महाराजको यस्तो थियो मरण « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

महाराजको यस्तो थियो मरण

प्रकाशित मिति :  ३ मंसिर २०७३, शुक्रबार ०८:३४


  • राजेन्द्र स्थापित

पटियाला दक्षिणपूर्वी पञ्जाबस्थित राज्य हो । सिख जातिका सरदार बाबा आला सिंहले लुटपाट गरेर अथाह सम्पत्ति जम्मा पारेका थिए । सन् १७६३ मा उनैले यो राज्य निर्माण गरे । किल्ला निर्माण गरी राज्यको सुरक्षा गरे । राज्य विस्तार गरे । भूपिन्दर सिंह उनैका बंशज हुन् । सन् १९०० को नोभेम्बरमा उनका बाबु महाराज राजिन्दर सिंहको निधन भयो । अत्यधिक मदिरा पिउने गरेकै कारण २८ वर्षमै मृत्यु भएको थियो । त्यसबेला भूपिन्दर मात्र ९ वर्षका थिए । त्यसैले शासन राज्यसमितिले चलायो । सन् १९०९ को अक्टोबर १ मा १८ औं जन्मदिन धुमधामसित मनाए । एक महिनापछि बल्ल नोभेम्बर ३ मा तत्कालीन बेलायती भाइसराय गिल्बर्ट जोन इलियट मुरे कानिन्मण्डबाट अधिकारसम्पन्न महाराज घोषित भए ।

भूपिन्दर सिंह विद्वान र कुशल शासक थिए । कार्यकौशलमा निपूण, विद्वान र अनुभवीलाई मात्र मन्त्री र प्रशासकमा नियुक्त गर्थे । फ्रान्स, बेल्जियम, इटली र प्यालेस्टाइनको जनरल स्टाफको रुपमा काम गर,े । निजी विमानवाला पहिलो भारतीय बने, जुन बेलायतबाट किनेका थिए । क्रिकेटका सौखिन थिए त्यसैले राज्यभित्र क्रिकेट मैदान बनाउन लगाए । २० वटा त रोल्स रोयस गाडी मात्र थियो । सन् १९११ मा जब बेलायती महारानी मेरीले भारत भ्रमण गरिन्, आफ्नी रानी भक्तावर कौरको तर्फबाट महँगो हिराको हार उपहार दिन लगाए । सोही वर्ष रानीको जन्मदिनमा सुनको घडी उपहार दिए । तर, पाँच रानीमध्येकी भक्तावरलाई मात्र सुनको घडी उपहार दिएपछि अरु रानी रिसाए । पछि अरु चार जनालाई पनि घडी उपहार दिए । सन् १९२६ मा एउटा हिराको हार बनाउन लगाए, पटियाला नेकलेसको नाउँले विख्यात त्यसको मूल्य २ करोड ५० लाख डलर थियो । सन् १९२२ मा बेलायतका युवराज पिन्स अफ वेल्सले भारत भ्रमण गरे । त्यसबेला उनको आतिथ्यमा आयोजित रात्रिभोजमा १ हजार ४ सयवटा डिनर प्लेट सजाउन लगाए, सबै सुन र चाँदीका । पछि जर्मनीमा हिटलरको उदयपछि उनैको ‘मन पर्ने भारतका राजा’ बने । जर्मनीमा निकै लोकप्रिय मानिएको ‘मेबाख गाडी’ उपहार पाए ।

सल्लाहकारहरुले महाराज राजिन्दर सिंहजस्तो कुलतमा नफसुन् भन्ने हेतुले भूपिन्दरलाई विशेष रेखदेखमा राखे । अंग्रेजी, हिन्दी र पञ्जाबी भाषा सिकाउने छुट्टाछुट्टै अध्यापकको व्यवस्था गरे । तर, दरबारियाहरु उनलाई जसरी पनि कुलतमा फसाउन चाहन्थे । राम्री र कुमारी युवती खोजेर ल्याउँथे । यौनिक इशारा गराउन लगाएर महाराजलाई फसाउन कोशिश गर्थे । अन्त्यमा सफल भए । त्यसैले स्वर्गवासको समय दरबारको खोपी (जनानाघर) मा ३ सय ३२ महिला थिए । तीमध्ये १० जना महारानी, ५० जना रानी नै कहलिन्थे भने बाँकी प्रेमिका, पत्नी, सेविका । यिनीहरु सबै चौबिसै घण्टा महाराजको सेवाका निम्ति तम्तयार भएर बसेका हुन्थे ।

दिनमा होस् या राति, महाराज जोसँग चाहन्थे, यौनप्यास मेटाउँथे । यिनीहरु भारतको सुदूर प्रान्तबाट ल्याइएका हुन्थे । बालिग नहुञ्जेल दरबारमा खेलेर, रमाएर बस्थे, युवती भएपछि दासी बन्थे । खानपिन, उठबस सबै रनिवासको नियमानुसार गर्थे । शुरुमा चुरोट र मदिरा महाराजकोमा पेश गर्न लगाइन्थ्यो । महाराज मायाले अंगालो मार्थे, म्वाइँ खान्थे । मनपर्नेलाई महारानी, रानी बनाउँथे । तर, महारानी बनाउन ब्रिटिश सरकारबाट स्वीकृति लिनुपथ्र्यो । यस्ता महारानीबाट जन्मेका सन्तानले राजकुमार, राजकुमारीसरह सुविधा पाउँथे । महारानीको दर्जा पाएकालाई चिया सुनको कचौरामा र खाना सुनको थालीमा दिइन्थ्यो । सेवकहरु सयको हाराहारीमा हुन्थे । विभिन्न परिकारमा पुलाउ, मासु, माछा, खीर, हलुवा दिइन्थ्यो । रानीहरुलाई चाँदीको कचौरा र थालमा ख्वाइन्थ्यो, उनीहरुको सेवामा ५० जनाजति खटाइन्थ्यो भने बाँकी ‘सेविका’ का लागि पित्तल र काँसको भाँडाकुँडा प्रयोग गरिन्थ्यो । सेवकहरु बढीमा २० जना हुन्थे । महाराज भने हिरा–जवाहरात जडित सुनको भाँडामा भोजन गर्थे । भोजनको समय डेढ सयभन्दा कम प्लेट प्रयोग गरिन्थ्यो ।

महाराज, महारानी, राजकुमार, राजकुमारीको जन्मोत्सवजस्ता विशेष अवसरमा भव्य भोज आयोजना गरिन्थ्यो । २ सय ५० देखि ३ सय अतिथिका लागि एउटै टेबुलमा खाना ख्वाउने व्यवस्था मिलाइएको हुन्थ्यो । टेबुलको एकातिर महाराज, उनका पुत्रहरु, ज्वाईं, नातेदारहरु र विशेष पाहुना बस्थे भने अर्कोतिर महारानी, रानी र खोपीका अन्य महिला बस्थे । खाना इटालियन, अंग्रेज र भारतीय बेयराहरुले तयार पार्थे । प्लेट त यति हुन्थ्यो कि एकजनाको अगाडि १०–१२ वटा चाङ लाग्थ्यो । भोजनसँगै नाचगान चल्थ्यो । नर्तकीहरु युरोप र नेपालका समेत हुन्थे । नाचगानकै बीच महाराज आफूलाई मनपर्ने सुन्दरी च्यापेर शयनकक्षतर्फ लाग्थे । समारोह बिहानसम्मै चल्थ्यो । खोपीमा रहेका महिला महाराजको ध्यान आफूतर्फ आकर्षित गर्न अनेक चाल चल्थे ।

महाराज पनि सबैलाई माया र हेरचाह गर्थे । नियमानुसार चिकित्सक दैनिक त्यहाँ पुग्थे । त्यसबेला महिलाहरु कुनै न कुनै बहाना बनाउँथे । प्रायः कब्जियत भएको गुनासो गर्थे र दिसा खलास हुने औषधि माग्थे । दिनहुँ त्यस्तै बहाना बनाउँथे । र, महाराजलाई आफ्नो कोठामा बोलाउन चाहेको दिन जम्मा पारेका ती औषधिको चार–पाँच चक्की एकैपटक खाइदिन्थे । पखाला चलेपछि महाराजलाई बोलाउन लगाउँथे । महाराज पुगेपछि बिरामीको नाटक घण्टौंसम्म चल्थ्यो र त्यसैको बहानामा महाराजसँग रात बिताउँथे । महाराजसँग सुत्न आत्महत्याको धम्की दिन्थे, कतिपय छतबाट हामफालेर र झुण्डिएर मरे पनि । त्यसैले महाराज धम्कीबाट डराउँथे, तुरुन्त हाजिर भई सान्त्वना दिन्थे । यसको बाबजुद दरबारमा यस्ता पनि रानी र सेविका थिए, जसले जिन्दगीभर महाराजसँग एकपटक पनि सुत्न पाएनन् ।

महाराज सकेसम्म कसैलाई घृणा गर्दैनथे । सबैले उत्तिकै प्रेम पाउन् भन्ने चाहन्थे । खोपीका प्रायः सबै महिला पनि महाराजलाई औधी मन पराउँथे, प्रेम गर्थे । महाराजले विदेश भ्रमणको समय दर्जनौंलाई लिएर जान्थे । देशबाहिर सबै महिलाले समान इज्जत पाउँथे । रानी र सेविकाका लागि मोती बागको आसपास स–साना दरबार बनाउन दिइएको थियो, जहाँ ती महिला सलले अनुहार ढाकेर बस्थे । महाराजका विश्वस्त व्यक्ति वा मन्त्रीबाहेक अरुलाई त्यहाँ जान निषेध गरिएको हुन्थ्यो । कहिलेकाहीं विदेशी पाहुनालाई महाराजले लिएर जान्थे । रेशमबाट निर्मित पञ्जाबी लुगा र गहनाले ढाकिएका ती सेविकाले पाहुनालाई मदिरा र चुरोट पेश गर्न लगाउँथे ।

महाराज धेरैजसो एक्लै जान्थे । त्यस्तो बेला दर्जनौं सेविका उनको खुट्टा मिच्न पुग्थे । प्रिय सेविकाले काखमा बस्ने अवसर पाउँथे । गर्मीको मौसममा महाराज पौडी खेल्थे । पोखरीको चारैतर्फ नग्न छाती देखाएर सेविका बसेका हुन्थे । बेला–बेला महाराज पोखरीको किनारमा आएर नग्न स्तनमा खेल्थे । कुमारी युवतीलाई औधी मन पराउँथे । मदिरा खन्याउन लगाएर नग्न शरीर चाट्थे । उनले बिहेचाहिँ पाँचपटक मात्र गरे । जेठी महारानी भक्तावर कौर थिइन्, सरदार गुरनाम सिंहकी छोरी, जोसित १७ वर्षको उमेरमा सन् १९०८ मा बिहे गरेका हुन् । पाँच महारानीमध्येकी तेस्री विमला कौर सबैभन्दा प्रिय पत्नी थिइन् । प्रायः सबै राजकीय कार्यक्रम र विदेशयात्रामा समेत महाराजसँग उनै जान्थिन् । स्मरणीय छ, महाराज भूपिन्दर सिंहका जायज छोराछोरी मात्र ८८ जना थिए ।

भोगविलास, यौनलम्पट, छिमेकी राज्य र भाइसरायसँगको झैझगडाले गर्दा चाँडै बिरामी परे । रक्तचाप उच्च भयो । फ्रान्सबाट डाक्टरहरु प्रोफेसर अब्रामी र एन्ड्रे लिशवित्जलाई झिकाइयो । उनीहरुले मेरुदण्डमा इन्जेक्सन दिएर स्वास्थ्य नियन्त्रण गरे । तर, महिला र शारीरिक सम्बन्धबाट टाढा राख्न नसकेपछि स्वास्थ्यमा सुधार आएन । एकदिन अब्रामीले भनिहाले, ‘जीवनप्रति माया छ भने केही महिनाका लागि मदिरा र कामोत्तेजनाबाट टाढै बस्नुस् ।’ तर, कुनै असर परेन । मध्यरातमै महाराज डाक्टरलाई बोलाउन लगाउँथे । अब्रामी दरबार पुग्दा महाराज नशामा चूर भएर एकैपटक दर्जनांै महिलासँग रमाइलो गरिराखेका हुन्थे । अब्रामीले इन्जेक्सन दिन्थे, एकैछिनमा रक्तचाप घट्थ्यो तर महाराज तुरुन्तै पुनः कामवासनामा लीन हुन्थे । अब्रामी कायल भइसकेका थिए ।

कुरा नसुन्ने भएपछि स्वदेश फर्कन अनुमति मागे । महाराजले शुल्कको रुपमा एक लाख भारु. दिए । अब्रामी अन्तिमपटक सुई दिएर मुम्बई गए । त्यसपछि भारतीय चिकित्सकले स्वास्थ्य जाँच गर्न थाले तर रक्तचाप नियन्त्रण भएन । महाराजले दृष्टि गुमाए । देख्न छाडे पनि आफू दृष्टिविहीन भएको रानीहरुलाई संकेत दिन चाहेनन् । सधैंजसरी नै सेवक सरदार मेहर सिंहबाट दाह्री मिलाउन लगाउँथे । पगडी लगाएर ऐना हेरेजस्तो गर्थे, ताकि अरु नोकरचाकरले पनि महाराज अन्धो बनिसकेको थाहा नपाउन् । चश्मा लगाउँथे । रेशमको शेरवानी र काश्मिरीहरुले लगाउनेजस्तो सुरुवाल लगाउँथे । तयार भइसकेपछि सधैंजसरी रानी र सेविकालाई कोठामा बोलाउँथे । कुराकानी गर्थे । महाराजले दृष्टि गुमाइसकेको कुरा प्रधानमन्त्री र दुई–चारजना मन्त्रीलाई बाहेक थाहा थिएन । सुन्दरी रानी र सेविका महाराजको खुट्टा मिचिरहँदा सदाझैं महाराज ‘उनीहरुसँग प्रेम’ गरिरहेका हुन्थे ।

महाराजको स्वास्थ्य बिग्रँदै गएको खबर फैलिनेबित्तिकै भारतका अन्य राजा–महाराजा पटियाला पुगे तर दुई–चार जनाले मात्र भेट्न पाए । बाँकीलाई स्वास्थ्य सुधार भइसक्यो भन्दै फर्काइयो । तर, यथार्थमा स्वास्थ्य दिनानुदिन नाजुक बन्दै गइरहेको थियो । यस्तो बेलामा पनि महाराज भूपिन्दर सिंहले रानीहरुसँग शारीरिक सम्बन्ध राख्न छोडेनन् । अन्तिम दिनमा जोसँग रतिक्रिडा गरे, उनले नौ महिनापछि पुत्रलाई जन्म दिइन् । एकदिन चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दागर्दै महाराज बेहोस भए । होसमा ल्याउने प्रयत्न आठ घण्टासम्म चल्यो । महारानी भक्तावर कौरलगायत सबैले खुट्टा मिचिरहे । तर, भएन । सन् १९३८ मार्च २३ को दिन महाराजको निधन भयो ।
सबै महाराजसँग डराउँथे । तसर्थ, महाराज बेहोस भइसकेपछि पनि युवराज यादवेन्द्र सिंह राज–ढुकुटी र सीलखाना कब्जा गरी त्यहाँ मोहर लगाउन डराए । पहिला–पहिला महाराजको मृत्यु हुनेबित्तिकै गद्दीमाथि दाबी गर्दै आइरहेका प्रतिद्वन्द्वीले सर्वप्रथम ढुकुटी र सीलखाना कब्जा गर्थे । त्यसपछि बल्ल राजधानी र दरबारमाथि आक्रमण गरी आफूलाई महाराज घोषित गर्थे ।

महाराज भूपिन्दर सिंहका अर्का छोरा बृजेन्द्र सिंह पनि गद्दीमाथि दाबी गर्दै थिए । मर्नु तीन–चार दिनअघिदेखि महाराज उनलाई बढी नै स्नेह गर्दै थिए । बृजेन्द्र आफू यादवेन्द्रभन्दा पहिला जन्मेको मान्थे । मर्नुअघि महाराजले सेनालाई आदेश नै दिएका थिए कि जोन अर्थात् बृजेन्द्र सिंह भेट्न आएमा नरोक्नू । तर, यादवेन्द्र र प्रधानमन्त्री भने बृजेन्द्रलाई दरबार प्रवेशमा रोक लगाउन उद्यत थिए । जोन दुईपटक महाराजलाई भेट्न दरबार पुगे तर महाराज उनीसित भेट्न चाहँदैनन् भनेर ढोकाबाटै फर्काइदिए ।

अन्तिम दिन महाराजले जोनसँग भेट्ने इच्छा गरे । यादवेन्द्र र प्रधानमन्त्री महाराजले जोनलाई नै उत्तराधिकारी घोषित गरिदेलान् भनेर डराए । सबै मिलेर कुनै हालतमा बाउछोराबीच भेटघाट नहुने वातावरण मिलाए । त्यसैले बेहोस हुनुअगाडि महाराजले पटक–पटक ‘जोन, जोन’ भनेर बोलाइरहे । महाराजको निधन हुने पक्कापक्की भएपछि यावेन्द्रले ब्रिटिश अधिकृत फ्रेडरिख गान्टलेकको सहयोग लिएर ढुकुटी र सिलखानामा मोहर लगाइदिए । उनी दरबार फर्कंदा महाराज बेहोसै थिए । महाराजको होस खुल्यो भने ढुकुटी र सिलखानामा मोहर किन लगायौ ? भनेर सोध्छन् कि भन्ने डर युवराजलाई अन्तिमसम्म पनि भइरह्यो तर त्यसो भएन । महाराजको मृत्युको घोषणासँगै दरबारभित्रका महिलाले राजशी पोशाक र गहना फुकालेर फ्याँके । हिरा–मोतीको माला र हातमा लगाइराखेको बाला चुँडाले । अत्यन्त महँगो हिरा–मोती भुइँमा छताछुल्ल भयो तर कसैले टिपेनन् । बरु सबै डाँको छोडेर रुन थाले । महारानी–रानीलगायत सबै सेविका रातभरि रोइरहे ।

भोलिपल्ट सिख धर्म परम्पराअनुसार महाराजको मृत शरीर नुहाईधुवाई गरियो । वस्त्र लगाइयो । सबै राजचिह्न, तक्मा, पद्वी लगाइदिएपछि शीरमा श्रीपेच लगाइयो । रातो रंगको कोटको दायाँतर्फ बुहमूल्य हिरा ‘सैन्ससाउसी’ को टाँक लगाइयो, जुन  फ्रान्सिसी सम्राट नेपोलियन बोनापार्टकी साम्राज्ञी युजिनले एकपटक लगाएकी थिइन् । मृतशरीरको खुट्टामा सुनको जुत्ता लगाइदिएर जुँगा–दाह्री मिलाउन लगाइयो । अन्तिममा फेरि एकपटक सिंहासनमा बसाली जिउँदो महाराजलाई सरह सबैभन्दा पहिला युवराज, त्यसपछि महारानी–रानी, परिवारका सदस्य, प्रधानमन्त्री, मन्त्रीगण तथा अन्य गन्यमान्यले अगाडि बढेर प्रणाम गरे । यस्तो क्रम तीन घण्टा चल्यो । त्यसपछि बल्ल शवयात्रा शुरु गरियो । महाराजको अन्तिम दर्शन गर्न सडकको दायाँबायाँ एक लाख जनता उपस्थित थिए ।

उनीपछि यादवेन्द्र सिंह सन् १९३८ देखि १९७४ सम्म महाराज बने । उनका दुई रानी थिए– हेमप्रभा देवी र मोहिन्दर कौर । छोरा अमरिन्दर सिंह कंग्रेस पार्टीका राजनीतिज्ञ बने । सन् २००२ देखि २००७ सम्म पञ्जाबको मुख्यमन्त्री भए । अमरिन्दरकी छोरी मनमोहन सिंहको सरकारमा विदेशमन्त्री बनेका नटवर सिंहकी पत्नी हुन् ।


प्रतिक्रिया दिनुहोस !