मनमौजी महारानी, मनकारी महापुरुष

  • राजेन्द्र स्थापित

मार्टिनिक क्यारिबिन सागरको पूर्वतर्फ अवस्थित टापु हो । कोलम्बसले सन् १४९३ मा पहिलोपटक पाइला टेकेपछि सबै युरोपेलीले यहाँ आँखा गाडे । स्पेनले आफ्नो बनाउन खोज्यो तर सन् १६५३ मा सेन्ट किट्स टापुका फ्रान्सिसी गभर्नर पियरे बेलाइन सेनाको टुकडीसहित त्यहाँ पुगे । १ सय ५० जना फ्रान्सिसीलाई बसोबासको व्यवस्था मिलाएर फर्के । त्यसबखत फ्रान्समा लुई (तेह्रौं) को शासन थियो ।

उनले मार्टिनिक फ्रान्सको अधीनमा आएको घोषणा गरिदिए । सोही टापुको लेस ट्रोइस इलेट्समा सन् १७६३ को जुनमा मेरी जोसेफ रोज तास्चर डे ला पागेरीको जन्म भयो । उखु खेती चलाएर बसेका मेरीको परिवार गोरा थिए, आइरिश । तर, पछि आर्थिक रूपमा टाट पल्टेपछि मेरीको परिवार फ्रान्समा बसाइ स¥यो ।

मेरी १६ वर्षकी थिइन् । पेरिस पुगेको दुई महिनापछि नै सन् १७७९ को डिसेम्बर १३ मा परिवारले छनोट गरेको १९ वर्षको युवक अलेक्ज्याण्डरसँग बिहे भयो । दुई वर्षपछि छोरा युजिन र अर्को दुई वर्षपछि छोरी ओर्टेन्साको आमा बनिन् । दाम्पत्य जीवन भने सुखी थिएन । मेरीको शरीर अलि मोटो थियो, कुलीन वर्गले मन पराउने खालकी सुन्दरी थिइनन् । अलेक्ज्याण्डर नृत्यका पारखी थिए, नृत्यलाई मन पराएर मात्रै मेरीलाई स्विकारेका थिए । घुम्न रुचाउँथे । त्यसैले पत्नीलाई पेरिसमै छाडेर मार्टिनिक फर्के । त्यहीं प्रेमिका बनाए । अमेरिकामा चलिरहेको स्वतन्त्रताको संग्राममा भाग लिने उद्देश्यले प्रेमिकासँग अमेरिका गए । त्यहीं छोराछोरी जन्माएर बसे । मेरीले यो कुरो थाहा पाइसकेपछि एकमुष्ट रकम लिएर अलग्गिने निर्णय लिइन् ।

अलेक्ज्याण्डरले उनको नाउँमा फोन्टेनब्लेउमा ठूलो भवन र जग्गा (बिर्ता) खरिद गरी बस्ने व्यवस्था मिलाइदिए । छोराछोरीको सम्पूर्ण खर्च पनि उठाए । मेरी त्यसपछि स्वच्छन्द जीवन बिताउन थालिन् । सामाजिक कार्यमा लाग्ने, क्लबमा जाने क्रममा थुप्रैसँग प्रेम गरिन्, सम्बन्ध बनाइन् । सन् १७८८ मा मार्टिनिक फर्किइन् । दुई वर्ष बसिन् तर त्यसैबेला त्यहाँ उखु खेतीमा संलग्न दासहरूले विद्रोह गरेपछि डराएर पेरिस फर्किइन् । अलेक्ज्याण्डरसँग मेलमिलापको कोसिस गरिन् । विलासी जीवनका कारण आर्थिक कठिनाइ भोज्नुप¥यो । अलेक्ज्याण्डर भने फ्रान्सिसी क्रान्तिको पछि लागे । एकपछि अर्को गिलोटिनले टाउको छिनाल्न थालेपछि वातावरण अत्यन्त आतंकपूर्ण बन्यो ।

सन् १९९४ को मार्चमा अलेक्ज्याण्डर जेल परे । लोग्नेसँग पुनः जसरी भए पनि मेलमिलाप गर्ने कोसिसमा लागेकी मेरी अलेक्ज्याण्डरलाई छुटाउन दौडधुप गर्न थालिन् । नयाँ फ्रान्सिसी सरकार अधिकृतले त्यसो नगर्न चेतावनी दिँदादिँदै पनि पछि नहटेपछि अप्रिलमा मेरीलाई पनि पक्रेर जेल पठाइयो । त्यहीँ पति–पत्नीको भेट भयो । तर, जर्नेल लुइ लाजार हाचको कारण मेलमिलाप भएन । किनभने, जेलमै मेरीले हाचसँग ‘सम्बन्ध’ राखिसकेकी थिइन् । दुई जनाको सम्बन्ध यहाँसम्म बढ्यो कि युवापत्नीसँग सम्बन्धबिच्छेद गरेर आफूसँग बिहे गर्न मेरीले दबाब दिन थालिन् तर हाच हक्की स्वभावका थिए । उनले तत्काल जवाफ फर्काए, ‘कुनै पनि पुरुष कुनै वेश्यालाई प्रेमिका बनाउन सक्छन् तर पत्नी होइन ।’ हाचलाई थाहा थियो मेरीले कुकुरपालक भान एकरसँग पनि सम्बन्ध राखिरहेकी थिइन् ।

पक्राउ परेको चौथो महिनामा अलेक्ज्याण्डरले मृत्युदण्ड पाए । मेरीले पनि सोही सजाय पाउँदै थिइन् । तर, सोही बेला गणतन्त्रविरोधी तथा आतंक मच्चाउँदै आएका नेता मैक्सिमिलिन रोबेसपियरे र उनका समर्थक सबै पक्राउ परे । आतंक समाप्त भयो । पक्राउ परेको चार महिनापछि मेरी रिहा भइन् । छोराछोरीसँग पुनर्मिलन भयो । सोही क्रममा थेरेसा तालियन र पाल बार्राससँग मित्रता भयो । बार्रास फ्रान्सिसी क्रान्तिका एक घागडान राजनीतिज्ञ थिए । मेक्सिमिलनको विपक्षमा लागेका थिए । फ्रान्सिसी गणतन्त्रको सरकार चलाउन जुन पाँच सदस्यीय निर्देशन समिति गठन गरिएको थियो, त्यसका एक सदस्य थिए । बार्राससँग मेरीको प्रगाढ हिमचिम बढ्यो । मेरीलाई ठूलो सहयोग गरे । इतिहासकारका अनुसार मेरी बर्रासका ‘रखैल’ बन्न पुगेकी थिइन् ।

नेपोलियन बोनापार्ट ब्रिगेडियर जनरल बनिसकेका थिए । ठुल्ठूला र प्रमुख लडाइँमा एकपछि अर्को सफलता हासिल गर्दै गइरहेकाले फ्रान्सिसी जनतामाझ ‘नायक’ बनिसकेका थिए । एकदिन नेपोलियनको नेतृत्वमा सेनाले पेरिसमा छाएको आतंक खत्तम पा¥यो । नेपोलियनले घरघरमा लुकाइराखेको हतियार सेनासमक्ष सुम्पन नागरिकलाई आह्वान गरे । मेरीका छोरा युजिन त्यसबेला १४ वर्षका थिए । आफ्ना बाबुको तरबार बुझाउन नेपोलियनकोमा पुगे तर तरबार छातीमा च्यापेर रुन थाले । नेपोलियनले कारण सोधे । युजिनले बाबुको चिह्नको रूपमा रहेको तरबार अरुलाई दिन गाह्रो भइरहेको बताए । र, बरु मर्न तयार छु, तरबार बुझाउँदिन भने । नेपोलियन युजिनले बाबुप्रति देखाएको असिम मायाबाट प्रभावित बने र तरबार लिएनन् । साथै, छोरोलाई यस्तो संस्कार दिने आमासँग भेट्न चाहेको बताए । मेरी पनि नेपोलियनबाट निकै प्रभावित भइन् । ‘धन्यवाद’ दिन भेट्न गइन् । त्यसबेला नेपोलियन टेबुलमा फैलाइएको नक्सा हेर्दै थिए । मेरीलाई टाउकोदेखि पाइतालासम्म हेरे । मेरी उनलाई यति राम्ररी लाग्यो कि हेरेरै बसे । उता मेरीको पनि स्थिति त्यही थियो । मेरीलाई विलासी जीवन बिताउन धनी र प्रभावशाली पुरुषको आवश्यकता थियो । नेपोलियन २६ वर्षको लक्का जवान थिए अनि अविवाहित पनि ।

६ वर्ष कान्छो भन्ने थाहा पाउँदापाउँदै फसाउने सोच बनाइन् र नेपोलियन अक्सर जाने गरेको कार्यक्रममा जान थालिन् । प्रेमपत्र लेख्न थालिन् । एउटा पत्र लेखिन्, ‘तपाईं त्यो मित्रसँग भेट्न कहिल्यै आउनु हुन्न, जो हमेसा तपाईंबारे सोच्ने गर्छ । भोलिको दिवाभोजमा तपाईंलाई निमन्त्रणा छ ।’

भोलिपल्ट नेपोलियन मेरीको घरमा पुगे । ठूलो सत्कार गरिन् । भोजनपछि दुवै बैठक कोठामा बसेर गफ गर्न थाले । कुराकानीकै क्रममा मेरीले नेपोलियन इटलीमा फ्रान्सिसी सेनाको सेनापति भएर जान चाहिरहेको थाहा पाइन् । तुरुन्तै आश्वस्त पारिन्, ‘म मेरा साथी बार्रासलाई भनेर तपाईंलाई यो पद दिलाउने कोसिस गर्छु ।’ नेपोलियन यसपछिका दिनमा मेरीको घर जान थाले । मेरी मायाको जाल बिछ्याएर शारीरिक सम्बन्ध राख्नसमेत सफल भइन् । बार्रासले जब नेपोलियन मेरीको घरमा जाने मात्र होइन, महँगो उपहार लिएर जान थालेको थाहा पाए । नेपोलियनसँग भेटेर यसरी फजुल खर्च गर्नुको बदला धन घरपरिवारका लागि पठाउन सुझाए तर नेपोलियनले आफू मेरीसँग बिहे गर्न इच्छुक भएको बताए, बार्रास तीनछक परे । यसै विषयमा कुराकानी गर्न बार्रास मेरीको घर पुगे तर मेरीले भनिन्, ‘म नेपोलियनलाई प्रेम गर्दिनँ, ऊसित बिहे गरी सामाजिक प्रतिष्ठा मात्र प्राप्त गर्न चाहेको । तिमीप्रतिको मेरो प्रेम सदाझैं रहिरहनेछ । म जोसँग बिहे गरे पनि तिम्रै रहिरहनेछु ।’<br /> <br /> उता, नेपोलियनसित मेरीले भनिन्,  ‘आफूप्रतिको बार्रासको नियत खराब छ ।’ कुरो सुनेर नेपोलियन क्रोधित बने । तर, मेरीले इटलीको सेनापति बन्नु छ, चुप लाग्नुस् भनेर थुम्थुम्याइन् । बार्रास पनि मेरीबाट छुट्कारा खोज्दै थिए । मेरीसँग बिहे गराइदिएर नेपोलियनलाई सेनापति बनाएर इटली पठाउन राजी भए ।

नेपोलियनको परिवार मेरीसँग बिहेको विपक्षमा उभियो । आमा लेटिसिया उमेरले ६ वर्ष जेठी, जर्नेलकी विधवा पत्नी, हुर्कंदै गरेका छोराछोरी भएकी, बार्रासलगायत थुप्रै पुरुषसँग सम्बन्ध गाँस्ने गरेकी र पैसालाई धुलोसरह उडाउन खप्पिस विलासी महिलालाई बुहारी बनाउन कुनै हालतमा तयार भइनन् । भाइबहिनीले पनि नेपोलियनको विरोध गरे । मेरी त्यसबेला हतियार खरिद–बिक्रीमा संलग्न थिइन्, त्यसैले हितैषीहरूले नेपोलियनसँग बिहे गरेर व्यापार बन्द नगर्न सुझाव दिए । सबैभन्दा विपक्षमा थिइन्– ओर्टन्सा । तर, मेरीले नेपोलियनजत्तिको असल सौतेनी बाबु अरू पाउन नसक्ने भन्दै छोरीलाई सम्झाइन् ।

नेपोलियन घर गएर मेरीकी छोरी ओर्टेन्सा र छोरा युजिनसँग भेटे । बिहेका लागि राजी पारे । यसबीच नै नेपोलियन र मेरीबीच दर्जनौं प्रेमपत्र आदानप्रदान भइसकेको थियो । नेपोलियनले मेरी जोसेफलाई प्रेमपूर्वक जोसेफिन सम्बोधन गर्न थालिसकेका थिए । अन्त्यमा ३२ वर्षीया जोसेफिन र २६ वर्षीय नेपोलियन सन् १७९६ को मार्च ९ को बेलुकी ८ बजे मेयरको कार्यालयमा पुगे । पाँच मिनेटमै उनीहरूको बिहे सम्पन्न भयो । त्यहाँ उनीहरूबाहेक दुई जना मात्र उपस्थित थिए– बार्रास र थेरेसा तालियन । उनीहरू नै साक्षी बसे । नेपोलियनको परिवार र जोसेफिनका छोराछोरी कोही उपस्थित भएनन् । बिहेलगत्तै नेपोलियनले दाइजोका रूपमा इटलीको सेनापति पाए–बार्रासको तर्फबाट ।

बिहेको पहिलो रातमै नेपोलियन चित खाए । जोसेफिनले आफ्नो सानो पग कुकुर बीचमै सुताउन ल्याएकी थिइन् । नेपोलियन बिरालो, कुकुरजस्ता कुनै पाल्तु जनावरलाई प्रेम गर्दैनथे । मनै पराउँदैनथे । तर, जोसेफिन टसमस भइनन् । नेपोलियन निकै दुःखी बने । तीन दिनपछि नै नेपोलियनलाई युद्धमैदानमा जानुप¥यो । युद्धक्षेत्रबाट नेपोलियन पत्नीलाई प्रेमपत्र लेखेको लेख्यै गर्थे तर जोसेफिनले नयाँ प्रेमी हिप्पोलिट चाल्र्ससँग रमाइलो गरेर बस्थिन् । पतिको पत्र पाएको ५-६ दिनपछि प्रत्युत्तर दिन्थिन्, त्यो पनि चार–पाँच लाइनमा । पत्नीको व्यवहारबाट नेपोलियन क्रूद्ध बने । दूतमार्फत जोसेफिनलाई बोलाए ।

पत्रमा उनले दूतलाई खाली नफर्काउन भनेका थिए तर जोसेफिनले न उत्तर दिइन् न दूतसँगै जान मानिन् । अर्को साता नेपोलियनले जोसेफिनलाई इटली ल्याउन सेनापति मुरातलाई पेरिस पठाए । मुरातले बोकेको पत्रमा लेखिएको थियो, ‘यहाँ तिमीले सबै कुरा प्राप्त गर्नेछौ– नोकरचाकर, लुगा र तिम्रो प्रिय कुकुर ।’ तर, यसपटक पनि आफू गर्भवती भएको बहाना बनाइन् । अर्कोपटक पनि बिरामी भएको बहाना बनाइन् । नेपोलियनलाई पत्नीको कमजोरी थाहा थियो तैपनि आशक्त थिए । एकपटक सेनापति मुरातलाई भने, ‘मेरो मनमा उनीप्रति कुनै आदर छैन किनभने मलाई थाहा छ, उनी बेइमान हुन् तर उनमा त्यस्तो केही छ, जसकारण उनीलाई प्रेम नगरिरहन सक्दिनँ । मेरो विचारमा उनी एक पूर्ण स्त्री हुन् ।’

पछिल्लोपटक जोसेफिनले बहाना बनाएको ‘बिरामी’ ले नेपोलियन छट्पटाए । फ्रान्स सरकारसमक्ष पाँच दिन बिदा मागे । जोसेफिनले लोग्नेको उक्त निवेदन लुकाएर राखिन् तर नेपोलियनका भाइ जोसेफले निवेदन बार्रासलाई देखाइदिए । बार्रास चिन्तित भए किनभने नेपोलियनबिना फ्रान्सिसी सेना अघि बढ्न सक्दैनथ्यो । त्यसैले नेपोलियनलाई पेरिस आउनबाट रोक्न जोसेफिनलाई नै बरु इटलीको मिलान पठाउने व्यवस्था मिलाए । बार्रासको आदेश सुनेर सुरुमा जोसेफिन रोएरै बसिन् तर पछि जान तयार भइन् । तर, युवा प्रेमी चाल्र्सलाई पनि लगिन् । पत्नीलाई देखेपछि नेपोलियन निकै प्रशन्न भए । चाल्र्सलाई पनि स्वागत गरेर रात्रिभोज ख्वाए ।

दुई दिन जोसेफिनसँग बसेपछि तेस्रो दिन अष्ट्रियातर्फ रवाना भए । तर, नेपोलियन नभएको मौका पारेर अष्ट्रियाइ सेनाले फ्रान्सिसी सेनापति आक्रमण ग¥यो । जोसेफिन भागेर पेरिस पुगिन् । नेपोलियन युद्धमा अल्झेर बसे । निकै समयपछि सफलता प्राप्त गरी मिलान फर्के । तर, त्यहाँ जोसेफिनलाई नदेखेपछि रोए । एउटा पत्र लेखे, ‘म सबै काम छाडेर तिम्रोमा आएँ तर तिमी हिँडिसकेकी रहिछ्यौ । मप्रतिको तिम्रो प्रेम मरिसकेको रहेछ । ठीकै छ, तिमी त्यहाँ बसेर विलासी जीवन बिताऊ, म यता एक्लै बस्छु, दुःखी भएर ।’

सन् १७९८ मा नेपोलियन इजिप्ट पुगे । बल्ल थाहा पाए कि जोसेफिन आफ्नी प्रेमी चाल्र्ससँग मज्जाको जीवन बिताइरहेकी छन् । उनमा घृणा जाग्यो । जोसेफले भाउजूको सारा कर्तुत दाजुलाई सन्देशमार्फत दिएर सम्बन्धविच्छेद गर्ने सल्लाहसमेत दिए । तर, यी सबैको बाबजुद नेपोलियन आफूलाई सम्राट् घोषित गरी जोसेफिनलाई साम्राज्ञी बनाउन चाहन्थे । योजनाअनुरूप सन् १७९९ को नोभेम्बरमा फ्रान्स फर्के । फ्रान्सलाई सबै युद्धमा जिताएको कारण उनलाई सरकार प्रमुख बनाइयो । लक्जम्बर्ग दरबारमा बस्न थाले । सन् १८०४ को डिसेम्बर २ मा उनले आफूलाई फ्रान्सको सम्राट् घोषणा गरी राज्याभिषेकसमेत गरे । जोसेफिनलाई साम्राज्ञी घोषित गर्न पोपको स्वीकृत चाहिन्थ्यो तसर्थ फेरि चर्चमा बिहे गरे । यद्यपि, जोसेफिन क्याथोलिक बन्न तयार थिइनन् तर साम्राज्ञी बन्नलाई धर्म परिवर्तन गरिन् । बिहेलगत्तै साम्राज्ञी घोषित भइन् । यसपछि उनको विलासिताले झन् चरम रूप लियो । जुत्ता, मोजा र लुगाका निकै सोखिन थिइन् ।

गुलाफ मन पर्ने फूल थियो । ३५ हेक्टरमा फैलिएको निजी बगैंचामा ३ सय ५५ प्रकारका गुलाफको फूल रोप्न लगाइन् । नेपोलियनले जोसेफिनकी छोरी ओर्टन्साको बिहे आफ्नै भाइ लुईसँग गराइदिए र दुवैलाई हल्याण्डको राजारानी बनाइदिए । सम्राट् बनेपछि उत्तराधिकारीको प्रश्न उठ्यो । नेपोलियनले यसबारे पत्नीसँग पटक–पटक सवाल उठाए तर उल्टै ‘सम्राट् नपुंसक’ भनी हल्ला फिँजाउन लगाइन् । जबकि नेपोलियनले पनि उनीबाहेक अन्य थुप्रै महिलासँग शारीरिक सम्बन्ध राखेका हुन्थे । यद्यपि, जोसेफिन पनि सुरुदेखि नै बाँझी थिइनन् । एउटा छोरा र एउटी छोरी त पाएकै हुन् तर धेरै पुरुषसित शारीरिक सम्बन्ध राख्दाराख्दै बाँझी बनिसकेकी थिइन् ।

जोसेफिनको कुरो सुनेपछि नेपोलियन पनि आफू नपुंशक नै हुन् कि भन्ने सम्झेर हीन भावनाबाट ग्रस्त हुन थाले । तर, एउटा घटनाले उनमा आत्मविश्वास पलायो । एकदिन उनी सेन्ट क्लाउड दरबारमा थिए, शयनकक्षमा उनीसँग प्रेमिका म्याडम डुसातेल थिइन् । एकदिनपछि म्याडम ठूलो स्वर निकालेर हाँस्न थालिन् । नेपोलियनले हाँस्नुको कारण सोधे । उनको जवाफले नेपोलियनको जीवनमै परिवर्तन ल्याइदियो । म्याडमले भनिन्, ‘साम्राज्ञीको आरोप छ, तपाईं नपुंशक हो तर दाबी गरेर भन्न सक्छु, उनको भनाइ शतप्रतिशत गलत छ ।’ त्यसबखत नेपोलियन उनैसित रात बिताउँथे । एकदिन डुसातेलले जब आफू गर्भवती भएको खुसीको खबर सुनाइन्, नेपोलियन पनि आफू नपुंशक होइन रहेछु भनेर दंग परे । यसपछि पनि पोलिस, फ्रान्सिसी र अष्ट्रियाई पत्नी र प्रेमिकाको तर्फबाट बाबु बन्दै गए । आफू नपुंशक होइन भन्ने थाहा पाएपछि उनले अर्को बिहे गरी राज्यलाई उत्तराधिकारी दिने सोच बनाए ।

र, सन् १९०९ को नोभम्बर ३० मा जोसेफिनसँग सम्बन्धविच्छेद गरे । नेपोलियन दयालु थिए तसर्थ सम्बन्धविच्छेदपछि पनि साम्राज्ञीको पद यथावत रहन दिए । हीरापन्नाजडित सम्पूर्ण आभूषण लैजान दिए । भवन उनको नाउँमा गरिदिए । ३० लाख सुनको फ्रान्सिसी मुद्रा पनि उपहार दिए । मालमेसों नाउँ गरेको ठाउँसम्म जान बग्गीको व्यवस्था गरिदिए । पेरिसबाट ४० किमीको सो यात्राभरि जोसेफिन रोएर गइन् ।

नेपोलियनले एक वर्षपछि सन् १८११ मा अष्ट्रियाका राजकुमारी मेरी लुइससँग बिहे गरे । मेरीले अर्को वर्ष नै नेपोलियनलाई छोराको बाबु बनाइदिइन् । हुन त धेरैले मेरीलाई ‘भ्रुणसहित महारानी बनेकी’ भन्ने गर्छन् । किनकि मेरी पनि व्यभिचारी थिइन् । त्यसैले एकपटक उनले भने पनि ‘विश्वलाई आफ्नो अधीनमा राख्न सजिलो छ तर स्त्रीलाई गाह्रो रहेछ ।’

अत्यन्त पराक्रमी र लौहपुरुष नेपोलियन सन् १८१४ पुग्दानपुग्दै कमजोर बन्न पुगे । गद्दीबाट उतारेर उनलाई एल्बामा नजरबन्द राखियो । तर, ज्यान बचाएर भाग्दै पुनः फ्रान्स पसे । त्यहाँबाट मालमेसों पुगे, जहाँ जोसेफिनको निमोनियाबाट मृत्यु (सन् १८१९ को मे २९) भइसकेको थियो । युद्धमा पराजित बनेपछि रुसका जार (राजा) ले नेपोलियनलाई नजरबन्दमा राखेका थिए । जोसेफिनले यो खबर पाएपछि नेपोलियनको रिहाइका लागि जारसँग बिन्ती चढाइन् । जारलाई रिझाउन बगैंचामा घुम्दै गर्दा चिसो लागेर उनलाई निमोनिया भएको थियो । नेपोलियनलाई पछि सेन्ट हेलेना टापुमा निर्वासनमा पठाइयो । जहाँ ५५ वर्षको उमेरमा सन् १८२१ को मे ५ मा उनको निधन भयो । जोसेफिनले मर्नुअघि ‘नेपोलियन र एल्बा’ शब्द पुकारेकी थिइन् भने नेपोलियनले ‘सेना, सेनाध्यक्ष र जोसेफिन ।’

टिप्पणीहरू