ती जम्मै नक्कली कम्युनिष्ट हुन्

ती जम्मै नक्कली कम्युनिष्ट हुन्

– हृदयेश त्रिपाठी, पूर्वमन्त्री

उस्तै समानता छ हृदयेश त्रिपाठी र पद्यरत्न तुलाधरमा । तुलाधर सूर्य चिह्न लिएर चुनाव लडे र केही समय स्वतन्त्र रहे । हृदयेश पनि उसैगरी सूर्य चिह्नबाट लडे र आफूलाई स्वतन्त्र भनाइरहे । आजको पुस्ताले त्रिपाठीलाई मधेशवादी राजनीतिज्ञ भनेर चिन्छ तर कम्युनिष्ट स्कुलिङमा हुर्किएका हुन् । नेपालका अरू कम्युनिष्टहरू नक्कली भएको, तिनले लत्तो छाडेको आरोप लगाउँछन् । आफू हिजो, आज र भोलि पनि प्रगतिशील विचारधारामै रहने प्रतिबद्धता व्यक्त गर्छन् । ३० को दशकमा रायमाझी समूहको एउटा हाँगोमार्फत कम्युनिष्ट कार्यकर्ता रहेका उनी बीचमा वाम राजनीति छाडेर मधेशवादी बने । मधेशवादको राजनीति छाडेर सूर्य चिह्नअन्तर्गत निर्वाचन लडे, विजयी भए र सिंहदरबार छिरे, फेरि नयाँ दल गठन गर्ने चक्करमा छन् । मस्यौदा लेखनको काम टुंगिएको छ, मूर्तरूप दिन मात्र बाँकी छ । लामो समय गजेन्द्रनारायण सिंहको नेपाल सद्भावना पार्टीमा आबद्ध रहे । त्यहीं रहँदा तीनपटक मन्त्री बने, गिरिजा, सूर्यबहादुर थापा र बाबुराम भट्टराईको पालामा । चौथोपटक प्रधानमन्त्री ओलीको क्याबिनेटमा संघीय मामिला तथा सामान्य प्रशासन, पछि स्वास्थ्यमन्त्रीको भूमिकामा थिए, अप्रत्यासित हिसाबले हटाइए । उनीभन्दा जुनियर राजेन्द्र महतो र रघुवीर महासेठहरू उपप्रधानमन्त्री बनाइएपछि एक थान मन्त्रीका लागि इमान बेच्दिनँ भन्दै क्याबिनेटबाट बाहिरिए । ठुल्ठूला भ्रष्टाचार प्रकरण लेखा समितिमा प्रवेश गराएर चर्चा कमाएका पात्र हुन् त्रिपाठी । उनले लाउडा, धमिजा,चेज एयर र चाइना साउथवेष्ट विमान काण्डलाई नियालेका छन् ।

– हरि गजुरेल

तपाईं कम्युनिष्ट छाडेर मधेशको राजनीतिमा लाग्नुभयो । मधेश छाडेर सिंहदरबार छिर्नुभयो । अहिले फेरि सिंहदरबार छाडेसँगै नयाँ पार्टी निर्माणमा लाग्नुभएको छ । अब बन्ने पार्टी कस्तो हो ?

– माक्र्सवाद, लेनिनवाद मैले छाडेको हैन । कम्युनिष्टका नाममा अरू नक्कली हुन्, अरूले छाडेका हुन् । अरूले घरमै पढे, दुई–चार पुस्तक । मैले विश्वविद्यालयमा पढेको हुँ । नेपालका कम्युनिष्टहरूको न नैतिकता छ, न त चरित्र, विचार, इमान्दार नै छ । प्रगतिशील थिएँ, अहिले पनि छु, भोलि पनि रहनेछु ।

क्षेत्रीय राजनीतिमा तीन दशकभन्दा बढी समय व्यतित गरें । हामीले जुन ढंगको त्याग ग¥यौं, त्योअनुसारको उपलब्धि भएन । महिला, मधेश, अल्पसंख्यक, जनजातिको सवाल देशकै सवाल हो । यसलाई क्षेत्रमा छाडिदिने हो भने आफैंमा साम्प्रदायिक हुन जान्छ । जबसम्म यी एजेण्डा र समस्या देशको समस्या बन्दैन तबसम्म सामाधान हुँदैन । नेपालमा कुनै न कुनै रूपमा सामाजिक द्वन्द्व, विचलन रहिरहन्छ । यी निश्कर्षसाथ प्रगतिशील शक्तिले लिड गर्छन् कि भन्ने मेरो भ्रम रह्यो । प्रगतिशील भनिएकाहरू यथास्थितिवादी बढी देखिए । स्वतन्त्र राजनीतिक समूह निर्माण गरेर हामी निर्वाचनमा होमियौं । तर, हामी कुनै कम्युनिष्ट पार्टीमा प्रवेश गरेनौं कारण ती कम्युनिष्ट पार्टीहरूमा वैचारिक रूपमा इमान्दारीको अभाव थियो । संघीयता, संविधानमा उल्लेख भएका विभेद अन्त्य, वर्गीय हिसाबले किसानको प्रतिनिधित्व हुने गरी नयाँ पार्टी गठन गर्ने तयारी गरेका हौं । कम्युनिष्टहरूले वर्गीय हिसाबले किसानको कुरा त उठाए तर उत्पादन गर्ने वर्गभन्दा लाभ लिनेका दलाल भए । कांग्रेस विशेष गरी शहरिया उच्च वर्गको पार्टी भयो । सरकारले किसानलाई मतदाता र करदाताको रूपमा मात्र लियो । यीभन्दा फरक छन् हामीबाट देशको आर्थिक अनुशासनलाई महत्व दिने, मस्यौदा तयार भइसकेको छ । मस्यौदा लेखनमा पूर्व सचिव, राजदूतहरू सहभागी हुनुभएको छ । अब तीन–चार वटा भेलाबाट मस्यौदाउपर छलफल गरी नयाँ पार्टी निर्माण गर्नेछौं ।

-प्रगतिशील शक्तिले लिड गर्छन् कि भन्ने मेराे भ्रम रह्याे । 

-जुनियरकाे अण्डरमा एक थान मन्त्री खानु थिएन ।

-अनुहारमा मैलाे छ, हामी एेना पुछिरहेका छाैं ।

-प्रधानमन्त्रीज्यूले, त्यस्ताे स्थिति आउँदैन भन्नुभएकाे थियाे ।

सामान्य प्रशासन हुँदै स्वास्थ्यमन्त्री बन्नुभयो तर प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी पनि नदिई हटाउनुभयो भन्ने सुनिन्छ । वास्तविकता के हो ?

– जसपा सरकारमा सामेल हुँदा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्नुभएको थियो प्रधानमन्त्रीज्यूले, मैले त्यही बेला वरिष्ठताका आधारमा मभन्दा कनिष्ठलाई माथि राख्ने स्थिति आयो भने म हट्नुपर्ने हुन्छ भनेको थिएँ । उहाँले भरसक त्यस्तो स्थिति आउँदैन भन्नुभएको थियो । मभन्दा जुनियरमातहत बस्नसक्ने स्थिति पनि रहेन । मेरो स्थानमा बृजेश गुप्तालाई पठाउन खोजियो । उहाँले मान्नुभएन । संसद् विघटित छ, म सांसद हैन । सांसद नभएको मान्छे, मन्त्री बन्न हुन्न भनेर उहाँले प्रधानमन्त्री र मेरो प्रस्तावलाई इन्कार गर्नुभयो । संघीय मामिलाबाट हट्ने समयमा पनि बृजेशजीलाई पालो दिन खोजेको थिए“, उहाँले मान्नुभएन । आफू स्वास्थ्यमन्त्री, देश कोरोनाको महामारीमा, म भाग्न खोजेको हैन तर मेरो अगाडि ठूलो नैतिक संकट आइलाग्यो, आफूभन्दा जुनियरको अण्डरमा रहेर एक थान मन्त्री खानु थिएन ।

कम्युनिष्ट पार्टी ध्रुवीकरण हुँदै गर्दा मधेशवादी पार्टी मिल्नुपर्छ भनेर राजपा बनाउन मुख्य भूमिका खेल्नुभयो । त्यहाँ पनि टिक्नुभएन !

– मेरो मूल्य–मान्यता अरूभन्दा अलि फरक छ । त्यही कारण पनि राजनीतिमा दुःख पाएको । म स्वतन्त्र चिन्तक, स्वाभिमान बेच्दिनँ, देशभित्र होस् वा देशबाहिर । राजनीतिमा अपेक्षित रूपमा लाभ हासिल गरेको नदेखिएला तर मजति सुखी कोही छैन ।

संकटको समय स्वास्थ्यमन्त्रीका रुपमा ५ महिना ११ दिन रहनुभयो । यही समयमा खोपको राजनीति चल्यो । स्वास्थ्य मन्त्रालय मन्त्री, सचिवले कम, बिचौलियाले बढी चलाउँछन् भन्छन् । वास्तविकता त्यस्तै रहेछ कि फरक ?

– स्वास्थ्य मन्त्रालय साह्रै अस्तव्यस्त थियो । लक्ष्मण अर्यालले व्यवस्थापन गर्दै हुनुहुन्छ । कर्मचारी समायोजन साह्रै गञ्जागोल ढंगले भयो । समायोजन चल्दा उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो, उहाँले ध्यानै दिनुभएन । उहाँको निजी सचिवालयले समायोजन बिगा¥यो । झण्डै ३५ हजार स्वास्थ्यसेवाका कर्मचारी छन् तर सोही सेवाका सचिव छैनन् ।

अहिले सीमित देशका सीमित कम्पनीले मात्र खोप उत्पादन गरेका छन् । माग असीमित छ । अहिले पनि ४ दर्जन बढी देशले कोरोनाको खोप पाएकै छैनन् । बिचौलिया नेपालको हरेक व्यवसायमा छन्, ती नभएको क्षेत्रै छैन । क्याबिनेटबाट एउटा निर्णय भएको थियो सरकारले सिधै उत्पादक कम्पनीसँग खरिद गर्ने, यदि निजी क्षेत्रले ल्याउन चाहेको खण्डमा दिने, लागत मूल्यमा बढीमा १० प्रतिशत नाफा लिन दिने । तर, उनीहरूले १० प्रतिशत मुनाफालाई कमिसनको रूपमा बुझे । अष्ट्रेलियन र कोरियन दुईवटा कम्पनीले नेपालमा खोपको तेस्रो ट्रायलका लागि अनुमति मागे । मैले दिइनँ, हाम्रो जनसंख्या सीमित छ, अमूल्य छ । म गिनिपिग हुन दिन्नँ । ट्रायलमा रहिरहेको खोप हानेर मानव शरीरलाई जोखिम पार्न दिन्नँ भन्ने नै लाग्यो । खोपको ट्रायलका लागि कार्यविधि बनाउनुप¥यो भनेर विभिन्न ठाउँबाट अनुरोध आएको थियो । मैले मानिनँ, अहिले सुन्दै छु यो कार्यविधि क्याबिनेटबाट पास भयो रे !

तपाईं ४ पटक मन्त्री बन्नुभयो । गिरिजा, सूर्यबहादुर, बाबुरामदेखि ओलीसम्म । अरू प्रधानमन्त्री र ओलीसँग काम गर्दाको अनुभूति कस्तो रह्यो ?

– आफ्नै हिसाबले काम गर्नमा ब्रेक लगाउने काम कसैबाट भएन । सडक विस्तार, रेल्वे अध्ययन, टनेल मेरै पालामा भएको हो, मेट्रो पनि । अहिले पनि संघीय होस् वा स्वास्थ्यमा हुँदा प्रधानमन्त्रीबाट कुनै असहयोग भएन ।

त्यही क्याबिनेटबाट हटेका केही मन्त्रीका अनुसार आफ्ना मन्त्रालयगत निर्णय, नियुक्तिमा सिधै बालुवाटारबाट हस्तक्षेप हुने, आफ्नो मन्त्रालयको निर्णय सञ्चारमन्त्रीको प्रेस ब्रिफिङबाट थाहा पाउनुपर्ने स्थिति थियो । तपाईंले त्यस्तो स्थिति भोग्नुभएन ?

– अरूले के बुझे, त्यो थाहा भएन तर सहमतिबेगर मेरो मन्त्रालयमा कुनै निर्णय भएन ।

अहिले देश संकटको भुमरीमा छ । अबको राजनीतिक कोर्स कुन दिशातिर अघि बढ्ला ?

– तीन वर्षअघि नै भनेको थिएँ, नेकपा विभाजन भएको खण्डमा कहीँ न कहीँ संविधान र सिष्टम समाप्त हुन सक्छ । अहिले राजनीतिक दल र नेताभन्दा पनि अदालतको परिसरमा राजनीति पुगेको देखिन्छ । यसको मूल जड संविधान निर्माण हो । विभिन्न आन्दोलनको लिगेसीलाई बोक्नुपर्ने, कतिपय नरुचाएका कुरा पनि नलेखी नहुने अवस्था थियो । मेजर राजनीतिक दललाई संविधान जारी भएपछि लागेको थियो, हामीले आवश्यकताभन्दा बढी लेख्यौं । जारी संविधानप्रति हामीजस्ता असहमति राख्ने दलहरूको राय थियो, यो ठाउँमा यो परिमार्जन, संशोधन हुनुपर्छ । जो संशोधन चाहन्थे तीसँग शक्ति थिएन, जोसँग शक्ति थियो (बढी लेख्यौं भन्ने लागेको थियो) तीसँग हिम्मत भएन । घटाउन सकेन । त्यही कारण संविधानप्रतिको स्वामित्व घटेको छ । संविधान घाइते अवस्थामा छ । संविधान निर्माणका क्रममा तटस्थ व्यक्तिहरूको एउटा परामर्श समिति वा आयोग बनाउन चुक्यौं । त्यसले कहाँ सुधार्नुपर्ने हो, सुझाव दिन्थ्यो । अहिले अदालतमा यति धेरै मुद्दा जानुको कारण संविधानको अस्पष्टता, व्याख्याको क्रममा देखिएको अस्पष्टता हो । अनुहारमा मैलो छ, हामी ऐना पुछिरहेका छौं । समस्या संविधानको लेखाइमा हो तर हामी त्यहाँ प्रवेश गरेका छैनौं । संविधानको समाप्तितिर देशलाई लैजाँदै छौं ।

एमाले दुई चिरा भयो । त्यही रोग जसपामा सरेको छ । अब कस्तो देख्नुहुन्छ मधेशमा उपेन्द्र यादव, राजेन्द्र महतो वा महन्थ ठाकुरहरूको भविष्य ?

– एमालेसँग हामीले दुईबुँदे सम्झौता गरेर चुनावमा होमिँदा उपेन्द्र यादवजीले भएभरको बल लगाएर आलोचना गर्नुभयो । वाम गठन्धनको विपक्षमा कस्सिएर लाग्नुभयो, पछि ओलीकै नेतृत्वमा १९ महिना मन्त्री खानुभयो । अहिले पूर्वराजपाको एउटा खेमा ओली नेतृत्वको सरकारमा आउँदा मलाई सन्तोष लाग्यो, मैले लिएकै बाटो सही रहेछ, मेरो नैतिक विजय भयो । मधेशको समस्या देशकै समस्या हो । अरु पार्टीले यसलाई हल गर्न सकेनन् भने आरोप लगाएर कोही आफू मुक्त हुन सक्दैनन् । समस्या हल नगर्ने, जसले मुद्दा उठाउँछ उसलाई साम्प्रदायिकको बिल्ला भिराउने दोहोरो चरित्र भयो । अहिलेको अवस्थामा राष्ट्रिय राजनीतिलाई मधेशले असहयोग गरेको छैन, संविधानको सफल कार्यान्वयन मात्र मधेशले खोजेको हो । हामी संविधान निर्माणका क्रममा असन्तुष्ट थियौं यद्यपि यो संविधान रहोस् भनेर चाहिरहेका छौं । संविधान निर्माणबाट जो बढी सन्तुष्ट थिए, तिनै अहिले यो संविधान सिध्याउन लागिरहेका छन् । अहिलेको यथार्थ यही हो ।

जहाँसम्म उपेन्द्र, राजेन्द्रहरूको प्रश्न गर्नुभयो, उहाँहरूले सिंगो तराईलाई आफ्नो ठान्नुभएकै छैन, उहाँहरू दुई नम्बर प्रदेशको मात्र । चुनावी तालमेल, सरकार बनाउने सिलसिला दुई नम्बरमा मात्र केन्द्रित । दुबै मिलेर दुई नम्बर प्रदेशमा सरकार बनाउन त सक्नुभयो तर टिकाउन सक्नु भएन । अहिले उपेन्द्रजीले कांग्रेससँग सहकार्य गर्नुभयो, यसले धेरै चिजको संकेत गर्छ । उहाँ मधेशवादी शक्तिभन्दा कांग्रेस वा माओवादीसँग बढी झुकाव राख्नुहुन्छ । दुई नम्बर प्रदेशलाई पनि मधेशवादीको हिसाबले उहाँहरूले सम्हाल्न सक्नुभएन ।

तपाईं स्वास्थ्यमन्त्री हुँदै महन्थ ठाकुरसँग सिंहदरबारमा भेटघाट चल्यो । त्यो भेटलाई पूर्व तमलोपा ब्यँुताएर तपाईं उतै फर्कन खोजेको रूपमा चर्चा भयो । महन्थकै पार्टीमा तपाईं फर्कने सम्भावना कत्तिको छ ?

– तमलोपा ठाकुरजी र हामी मिलेर बनाएको हो । राम्रैसँग चलिरहेको थियो । मैले आदर गर्ने नेतामध्ये एक हो । उहाँसँगको भेट पार्टी एकीकरणको विषयभन्दा उहाँहरू सरकारमा सहभागी हुने विषयमा केन्द्रित थियो, अब तमलोपा ब्यँुताएर त्यतै जाने सम्भावना बिल्कुलै छैन ।

टिप्पणीहरू