महाराजहरू नै तर्सने ‘भूतमहल’ « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

महाराजहरू नै तर्सने ‘भूतमहल’

प्रकाशित मिति :  ४ चैत्र २०७३, शुक्रबार १७:१८


  • राजेन्द्र स्थापित

बेलायत कहिल्यै रोमन साम्राज्यअन्तर्गत रहेन । मध्ययुरोपका एंग्लो स्याक्सन जातिले आक्रमण गरी शासन गर्न थाले । समय बित्दै जाँदा सामन्ती पद्धतिको विकास भयो र सन् ८२८ मा विसेक्सका राजा एग्बर्ट केन्टलगायत सबै स–साना राज्यलाई अधीनमा ल्याउन सफल भए । सन् १०६६ को जनवरी ६ मा एंग्लो स्याक्सनका २१ औं राजाको रुपमा ह्यारोल्ड (द्वितीय) गद्दीमा बसे । उनी यसअघिका राजा तथा रानी एडबर्ड र अगाथाका धर्मपुत्र थिए । दुईटी श्रीमती थिए– इडिथ र इल्डिथ । इल्डिथ पहिला वेल्सका राजा ग्रुफुडकी पत्नी थिइन् । ग्रुफुड र ह्यारोल्ड एकार्काको शत्रु थिए तर इल्डिथले आफ्नै लोग्नेको शत्रु ह्यारोल्डसित दोस्रो बिहे गरिन् । ह्यारोल्डको जर्मन प्रदेश नर्मन्डीका ड्युक विलियमकी छोरी आडेलिजासँग बिहे छिनिसकेको थियो तर विलियमको कारण बिहे भएन । त्यसपछि इल्डिथसँग बिहे गरेका हुन् । 

उनै विलियमले सन् १०५१ मा उच्च भाषा बोल्ने उत्तरी बेल्जियमको क्षेत्र फ्लान्डर्स निवासी माथिल्डासँग बिहे गरे । पछि माथिल्डा १० सन्तानको आमा बनिन् । केही समयपछि विलियम बेलायतमाथि आक्रमण गर्न अघि बढे । दक्षिणपूर्वी तट ह्यास्टिंग्समा बेलायतको ठूलो सेना बसेको थियो । विलियम र ह्यारोल्डको सेनाबीच अक्टोबर १४ मा ठूलो भिडन्त भयो । विलियमतर्फ १० हजार र ह्यारोल्डतर्फ ७ हजार सैनिक थिए । ह्यारोल्डको मृत्यु आँखामा वाण लागेर सोही दिन भयो । ४३ वर्षका उनले ९ महिना एक हप्तामात्र शासन गर्न पाए । ह्यारोल्डको मृत्युपछि बेलायती सेना नेतृत्वविहीन बन्यो । कतिपयले जर्मन सेनासमक्ष आत्मसमर्पण गरे भने धेरै मैदान छाडेर भागे । विलियम बाटोमा ठाउँ–ठाउँमा किल्ला निर्माण गर्दै अघि बढे । उता, ह्यारोल्ड पछि उनैका छोरा एडगर अइथेलिग अक्टोबर १५ मा गद्दीमा बसे । तर राज्याभिषेक गर्न नपाउँदै विलियमले सबैतिर आधिपत्य जमाए । उनी २५ डिसेम्बरमा बेलायतको राजा बने । सन् १०८७ सम्म राज्य चलाए । यसबीच ३६ वटा किल्ला निर्माण गर्न भ्याए । उनीपछि दुई छोरा विलियम (द्वितीय) र हेनरी (प्रथम) राजा बने । 

विलियमले मध्यलण्डनस्थित थेम्स नदीको उत्तरी किनारामा टावर (लण्डन टावर, जुन यतिखेर रानीको दरबार र किल्लाको रुपमा प्रसिद्ध छ) बनाउन लगाए । बाह्र दिनको कडा मिहिनेतपछि मिस्त्रीहरु (कारिगर) टावरको गारो लगाउन सफल भए । र, घर गए । तर, भोलिपल्ट गारो भत्केको देखे । फेरि गारो लगाए, अर्को दिन ढलेको देखे । तेस्रोपटक बनाए, त्यो पनि ढल्यो । मिस्त्रीहरु हैरान भए । उता, राजा विलियम पटक–पटक गारो ढलेकोमा व्यर्थै समय र धन बर्बाद भयो भन्दै क्रुद्ध बने । मिस्त्रीमाथि दोष थोपरे । नाइकेलाई बोलाएर हप्काए । पटक–पटक गारो ढल्नुको कारण सोधे । नाइके नाजवाफ रहे । कारण उनी पनि जान्दैनथे । विलियमले नाइकेलाई कामबाट हटाए, अर्कोलाई राखे । दोस्रो मिस्त्रीले पनि सुझबुझसाथ मजबुत गारो बनाए तर राति ठूलो आवाज निकाल्दै फेरि पनि ढल्यो । विलियम आश्चर्यमा परे । रहस्य पत्ता लगाउन लगाए । जाँचपड्ताल टोलीले दिएको रिपोर्ट सुनेपछि झन् आश्चर्यमा परे । निर्माणस्थलनजिकै अस्थायी घर बनाएर बसेका मजदुरहरुले बताए कि राति पर्खालछाडिको पहाडबाट एउटा छायाँरुपी आकृति निस्कन्छ, बिस्तारै ठूलो हुँदै जान्छ र गारोलाई एकै धक्कामा ढाल्छ ।

‘यो सबै बेकारको कुरा हो । मजदुरहरु नचाहिने कुरा गर्छन् । भूतसुत केही हुँदैन । जाऊ, फेरि गारो लगाऊ’, विलियमले आदेश दिए । 
चौथोपटक गारो लगाइसकेपछि प्रमुख मिस्त्रीले निवेदन गरे– राति आफ्नै आँखाले हेर्न– भूत हुन्छ कि हुँदैन ! विलियमले जवाफ दिए, ‘ठीक छ, म हेर्छु, गारो कसरी ढल्दो रहेछ !’ नभन्दै विलियमले थेम्स नदीको अर्को किनारमा रात बिताउने व्यवस्था मिलाए । आधारात बित्यो । चारैतिर सुनसान । अघिल्तिर बन्दै गरेको दरबार खण्डहरजस्तो लाग्यो । डर पैदा भयो । यसैबीच पछाडिपट्टिको पहाडबाट एउटा छायाँ प्रकट भयो । बिस्तारै दैत्याकार बन्यो । लामो पाइला चाल्दै अघि बढ्यो । जोडले गारोमा लात्ती हान्यो । ठूलो आवाज निकाल्दै भित्तो गल्र्यामगुर्लुम्म ढल्यो । विलियम र तैनाथ सैनिकको मुख सुक्यो । ज्यान बचाउँदै सबै भागे । विलियम पनि पछिपछि दौडे । तर त्रिपाल बाँधेको डोरीमा खुट्टा अल्झियो । लडे र बेहोस भए । 

महारानी माथिल्डाले धामीझाँक्री, वैद्य र भूतप्रेत भगाउन जान्ने विशेषज्ञ बोलाउन लगाइन् । सबैको धेरै दिनको कोशिसपछि विलियम बल्ल तंग्रिए । दरबार बन्दै गरेको स्थानमा भूत भएको सबैलाई बताए । टावर हिलमा धेरै समयअघि थोमस बेकेटनामका व्यक्तिको हत्या गरिएको र उनैको भूत त्यता रहने गरेको स्पष्ट पारे । त्यहीं सन्त थोमस बेकेट चर्च बनाउने र त्यसपछि भूतले उपद्रो गर्न छाड्ने बताए । भूतको नाममा चर्च बनाउने संकल्प गरेपछि पुनः दरबार निर्माण थाल्न लगाए । यसपछि भने गारो ढलेन । सन् १०७८ मा दरबारले पूर्णता पायो । नाउँ राखियो– टावर अफ लण्डन । १२ हेक्टर जमिनमा निर्मित यो दरबारको विस्तार सन् ११९० को दशकमा राजा रिचर्ड (प्रथम) को पालामा गरियो । सन् १२८५ मा दरबार परिसरभित्र अन्य भवन तथा भौतिक संरचना थपियो । त्यसपछि राजपरिवार यहीं बस्न गए । बेलायती राजपरिवार बस्दै आएको बकिंघम सन् १८३७ पछि मात्र शाही दरबार बनेको हो । यहाँ सन् १७१० सम्म सर विलियम ब्लेकको घर थियो । सन् १७६१ मा राजा जर्ज (तृतीय) ले आफ्नी रानी शार्लोटको निम्ति ब्लेकको घरको स्थानमा महल बनाउन लगाएका हुन् । त्यसबेलादेखि रानीको दरबारको रुपमा प्रख्यात भए पनि सन् १८३७ मा रानी भिक्टोरिया बस्न गएपछि मात्र शाही परिवारको प्रमुख दरबार बन्यो । 

लण्डन अफ टावरमा विलियम सपरिवार बस्न थालेपछि फेरि भूतको हल्ला शुरु भयो । एकदिन राति ठूलो स्वरमा चिच्याहट सुनियो । एकछिनपछि आवाज बन्द भयो । कसैले कसैको घाँटी दबाएको होला भन्ठानेर चौकीदारको टोली आवाज आएको दिशातर्फ दौड्यो । मशालको प्रकाशमा चिच्याउने मानिसको खोजी भयो । दरबार पछिल्तिर एउटी महिला बेहोस भएर लडेको फेला प¥यो । उनलाई होशमा ल्याउने प्रयत्न थालियो, आँखा खोल्नेबित्तिकै ‘भूत–भूत’ भन्दै चिच्याइन् । अपराधीहरुलाई यातना दिन बनाइएको साँघुरो र अँध्यारो कोठातर्फ संकेत गरिन् । पुनः बेहोस भइन् । त्यहाँ झ्यालखाना दरबारसँगै जोडिएर बनाइएको थियो । जहाँ खुंखार अपराधीलाई राखिन्थ्यो, फाँसी र क्रूर यातना दिइन्थ्यो । पछि उनै महिलाले जेलको १३ नं. कोठाबाट एउटा कैदी निस्केर सम्मोहन गर्दै आफूलाई दरबारपछिल्तिर लिएर गएको र त्यहाँ पुगेपछि घाँटी अँठ्याउन थालेको बयान दिइन् । 

सेनाले १३ नं. कोठाको निरीक्षण ग¥यो । ढोकामा ठूलो र मजबुत ताला थियो । डण्डी पनि उत्तिकै मजबुत । त्यो तोडेर भाग्न असम्भव । कोठाभित्र एकजना कैदी थिए । बाहिर निकालेर ती महिलाको अगाडि लगियो । महिलाले भनिन्, ‘यो होइन । त्यसको आँखा नीलो थियो । अग्लो थियो । तीखो पारेको जुँगा र कपाल छोटोछोटो थियो ।’ अन्य कैदीहरुमाझ जाँचपड्ताल शुरु गरियो तर एकजना पनि त्यस्तो हुलियाको थिएन । यसबीच एक बूढो चौकीदारले सम्झँदै भने, ‘हो, यस्तै हुलिया भएका एक कैदी थिए, लियोनार्दो दि कोनेर, जो १३ नं. कोठामा बन्द थिए तर २० वर्षअघि नै उनको हत्या भइसक्यो ।’

त्यो बेला बेलायतमा हेनरीको शासन थियो । उनले पनि लियोनार्दोलाई तुरुन्तै सम्झे । किनभने उनैले लियोनार्दोको हत्या गर्न लगाएका थिए । लियोनार्दोको अपराध थियो– राजपरिवारकै एक सदस्यसँगको प्रेम । पछि पनि लियोनार्दोको ‘भूत’ ले बराबर दुःख दियो । एकपटक राजपरिवारको किशोरीमाथि ब्वाँसो बनेर आक्रमण ग¥यो र मा¥यो । पछि हुँदाहुँदै लियोनार्दोबाहेक अन्य ‘भूत’ पनि देखापर्न थाले । पुरुषको हत्या र महिलामाथि दुराचार हुन थाल्यो । भूतप्रेतप्रति विश्वास राख्ने बेलायतीहरुले लण्डन अफ टावरभित्रको जेलमा धेरैलाई मार्ने गरेकै कारण उनीहरु भूत बनेर दुःख दिन थालेको विश्वास गरे । एकपटक त हेनरी (अष्टम) माथि नै ‘भूत’ सवार भयो । राति आफूसँगै सुतिरहेका तीनजना रानीको शीरछेदन गरिदिए । पछि फेरि तीनै रानी पनि (पिशाच) बनेर भूतहरुको समूहमा सामेल भई राजा हेनरीलाई सताउने गरेको हल्ला फिँजियो । भनिन्छ, हेनरी निद्रामै चिच्याउँथे, जुरुक्क उठेर दरबारभित्र दौडने गर्थे । हेनरीकै भनाइमा ती तीनै रानीहरु कालो बिरालो बनेर उनीमाथि झम्टन आउँथे । यसै झम्टाइ र दौडाइमा हेनरीका दुई छोराहरुको शीर काटिएको थियो । दुवै राजकुमार सुतिरहेका थिए ।

केही सीप नलागेपछि हेनरी हेप्टन कोर्टमा बस्न गए । बल्ल राहत पाए । तर, टावर अफ लण्डन भने ‘भूतमहल’ बनिरह्यो । साथै शाही षड्यन्त्र र क्रूरताको अड्डा पनि । लेडी जेन ग्रे, जो हेनरी (सप्तम) की नातिनी थिइन्, एडवर्ड (षष्टम) को १५ वर्षकै अल्पायुमा निधन भएपछि उनैको इच्छाअनुरुप गद्दीमा बसिन् । तर हेनरी (अष्टम) का छोरीहरु मेरी र एलिजाबेथले गद्दीमाथि दाबी गरे । राज्यपरिषद्ले मेरीको दाबी सकार गरेपछि रानी बनेको नौ दिनमा सन् १५५३ को जुलाई १९ मा जेन पक्राउ परिन् । देशद्रोहको आरोपमा टावर अफ लण्डनमा कैद भइन् । र, मृत्युदण्ड पाइन् । हेनरी (अष्टम) की दोस्री रानी एनी बोलेनको पनि त्यस्तै दुर्दशा भयो । हेनरी र एनीको बिहे सन् १५३३ मा भएको हो । एनीले छोरा जन्माउन नसकेपछि हेनरी जसरी भए पनि सम्बन्धबिच्छेद गर्ने बहाना खोज्न थाले । आफैं जेन सेमोरसँग लागेर एनीमाथि व्यभिचार, हाडनाता सम्बन्ध र राजाको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाए । सन् १५३६ को मे २ मा गिरफ्तार गरेर उही टावर अफ लण्डनमा कैद गर्न लगाए । र, चार दिनपछि नै टाउको छिनालेर मृत्युदण्ड दिए । 

मेरी पछि उनैकी बहिनी एलिजाबेथ गद्दीसिन भइन् । शत्रुमाथि बर्बरता अपनाइन् । सरवाल्टर रेलेलाई टावर अफ लण्डनकै कालकोठरीमा हालिन् । १३ वर्ष त्यहीं सड्न लगाइन् । लेखक, कवि, साहसिक नाविकसमेत रहेका रेलेको दोष यति थियो कि बिहे गर्दा उनले महारानीसँग अनुमति लिएनन् । एलिजाबेथपछि गद्दीसिन बनेका जेम्स (प्रथम) ले उनीमाथि आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाए र टाउको काटेर मार्न लगाए, त्यहीँ टावरभित्रै । रेलेको काटिएको टाउको उनकी पत्नीलाई दिन लगाएका थिए, जेम्सले । राजा एडबर्ड (चतुर्थ) का भाइ र राजा रिचर्ड (तृतीय) का दाजु जर्जकी छोरी मार्गरेट पोललाई पनि त्यहींभित्र मृत्युदण्ड दिइएको थियो, सन् १५४१ को मे २७ मा । उनका पिता जर्जलाई पनि सन् १४७८ को फेब्रुअरी १८ मा सोही टावरमा मृत्युदण्ड दिइएको थियो । यसबाहेक यो टावरभित्र भए–गरेका षड्यन्त्र र बर्बरताका कथा धेरै छन् । वर्तमानमा यो ‘भूत–महल’ पर्यटकका लागि खुला छ ।


प्रतिक्रिया दिनुहोस !