मध्य जाडोमा चितवन महोत्सव

मध्य जाडोमा चितवन महोत्सव

चितवन महोत्सव २०७९ का लागि स्टल बुकिङ खुला गरिएको छ । हिजो पहिलो दिनमै एकसय ५० वटा स्टल बुकिङ भएको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए । 

उद्योग वाणिज्य संघ चितवनले २०५३ देखि हरेक दुई–दुई वर्षमा आयोजना गर्दै आएको चितवन महोत्सवको आउँदो १४ औं संस्करण पनि सदाझैं पुष २५ गतेदेखि माघ ४ गतेसम्म नै गरिँदैछ । त्यसका लागि यही मंसिर २९ गतेसम्म स्टल बुकिङ खुला गरिएको हो । 

चितवन महोत्सव २०७९ मा कम्तीमा ५०० वटा स्टल रहने र त्यसमा मेड इन नेपाल र मेड इन चितवनलाई नै विशेष प्राथमिकता दिइने संघले बताएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुतिको लागि महोत्सव हुँदै आएको हो ।

यसअघि कोरोना महामारीका कारण महोत्सव बीचमै रोकिएको थियो । यस पटक धुमधामसित भव्य रुपमा चितवन महोत्सव आयोजना गर्ने तयारी गरिएको बताइन्छ । महोत्सवमा भरपुर मनोरञ्जन हुने आयोजकले जानकारी गराएको छ । 

उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक नील केसीका अनुसार विगतमा झैँ यस पटक पनि चितवनमा आर्थिक विकासको सम्भावना रहेका क्षेत्रहरु कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई नै केन्द्रित गरेर कार्यक्रम सञ्चालन गरिनेछ । 

टिप्पणीहरू