उत्तरले फेरि मिलाउनै खोजेको हो त नेपालका कम्युनिस्टलाई ?

उत्तरले फेरि मिलाउनै खोजेको हो त नेपालका कम्युनिस्टलाई ?

नेपालमा वामपन्थी एकताको गाईंगुइँ हल्ला चल्दै गर्दा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौँ ओर्लिए । प्रमुख दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई मिलाउन विगतमा चीनको सदाशयता रहेको भनिएका बेला वाङको काठमाडौँ आगमनलाई धेरैले त्यहि नजरले हेरे ।

संयोग कस्तो भने वाङ काठमाडौँ उत्रनु केही दिनअघि एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एउटा टोली चीन उडेको थियो । त्यो टोली फर्केकै दिन माओवादी नेता देव गुरुङ,वर्षमान पुन र पूर्वसभामुखसमेत रहेकी माओवादी नेतृ ओनसारी घर्ति पनि चीनतिर लागे । यसअघि वाम गठबन्धन हुँदै एमाले र माओवादीबीच पार्टी एकतासम्मको प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विश्वासपात्र मानिएका र चीननिकट भनेर चिनिएका गुरुङ र पुनको उत्तरतर्फको भ्रमणले सुषुप्त रहेको वाम गठबन्धनको चर्चालाई सतहमा ल्याइदियो ।

हुन त,औपचारिक रुपमा एमाले र माओवादी दुबैतिरबाट अहिलेसम्म नेताहरुको चीन भ्रमणबारे प्रष्ट पारिएको छैन । माओवादी नेता गुरुङले आफू एउटा कार्यक्रममा भाग लिन चीन गएको बताउनुभएको छ । नेपाल फर्केलगत्तै उहाँले वामपन्थी एकताका लागि चिनियाँ समर्थन रहेको आशयको अभिव्यक्ति पनि दिनुभयो । चीनमा लामो उपचार गराएर आउनुभएका नेता पुनले भने फलोअपका लागि गएको मात्रै भन्नुभएको छ । पौडेल नेतृत्वको एमाले टोलीले पनि कार्यक्रममा सहभागिता जनाउन गएको र त्यस क्रममा कुनै पनि राजनीतिक भेटघाट नभएको भनेको छ ।

“चिनियाँ नेताले दुवै टोलीलाई अर्को पक्ष मिल्नका लागि तयार देखिएकाले ‘तपाईंहरु पनि मिल्नुस्’ भनेका थिए ।”

तर,एमाले र माओवादी दुवै टोलीले पालैपालो उच्च चिनियाँ अधिकारीसँग भेटघाट गरेको र नेपालमा वामपन्थी एकताका बारेमा प्रष्ट चासो देखाएको भ्रमणमा गएका एक नेताले खुलासा गरेका छन् । कुन तहका चिनियाँ नेतासंग भेटघाट भएको भन्ने नखुलाए पनि पौडेल, गुरुङ र पुनले एउटै व्यक्तिलाई भेटेको भने ती नेताले सुनाए । उनका अनुसार भेटघाटका क्रममा चिनियाँ पक्षले ‘वामपन्थीहरु मिलेर जान’ सुझाव दिएको थियो ।

बताइएअनुसार चिनियाँ नेताले दुवै टोलीलाई अर्को पक्ष मिल्नका लागि तयार देखिएकाले ‘तपाईंहरु पनि मिल्नुस्’ भनेका थिए । दुवै टोलीले ‘हामी तयार छौँ’ भन्दै सकारात्मक जवाफ दिएर चीनलाई आश्वस्त पारेको पनि बताइएको छ ।

वाम एकताका लागि चिनियाँ सुझावको संकेत केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत गर्नुभएको थियो । सत्ता गठबन्धनको बैठकमा उहाँले ‘मलाई दबाब छ’ भन्नुलाई चिनियाँ चासोसँग जोडेर हेरिएको छ । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुकै सामुन्ने चुनावी तालमेलबारे कांग्रेसको नीतिप्रति असहमति जनाउँदै आफूलाई एमालेसँग मिल्न दबाब बढेको बताएको चर्चा थियो ।

प्रचण्डले आफ्नो पार्टीको दोस्रो तहका नेताहरु एमालेसँग संवादमा रहेको र आफूमाथि दबाब बढेको भने पनि संकेत चीनतिर दिएको र गृहमन्त्री बालकृष्ण खाँणले समेत पार्टी बैठकमा नेपालका कम्युनिस्टलाई बाह्य शक्तिले मिलाउन खोजेको भरपर्दो रिपोर्ट आफूसङ्ग रहेको बताउनुभएको थियो ।

टिप्पणीहरू