भिआइपी युवती बैँकिङ्ग ठगीमा पक्राउ

भिआइपी युवती बैँकिङ्ग ठगीमा पक्राउ

ठूलाबडासँगको संगतमा भएका प्रभावशाली महिलाले के गर्छन् ? अनि धनसम्पत्ति कुस्त कमाएका पुरुषले कुन हदसम्म मस्तिको उचाई नाप्छन् भन्ने नयाँ कहानीका पात्रहरु अहिले काठमाडौंमा देखिएका छन् ।

नुवाकोटमा जन्मेर हुुर्केका अमित श्रेष्ठ र झापामा जन्मेर बढेकी कञ्चन खत्रीको सम्बन्ध कुनैबेला औधी थियो । त्यहि सम्बन्धको मुना बैंककमा जन्मियो । करोडौं तिर्दा पनि हत्तु भएपछि श्रेष्ठ औपचारिक श्रीमती च्यापेर केही समयअघि क्यानाडा भास्सिए । तर,समस्या फेरि बल्झिएको छ । अब पालो खत्रीको अधोगतिको भन्न थालिएको छ ।

“फ्याट्ट ‘मि टु’ मा पोलिन् भने मुलुकको राजनीति,प्रशासन, सुरक्षा र कानुनी क्षेत्रमै ठूलो हलचल आउने पक्का भएको बताइन्छ ।”

कुनैबेला अमित एकजना साथीको अनुरोधमा खाजा खाने निहुँमा कुपण्डोलस्थित उनको अपार्टमेण्टमा पुगे । तर, टर्निङ प्वाइण्ट त्यहि बन्यो जहाँ खाजा खान जाँदा बहिनीतिर आँखा लाग्यो । त्यसपछि दिन दुईगुणा, रात चौगुणाको दरले सम्बन्ध झाँगियो । अमितले नचाहँदा नचाहँदै कञ्चनले उनको प्रमाणलाई आफ्नो गर्भभित्र हुर्काइदिइन् । पछि लफडा हुने डरले अमितले बैंककमा लगेर सुत्केरी गराएको बताइन्छ ।

बर्मा गए पनि कर्मसँगै भनेझैँ बैंकक लगेर सुत्केरी गराएपनि बच्चाको बाउको नाम भने अमित नै लेखियो । त्यहिअनुसार कागजात बन्यो । काठमाडौं फर्केपछि हिसावकिताव हुन थाल्यो । पटक पटक गरेर अमितले ६ करोडभन्दा बढी बुझाए तर, कञ्चनको डिमाण्ड झन् बढ्न थालेपछि उनी बाध्य भएर सपरिवार क्यानाडा हान्निएका थिए ।

यता,शहरमा निकै राम्रो सम्बन्ध बनाएकी खत्री पनि पावर सेन्टरलाई आफ्नो मुठ्ठीमा राख्न सफल हुँदै गइन् । प्रहरी प्रशासनका उच्च अधिकारीदेखि न्यायालयका ठूलाबडालाई नभइ नहुने अवस्था बनाउँदै गइन् । पानीपोखरीस्थित पुरानो अमेरिकी दूतावास परिसरभित्रको आलिशान बंगलोमा को को भूजा ज्यूनार गर्न जान्थे,कसले २१ पत्ति म्यारिज खेल्थे भन्ने विवरणले पनि खत्रीको रवाफ झल्कन्थ्यो । उनलाई कतिपय संवैधानिक अंगका प्रमुखको रुचीबारे समेत राम्रै जानकारी हुन थाल्यो । त्यसैले उनलाई कसैले छुन नसक्ने ठाउँमा पुर्याइदिएको बताइन्छ ।

अहिले उनै खत्रीलाई प्रहरीले हतकडी लगाएर हनुमान ढोका चलान गरेको छ । अमितको भाइ सुवासको एटीएम कार्डको अनधिकृत प्रयोग गरेको आरोपमा अहिले उनी फसेकी हुन् । अर्काको कार्डबाट खत्रीले पटक पटक सपिङ गरेको विवरणबाट देखिन्छ । कार्डवालाले प्रहरीसमक्ष गाडीबाट खत्रीले कार्ड चोरेर हज्जारौंको सपिंग गरेको उजुर गरेको छ ।

पहिलेको रिस फेर्न उनै अमित अहिले क्यानाडाबाट नेपाल आएको मौकामा पहिलेकी लिभिंग टुगेदर तथा पछि छोराकी आमालाई पक्राउ गराइदिए । काठमाडौं प्रहरी टोलीले ठगीको उजुरीमा खत्रीलाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय,काठमाण्डौको मुद्दा शाखाका डिएसपी नरेन्द्र चन्दका अनुसार केही दिनदेखि प्रहरी हिरासतमा रहेकी उनलाई हिजो जिल्ला अदालतबाट म्याद थपेर ल्याइएको छ ।

खत्री र अमितको भेटको पर्दा पछाडिको खेलाडी भने अमितका साथी प्रवीण शाक्य हुन् । ठूलाबडासँग सम्बन्ध बनाएको थाहा पाएपछि शाक्यले अमितसँग कुस्त सम्पत्ति कुम्ल्याउन खत्रीलाई सहयोग पुर्याएको बताइन्छ । कञ्चनसँग सम्बन्ध कायम गर्नेताका अमित र प्रवीण व्यावसायिक पार्टनर थिए ।

जग्गाको कारोबार करोडमा होइन उनीहरु अर्बमा गर्थे भनिन्छ । पछि आफ्नै साथीलाई आर्थिक रुपले टट्टु टाट पार्न शाक्यले खत्रीलाई उचालेको अमितपक्षको आरोप छ । उनीहरुबीच जग्गाको कारोबारमा खटपट भएपछि प्रवीणले झापाली केटीलाई उचालिदिएको र उसले श्रेष्ठलाई सेक्नुसम्म सेकेपछि त्यसैको रिस फेर्दा अहिले खोरमा पुगेकी हुन् ।

सर्वत्र ठूलाबडासँग उठबस भएपनि अहिले कञ्चनको पक्षमा कसैले मुख खोल्न सकेका छैनन् । हिजो तिम्रो पछाडि म छु भनेर मस्किने प्रहरी प्रशासनका ठूलाबडादेखि अदालतका श्रीमानहरु खत्रीको प्रहरी हिरासतपछि बेचैन बनेका छन् । फ्याट्ट ‘मि टु’ मा पोलिन् भने मुलुकको राजनीति,प्रशासन, सुरक्षा र कानुनी क्षेत्रमै ठूलो हलचल आउने पक्का भएको बताइन्छ ।

गएको डिसेम्बरको अन्तिम दिन बुटवलबाट भैरहवातर्फ जाँदा उनै शाक्य सवारी दुर्घटनामा परे । प्रहरीका एकजना ठूला हाकिमले नै दौडाएर उनको तत्काल उपचार गराइदिएका थिए ।

टिप्पणीहरू