तिमी जनता भन्छौ यहाँ नेताको छ चिन्ता « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

तिमी जनता भन्छौ यहाँ नेताको छ चिन्ता

प्रकाशित मिति :  १० मंसिर २०७३, शुक्रबार ०७:२०


  • यमुना अर्याल

हाम्रा नेताको वास्तविक हालत निकै कमजोर रहेछ भन्ने कुरा संसद् भवनमै देखियो । हाम्रो हालत के थाहा ? स्ट्यान्डर्ड चियासमेत खान पाइएको छैन भन्ने चिनकाजी माननीयले कस्तो चियालाई स्ट्यान्डर भनेका हुन् उनैले जानुन् । नास्ता, बिहानको खाना, दिउँसोको नास्ता, साँझको खानाका दुःख सुनाए उनले । अब भने पेटभरि खाने भए सांसदले । भन्न त जनता–जनता भन्छन् नि तर हामी जनतालाई यिनै नेताको पिरलो छ, खान पाउँछन् कि पाउँदैनन् ? बिरामी पर्दा उपचार गर्न पाउलान् कि नपाउलान् ? विदेश भ्रमणमा जान पाउलान् कि नपाउलान् ? जनता जनार्दन त्यसै खुशी छन् कहीँ जानु छैन, केही गर्नु पनि छैन ।

 टहरामा बसेकाहरू टहरामै रमाउँछन्, पाखा–पखेरामा बसेकालाई तलब–भत्ताको पिरलो छैन, जिन्दगी चलाएका छन् । कर्णालीका जनतालाई २० किलो चामल दिने भनिएकै छ योभन्दा अरू के गरोस् त ? धन्न गरेको छ भन्नुपर्छ । आफ्ना कार्यकर्तालाई रकम बाँडोस् कि नेताको उपचारमा खर्च गरोस् कि तलब–भत्ता बढाओस् कि कता–कता पु¥याओस् ? जनताले पीर मान्ने अवस्था छैन, नेताको पेट भरी र गोजी गहुँ्रगो भए हामी जनता खुशी छौँ ।

सोमबार सञ्चारमाध्यममा छाएको कुपोषणग्रस्त एक बालकको कारुणिक तस्बिरले नरुवाउने सायद कमै मन थिए होलान् । मंगलबार अखबारको बाहिरी पानामा बच्चाको उक्त तस्बिर देख्दा यस्तोसम्म पनि हुँदो रहेछ …..धिक्कार सरकार… भन्दै कतिले सरकारलाई दुत्कारे । यस्ता उदाहरण टोलछिमेकमा धेरै छन् तर जनताको विषय भएकाले सधैँभरि ओझेलमा पर्दै आएका छन् । बिन्ती छ ठुल्ठूला रोग ठूलै नेतालाई लागोस्, हामी सामान्य जनतालाई सकभर नलागोस्, स्वदेशका अस्पतालमा जाने हैसियत त नहुनेलाई विदेश गएर जचाउन सम्भव छैन, नेताजति सबैलाई जनतालाई लाग्ने रोग सल्कियोस्, जनता निरोगी होऊन् ताकि कालगतिले मर्न पाऊन् ।

 तरकारीवालीको अपार सफलतापछि ५० लाख वालीको चर्चा…, सरकार ! ५० लाख मात्र किन ५० करोड देऊ न हामीले विदेशमा रगत–पसिना बगाएकै छौँ…, सरकार सुजातालाई हस्पिटल बनाउन पुग्नेजति रकम देऊ, त्यति जाबो रकम के टीका लगाउन दे’को ? हाम्रो पसिनामा नेताको रजाइँ, के यो देश नेताको बाउको विर्ता हो जतिबेला चाहियो उतिबेला माग्दै खाँदै गर्न…!

आइतबार र सोमबार सामाजिक सञ्जालमा यस्तै–यस्तै निकै रोचक अनि घोचक शैलीका अभिव्यक्ति पोखिए, क्रम रोकिएको छैन । अझ ५० हजारको सारी किन्न सक्ने हैसियत हुनेलाई सरकारले ५० लाख दिएर अपमान गरेको ठहरसम्म गरे फेसबुकेले । सामाजिक सञ्जालमा पहिलेदेखि नै आलोचना हुँदै आएको भए पनि ५० लाखले बाजी मा¥यो । यो एक÷दुई जना पात्र र एउटा दुइटा ५० लाखवालाको सवाल होइन, सिंगो देशको मुद्दा हो ।

बूढापाका आफन्तले टीका लगाएर आशीर्वाद दिँदा पनि धेरै पढेस्, नाम कमाएस्, इज्जत राखेस् भन्न छाडिसके । अरू केही नभए पनि नेता भएस् भन्ने अवस्था आउन लाग्यो । अरू पेशा गर्नेको भविष्य सुरक्षित छैन । कतिवेला कहाँ के हुन्छ पत्तो छैन । पैसा टन्न हुनेले बिरामी र गारो–साह्रो पर्दा औषधोपचार गराउला, महँगा अस्पतालमा जाला वा केही न केही स्रोत जुटाएर आयु लम्ब्याउन सक्ला । तर आर्थिक रूपमा कमजोर भएका नागरिक कि मर कि रोग पालेर दुःखको जिन्दगी बिताऊ त्योभन्दा अर्थोक उपाय केही छैन ।

कि तीन करोड जनतालाई दलका नेता–कार्यकर्ताको सूचीमा सामेल गराऊ होइन भने नेता भएकै कारण लाखांै रकम रित्याउने काम बन्द गर । सामान्य नागरिकले यो देशमा बाँच्न नपाउने ? नेताबाहेकका जनताको जिउ–ज्यानको केही महत्व र अर्थ हुँदैन ? सुजाता कोइरालालाई ५० लाख तुरुन्त दिन सक्ने आँट रहेछ, आखिर सुनकलीले उपचार खर्च नपाएरै मर्नुप¥यो, यस्ता समाचारले सरकारमा बस्नेहरूको मन पोल्दैन ?

सामान्यतया सरकारले दिने सहुलियत, राहत वा सेवा भनेको आर्थिक रूपमा विपन्नलाई मात्र हो । आफूलाई समाजमा निकै खानदानी हैसियतको भन्न रुचाउने तर नेता वा नेताको मतियार भएकै कारण सरकारसँग मगन्ते शैलीमा उपचार खर्च माग्ने कस्तो बेसरम ? सरकारले कतिसम्म दिन मिल्ने हो वा होइन ? कुनै पार्टीको नेता हो भन्दैमा ज्वरो आउँदा, पेट दुख्दा, सामान्य रोग लाग्दा पनि सरकारी ढुकुटीको दोहन नै गर्नुपर्ने हो ? पहिले बिरामी परेका नेताको आर्थिक हैसियत सार्वजनिक होस्, त्यसमा चित बुझ्यो र उसको आर्थिक अवस्थाले नपुग्ने रहेछ भने नदिइनहुने अवस्थामा मात्रै सरकारी ढुकुटीबाट दिइयोस् । सबै नेतालाई उपचार खर्च बाँड्दैमा देशको ढुकुटी सिध्याउने हो भने नेताबाहेकका जनता सुकुम्बासी भएर बस्ने ? सरकार, पहिले बिरामी पर्ने नेतालाई सुकुम्बासीको दर्जामा राखियोस् अनि निजको केही आर्थिक हैसियत नभएकाले उपचार खर्चस्वरूप सरकारले यति लाख, यति करोड दिएको घोषणा गरियोस् ।

एउटा सामान्य कर्मचारीको बढुवा गर्नुप¥यो भने त उसका सारा विगतका प्रगति हेर्ने गरिन्छ तर नेताले गरेका प्रगतिको विवरण खै जनताले थाहा पाएको ? कति वर्षदेखि राजनीतिमा लागेको हो ? राजनीति उसका लागि कमाइखाने भाँडो मात्रै बन्यो कि साँच्चिकै समाज सेवाको माध्यम पनि बन्यो ? राजनीतिमा लागिसकेपछि उसमार्फत समाज वा देशमा के परिवर्तन भयो ? के सुधार भयो ? के प्रगति भयो ? खै यसबारे मूल्यांकन गरेको ? नेता भएँ भन्दैमा आजीवन सरकारी ढुकुटीमा रजाइँ गर्ने तर आफूले देशका लागि केही योगदान दिनु नपर्ने ? सरकारले उपचार खर्चको नाममा जति रकम विनियोजन गरेको छ, आजसम्म त्यसको एकमुष्ट हिसाब निकाल्ने हो भने त्यो रकमले देशको मुहार फेर्न कति सहयोगी भूमिका खेल्दो हो लेखाजोखा गरेको खै ?

ज्वरो आउँदा सिटामोल नेपालकै अस्पतालमा पाइन्छ, पखाला लाग्दा जीवनजल पनि यहीँकै अस्पतालमा पाइन्छ । विदेशका कतिपय अस्पतालले समेत वाहीवाही गरेका सेवा पनि यहाँका अस्पतालमा पाइन्छ । सरकारसँग बिरामी भएँ, मलाई उपचार खर्च देऊ भन्दै बिन्ती बिसाउने तर नेपालकै अस्पतालमा उपचार गर्न नसक्ने अनि आफूलाई किन नेपाली भन्ने ? किन यही सरकारको मान्छे हुँ भन्दै चिनिनुपर्ने ? होला कतिपय त्यस्ता जटिल रोगको प्रविधि हामीकहाँ उपलब्ध नभएको तर सबै सेवा–सुविधा हुँदै नभएको त पक्कै होइन होला । नेपालका स्वास्थ्य संस्थामा चेकजाँच गर्दा उपचार गर्न असम्भव भएको खण्डमा मात्र विदेश जाने परिपाटी बसाल्नु जरुरी छ ।

नेपालका स्वास्थ्य संस्थालाई जनता मात्र जाँच्ने तर नेताका लागि अयोग्य भनेर घोषणा गर्नुप¥यो, होइन भने आफ्ना स्वास्थ्य संस्थाको अपमान गर्नेगरी यहीँ उपलब्ध हुने सेवाका लागि सरकारको ढुकुटी रित्याएर विदेश जाने परम्परा अन्त्य गर्नुपर्छ । एउटा नागरिक विदेशमा मर्दा उसको लाश आउन चार÷ पाँच वर्ष लाग्छ तर नेताको उपचार गर्न एक निमेषमै निर्णय गरिन्छ र विदेश पठाइन्छ ।


प्रतिक्रिया दिनुहोस !