तरकारीको भाउ छोइनसक्नु, सर्वसाधारणको तिहार थप महँगो

तरकारीको भाउ छोइनसक्नु, सर्वसाधारणको तिहार थप महँगो

तिहारको मुखैमा राजधानी बासिन्दाको भान्सा महँगिएको छ । एक साताको अवधिमा केही तरकारीको भाउ दोब्बर पुगेको बताइएको छ ।

चाडबाडको अवधिमा फाटट्फुट्ट बजार अनुगमन गर्ने प्रवृत्तिले पनि हरियो तरकारी महँगिएको उपभोक्ताहरु बताउँछन् । दशैं अघिदेखि बजारमा तरकारी, खाद्यान्न, माछामासु, खानेतेललगायत दैनिक उपभोग्य सामाग्रहरुमा अचाक्ली मूल्यवृद्धि भएको छ ।

त्यस्तै, तिहारमा नभई नहुने खानेमसलामा समेत चर्को भाउ तोकिएको छ । तर, खानेतेल र हरियो तरकारीमा भएको मूल्यवृद्धि अश्वाभाविक भएको बताइन्छ । तरकारी उत्पादनमा कुनै समस्या छैन तर बजारमूल्य भने जथाभावी तोकिएको छ । एउटै तरकारीको मूल्य पसलपिच्छे फरक रहेकाले सर्वसाधारण मर्कामा परेका हुन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार समितिले बुधबारको लागि गोलभेँडाको खुद्रा मुल्य ९० रुपैयाँ तोके पनि बानेश्वर, सानेपा, लगनखेल, कोटेश्वर, महाराजगञ्ज, बालाजु, भक्तपुरको सल्लाघारी, सूर्यविनायक क्षेत्रका खुद्रा पसलमा १ सय २० रुपैयाँसम्म लिइएको छ ।

त्यस्तै, कालीमाटीले सुकेको प्याजको मूल्य प्रतिकिलो ५५ रुपैयाँ तोकेपनि खुद्रा पसलमा ७० रुपैयाँमा किनबेच भइरहेको छ । तरकारी किन्दै गरेकी गृहिणी बन्दना मैनालीले तरकारी महँगो भएकाले छाक टार्न गाह्रो हुँदै गएको बताइन् । उनले भनिन्, ‘यसैगरि तरकारीको भाउ उकालो लाग्ने हो भने तरकारी नै खान छोडिदिनुपर्ला जस्तो छ । ’

कालीमाटी तरकारी बजारका अनुसार पछिल्लो केही दिनदेखि तरकारीको मूल्यवृद्धि भएको हो । पछिल्लो एक सातामा केही तरकारीको भाउ निकै नै बढेको कालीमाटी तरकारी बजारका प्रवक्ता विनय श्रेष्ठले बताउनुभयो ।

टिप्पणीहरू