको आफ्नै स्रोतसाधन छ ।’

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक कार्य ८० प्रतिशत सकिएको जानकारी दिनुभयो । रिट्ठेपानीको डाँडा काट्ने काम सकिए र ल्याण्डफिल्ड साइट नयाँ बनाइदिए आगामी छ महिनामा परीक्षण उडान हुने बताउनुभयो । भन्नुभयो, ‘एक वर्षभित्र पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ ।’

उहाँले युरोपेली युनियन (इयु) ले नेपालका वायुसेवा कम्पनीहरुलाई कालोसूचीमा राखेकोले त्यसबाट हटाउन भरमग्दुर प्रयास गरिने जानकारी दिनुभएको छ ।

टिप्पणीहरू