तरकारी र फलफूलको मूल्य घटेको सरकारी दाबी,खुद्रा पसलमा पहिलेकै भाउ

तरकारी र फलफूलको मूल्य घटेको सरकारी दाबी,खुद्रा पसलमा पहिलेकै भाउ

दशैं शुरु नहुँदै आकाशिएको तरकारी तथा फलफूलको भाउ बिस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैं शुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही बृध्दि भए पनि हिजोबाट सामान्य हिसाबले घट्न थालेको हो ।

दशैंको समयमा गोलभेंडा,काँक्रो, काउलीलगायतका केही तरकारीको मूल्य अत्यधिक बढेको थियो । आलु,प्याजको मूल्य सामान्य बढेको थियो । यस्तै फलफूलको भाउ पनि अत्यधिक महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका थिए ।

तर,दशैं सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवम् उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँले माग सामान्य हुँदै गएकाले बढेको मूल्य पनि विस्तारै सामान्यीकरण हुँदै गएको बताउनुभएको छ । मूल्य घट्ने क्रम जारी रहेको र गोलभेंडा,काउली, बोडीलगायतका केही तरकारीको मूल्य आजबाटै निकै घटिसकेको समेत उहाँको दाबी छ । तर,खुद्रा बजारमा भने उपभोक्ताले दशैं अगाडिकै भाउमा तरकारी किन्नुपरेको दुःखद् यथार्थ सर्वत्र देखिन्छ ।

उपनिर्देशक श्रेष्ठले यो वर्ष बढी पानी परेकाले बालीनालीमा असर र नयाँ तरकारी पनि आउने क्रममा रहेकाले मूल्यबृध्दि भएको उल्लेख गर्नुभयो । अहिले भारतबाट समेत तरकारी धेरै नआउने भएकाले दशैंको समयमा मूल्य बढेको उहाँको तर्क छ ।

दशैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म सामान भित्रिएको थियो । अष्टमीको दिन चार सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिले जानकारी दिएको छ ।

दशैं, तिहारलगायतका चाडपर्वको बेला व्यापारीहरुले हरेक सामानको भाउ बढाउने गरेको उपभोक्ताको आरोप छ । सरकारले मूल्यबृध्दि नियन्त्रण गर्न भन्दै चाडपर्वको समयमा अनुगमनलाई तीब्रता दिने गरे पनि व्यापारीहरुले हरेक वर्ष सबैजसो सामानको मूल्य अत्यधिक बढाउने गरेका छन् ।

टिप्पणीहरू