राउटेलाई मात्रै किन छुटाउनु ? गणना अन्तिममा

राउटेलाई मात्रै किन छुटाउनु ? गणना अन्तिममा

कर्णालीका विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको गणना अन्तिम समयमा गरिने भएको छ । राउटेको गणना छुट्न वा दोहोरिन नदिन जनगणना अभियानको अन्तिम समयमा गर्ने तयारी रहेको स्थानीय जनगणना कार्यालयले जनाएको हो ।

राउटेहरु हाल सल्यानको वनगाड कुपिन्डे नगरपालिका १, घाटगाउँमा बस्दै आएका छन् । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरु छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा मात्र गर्ने गरी स्थानीय जनगणना कार्यालयहरूसँग समन्वय भइरहेको हो ।

अति लोपोन्मुख यो समुदायमा हाल १ सय ४० जना रहेको बताइन्छ । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्लाको जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।

बाह्रौँ राष्ट्रिय जनगणनाअन्तर्गत यही भदौ ३० गतेदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य असोज १८ गतेसम्म हुनेछ । घरधुरी,घरपरिवार तथा कृषिसम्बन्धी विवरण सूचीकरण गर्न चार दिन मात्र बाँकी रहँदा सुपरिवेक्षकहरू राउटे बस्ती पुगेका छैनन् ।

वनगाड कुपिन्डे नगरपालिका–१, की सुपरिवेक्षक राजकुमारी खत्रीका अनुसार राउटे समुदायको घरपरिवार तथा घरधुरी सूचीकरण कार्य अन्तिममा गर्ने तयारी भइरहेको छ । राउटे समुदायसहित पाँच वटा क्लष्टर बनाएर घरधुरी तथा घरपरिवार सूचीकरण गरिरहेको बताइएको छ ।

‘मेरो गणना–मेरो सहभागिता’ भन्ने मूल नाराका साथ यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य जनगणना कार्य हुँदैछ ।

टिप्पणीहरू