खोई जल तथा मौसम पूर्वानुमान विभागको अनुमान ?

खोई जल तथा मौसम पूर्वानुमान विभागको अनुमान ?

तीन दिनदेखिको अविरल वर्षाको कारण देशभरका अधिकांश स्थान डुबानमा परेको छ । कतिपय क्षेत्रमा पहिरो गएको छ । पारिलो घाम लाग्नुपर्ने असोजको अन्तिम र कात्तिक महिना असार र साउन जस्तै देखिन थालेको छ ।

मनसुन बाहिरिने बेलाको अविरल वर्षाले धेरै जनधनको क्षति गरेको छ । बंगालको खाडीमा उत्पन्न न्यूनचापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो ।

पश्चिमी क्षेत्रमा तीन दिनदेखिको वर्षा रोकिने सुरसार छैन भने हावाहुरी समेत चलेको छ । यसबाट काट्ने बेलाको धान सबै सबै सखाप भएको छ । नकाटेका धानका बालासमेत पानीमा डुबेको छ । कतिपय स्थानमा घरभित्रसम्म पानी पसेको छ ।

“मौसमको विवरण राखिए तापनि सर्वसाधारणले बेवास्ता गरेको उहाँको आरोप छ ।”

देशकै अन्नभण्डार भनेर चिनिने तराईको जनजीवनसमेत वर्षाको कारण प्रभावित बनेको छ । पाकेको धान पानीले नष्ट गरेपछि किसानहरुलाई लागतसम्म नउठ्ने चिन्ता बढेको छ । कतै खेतमै धान उम्रने त होइन भन्ने आशंका पनि जागेको छ ।

पानीमा भिजेको धान उसै पनि खान योग्य हुँदैन । भारतसमेत अहिलेको बेमौसमी वर्षाको चपेटामा परेको छ । नेपालमा अधिकांश खाद्यान्न भारतबाट आयात हुन्छ । अन्य जिल्लामा परेको प्रभाव उपत्यकामा समेत देखिने निश्चित छ ।

यसरी बेमौसमी वर्षा हुनुको कारण के हो ? वर्षा पनि सामान्य नभई अविरल रुपमा भएको छ । मौसमविद्हरुले यसलाई मानवजातिले वायुमण्डलमा पारेको प्रभाव भन्न थालेका छन् ।

हरेक तीनदेखि चार वर्षको अन्तरालमा यस्तो स्थिति देखिने मौसम पूर्वानुमान विभागले जनाएको छ । अहिलेको अवस्था अनियमित प्रक्रिया भएको र यसबारे पहिल्यै नै खबर गरिएको विभागका सुचना अधिकारी रामप्रसाद अवस्थीले बताउनुभयो ।

उहाँले मौसम पूर्वानुमान विभागको वेभसाइटमा मौसमको विवरण राखिएको दाबी गर्नुभएको छ । मौसमको विवरण राखिए तापनि सर्वसाधारणले बेवास्ता गरेको उहाँको आरोप छ । विभागले झरी हुनसक्ने मौसमको भविश्यवाणीलाई लिएर विशेष बुलेटिनसमेत जारी गरेको दाबी गरेको छ ।

तर जसले जे भने पनि अहिलेको झरीबाट किसानहरु बिचल्लीमा परेका छन् । मलजल र बिऊको अभावमा लगाइएको धान पाक्ने बेलामा नष्ट भएपछि किसानहरु भोकमरीको संकटमा पर्ने अवस्था बढेको छ ।

वर्षाका कारण भएको डुबानबाट हजारौं हेक्टरमा लगाइएको धान तथा अन्य बाली नष्ट भएको छ । त्यसैगरी खेतीयोग्य जमिन पनि बाढीले कटान गरेको छ ।

टिप्पणीहरू