धन हुनेलाई ज्यान मार्न छुट

धन हुनेलाई ज्यान मार्न छुट

लकडाउनको कारण अदालत पूरै खुलिनसकेता पनि मौकामा चौका हान्दै एक धनाढ्यले कर्तव्यज्यान मुध्दामा सफाइ पाएर हिजो बिहिवार दिउँसो डिल्लीबजार कारागारबाट मुक्त भएका छन् !

२१ वर्षका पृथ्वीबहादुर मल्लले हाँकेको बा.१४ च ६१२३ नम्बरको कारले किचेर गत मंसिर २८ गते बिहान झिसमिसेमा बुढानीलकण्ठ नजिकै ३८ वर्षकी लीला देवकोटाको निधन भएको थियो । देवकोटा मन्दिर दर्शन गरेर घर फर्कंदै थिइन् ।

परिवार, प्रहरी र सरकारी वकिललाई ५४ लाख दिएर उक्त प्रकरण उतिबेलै राफसाफ पार्न लागिएको चर्चा थियो ! छ महिनाअघि प्रहरीले दायर गरेको सवारी ज्यानसम्बन्धी यही मुद्दामा हिजो सर्वोच्च अदालतले मल्ललाई सफाई दिएको छ । प्रहरीले घटनास्थलको प्रकृति र सिसीटीभी फुटेजको आधारमा कारले ठक्कर दिएपछि ढलेकी महिलालाई गाडी ब्याक गरेर मारेको अभियोगअन्तर्गत मल्लमाथि ज्यान मुद्दा दावी गरे पनि अदालतले सारा तथ्य प्रमाणप्रति आँखा चिम्लिएको हो ।

मल्ल अमेरिकाबाट बिदामा नेपाल आएको केही दिनमै भएको उक्त घटनाको बखत कारभित्र उनका साथी २० वर्षका करिश मास्के र अन्य दुईजना केटी पनि थिए । प्रहरीको मुचुल्कामा चालकले मादकपदार्थ सेवन गरेको पाइएको थियो । अघिल्लो रात शिवपुरीस्थित एउटा रिसोर्टमा ‘नाइट हल्ट’ गरेर बिहानीपख फर्कने क्रममा उक्त घटना भएको हो ।

कारमा रहेका दुईजना युवतीमध्ये एउटी मोडल परमिता राज्यलक्ष्मी राणा थिइन् । जसले घटनाको झण्डै एक महिनापछि वास्तविकता उदाङ्गो पार्दै लामो स्टाटस लेखिन् । जसमा उनले कारमा रहेका चारजनाको कारण एउटी निर्दोष महिलाको ज्यान गएकोमा आफू दुःखित भएको बताएकी थिइन् ।

टिप्पणीहरू