सेनाभित्रका थप समाचार

सेनाभित्रका थप समाचार

नेपाली सेनासँग यतिबेला दुई खुशी साथ छन् । एउटा हो, अमेरिकाको ‘सरप्राइज’ र अर्को थप शान्तिसेना ! भाेलि अमेरिका जान लागेका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकी सरकारको ‘विशेष’ सहयोगका साथ स्वदेश उत्रिने भएका छन् । साथै, विश्वका विभिन्न भागमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाका टुकडीलाई हौसला दिनका लागि यही भ्रमणका दौरान उनी लेबनान र सिरिया पनि जाँदैछन् ।

उनले ती मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थासहितको निरीक्षण गरेपछि ती ठाउँका उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम तय भएको सैनिक मुख्यालयले जनाएको छ । स्रोतका अनुसार, नेपाली सेनाले विभिन्न द्वन्द्वग्रस्त मुलुकमा थप दुई बटालियन फौज पठाउने तयारी छ ।

यी सुखद् खबरसँगै सेनाका लागि सामान खरिदका नाममा बिचौलियाहरु सल्बलाउने क्रम बढेको छ । विदेशी मिशनका लागि आवश्यक बख्तरबन्द गाडी (एपिसी) खरिद प्रक्रियालाई शान्तिसेना सञ्चालन निर्देशनालयले अगाडि बढाएको छ । विदेशमा किनेर विदेशमै प्रयोगमा आउने, अर्थात् पैसा नेपालको, कारोबार बाहिरबाहिरै हुने यो मामिलासँग एक अर्ब ९९ करोड रकमको सम्बन्ध छ ।

त्यसमा तर मार्नका लागि सेनाका हाकिमदेखि बिचौलियासम्मको दौडधुप चलिरहेको छ । स्रोतका अनुसार, बाहिर देखिँदा डाइनेस्टी इण्टरनेशनलका रोशन श्रेष्ठहरु यो धन्दामा सरिक छन् ।

उता, तराई–काठमाडौं द्रूतमार्ग (फास्टट्रयाक) हेर्ने जर्नेल विकास पोखरेल र जनसम्पर्कका नारायण सिलवालको कार्यशैलीसँग प्रधानसेनापति शर्मा समेत रुष्ट छन् । सैनिक जनसम्पर्क निर्देशनालयले प्रभावकारी काम गर्न नसकेपछि जर्नेल नारायण सिलवालको विकल्प खोजिँदैछ । फास्टट्रयाकमा भने गैरप्राविधिक इन्दिवर गुरुङलाई ल्याएर भए पनि कामलाई बाधामुक्त ढंगले अगाडि बढाउनुपर्ने मनशाय रहेको निकटस्थस्रोतले जनाएको छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा फास्टट्रयाक, हवाई र हतियार खरिदका खेलाडी मानिने जर्नेलहरु प्रेम शाही, अनन्त कार्की, माधव थापा र रघु भण्डारीहरु प्रभुराम आउनासाथ कोही दायाँबायाँ त कोही दयाको पात्र बनेका छन् । उक्त गिरोहले लोकेन्द्र कार्कीसहितका बिचौलियासँग मिलेर कमसल कोरियन हतियार केटुमा ब्रम्हलूट मच्चाएको थियो ।

अहिले अमेरिकी पक्षले नेपाली सेनालाई सोधेको छ– कामै नलाग्ने ती कोरियन हतियार कति ल्याउनुभयो ? सेनाका अधिकृतहरुले ३२ हजार थान खरिद गरिएको बताएपछि अमेरिकी सेना अधिकृतले टाउकोमा हात राख्दै विरक्त मानेका छन् । र पुनः अमेरिकी हतियार एम सिक्स्टिन ल्याउने प्रक्रिया अघि बढेको छ ।

टिप्पणीहरू