होश गरौं,बालबालिकालाई आफन्तबाट जोगाऊँ

होश गरौं,बालबालिकालाई आफन्तबाट जोगाऊँ

केही वर्ष पहिलेसम्म विदेशमा मात्र बालबालिका यौन दुराचारमा परेका खबर आउँथे । पछिल्ला वर्षहरुमा भने यस्ता घटना नेपालमै दिनहुँजसो सुन्न पाइन्छ । हरेक दिन बालिकाहरु यौन दुराचारको शिकार भएका घट्ना आइरहेका छन् । यस्ता घटनाबाट बालकहरु पनि अछुत छैनन् ।

बालबालिकाविरुध्द हुने शारीरिक दुर्व्यवहार,यौन दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार, हेपाईलगायतबारे जानकार नहुँदा यसको शिकार हुनेहरुको संख्या दैनिकरुपमा बढिरहेको छ । विदेशतिर सानैदेखि बालबालिकालाई यौनका बिषयमा शिक्षा दिने गरिन्छ । त्यहाँ विद्यालयमा पनि यसबारे अध्ययन गराइन्छ । तर,नेपालमा भने न घर न विद्यालय यसबारे सामान्य ज्ञानसमेत दिइएको हुँदैन । जसका कारण बालबालिकालाई कसैले आफूमाथि दुराचार गरिरहेको छ भन्ने महसुससम्म हुन पाउन्न ।

बालबालिका बाहिर मात्र नभई घरभित्र पनि उत्तिकै असुरक्षित हुने गरेका छन् । आफन्तदेखि चिने जानेकाबाटै उनीहरु पीडित हुनुपरेका घटना धेरै छ । विद्यालयका शिक्षकबाट पनि बालबालिका सुरक्षित छैनन् । पढाइका क्रममा शिक्षकबाट हुने दुर्व्यवहारवारे बालिकाहरु बोल्न थालेपछि यस्ता कुरा बाहिर आउन थालेको छ । गत पुस महिनामा रामेछापमा आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्ने उद्देश्यले यौन दुराचार गरेको आरोपमा सप्तरीको बलनबेहाल गाउँपालिका वडा नम्बर–२ चण्डी घर भएका ३८ वर्षीय शिक्षक दिनेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गर्यो ।

त्यस्तै, गत माघ ३ मा १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल समातिए । ९ भदौयता पटक–पटक बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले पोखरेललाई पक्राउ गरेको थियो । स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको छ ।

यी त बाहिर आएका घटना हुन् । इज्जत जाने डरले अभिभावकहरु बोल्न डराउने अनि बालबालिकाहरु गलत र सहि छुट्याउन नसक्ने हुँदा यस्ता धेरै घट्ना भित्रभित्रै दबाइने गरिएका उदाहरण पनि धेरै छन् । प्रहरीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६/७७ यताका संकलित तथ्यांक हेर्ने हो भने बाल यौन दुराचारका घटनामा उल्लेख्य बृध्दि भएको पाइन्छ । आर्थिक वर्ष २०७६/७७ मा २ सय ४६ बालबालिका यौन दुराचारको शिकार बनेका थिए । जसमा ८८ जना १० वर्ष मुनिका र ११ देखि १६ वर्षसम्मका १ सय ४१ बालबालिका थिए ।

“एकदेखि पाँच कक्षा पढ्ने बालबालिकामा यौन दुराचार बढि भएको देखिन्छ । साढे दुई वर्षमा एक देखि पाँच कक्षा पढ्ने ४ सय ४९ जना बालबालिकामा यौन दुराचारको शिकार बनेका छन् । जसमा २८ जना शिक्षक संलग्न थिए ।”

यो संख्या आर्थिक वर्ष २०७७/७८ मा बढेर ३ सय ४ पुग्यो । जसमा १ सय ६ जना १० बर्षमुनिका बालबालिका र ११ देखि १६ बर्ष सम्मका १ सय ८० बालबालिका रहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ६ महिनामै १ सय २१ बालबालिका यौन दुराचारको शिकार भएको प्रहरी तथ्यांकले देखाएको छ । १० वर्ष मुनिका ४५ बालबालिका यौन दुराचारको शिकार बन्दा ११ देखि १६ वर्ष सम्मका ६५ जना बालिका पीडित भएका छन् ।

यही अवधिमा सातजना बालकसमेत यौन दुराचारको शिकार बनेको प्रहरी तथ्यांकमा देखिएको छ । यस्तै साढे दुई वर्षको तथ्यांक केलाउँदा एकदेखि पाँच कक्षा पढ्ने बालबालिकामा यौन दुराचार बढि भएको देखिन्छ । साढे दुई वर्षमा एक देखि पाँच कक्षा पढ्ने ४ सय ४९ जना बालबालिकामा यौन दुराचारको शिकार बनेका छन् । जसमा २८ जना शिक्षक संलग्न छन् ।

तथ्यांकअनुसार बालबालिकामाथि यौन दुराचार धेरै आफन्त वा छिमेकीबाट भएको छ भने अधिकांश पीडक विवाहित पुरुष रहेका छन् । २०७६/७७ मा ७५ पीडक छिमेकी, २०७७/७८ मा १ सय २० पीडक छिमेकी र ८९ जना चिनेजानेका अनि २०७८/७९ को अहिलेसम्ममा ३८ जना पीडक छिमेकी रहँदा ५३ जना चिनेजानेका छन् । यो तथ्यांकले नेपाली समाजको डरलाग्दो अवस्था प्रतिविम्वित गरेको छ ।

यता,राष्ट्रिय बाल अधिकार परिषदले भने केहि वर्षयता बालबालिकाका लागि सचेतनामूलक कार्यक्रम गर्न नसकेको जनाएको छ । बजेट अभाव र सरकारले पर्याप्त ध्यान नदिएका कारण कार्यक्रमहरु पहिला जसरी गर्न नसकेको परिषदको भनाइ छ । परिषदले वर्षमा केही दिन मात्र कार्यक्रमहरु गर्न सकेको बताएको छ । “केहि बर्ष यता पहिले जसरी कार्यक्रमहरु गर्न नसकिएको भएपनि १५–२० दिन एफएम, रेडियोमार्फत कार्यक्रमहरु गरिएको छ। तर, त्यो पर्याप्त छैन’, परिषदले भनेको छ ।

नेपालमा बालबालिकामा यौन दुराचार नरोकिनुका धेरै कारण छन् । इज्जत जाने डरबाहेक समाजमा रहेको ‘अतिथि देवो भव:’को मान्यताले पनि यस्ता घटना बढाउन अप्रत्यक्षरुपमा प्रेरित गरिरहेको बताइन्छ । घर आएका पाहुनालाई आमा बाबुले विश्वास गरेर बालबालिका उनीहरुसँग छोड्ने गर्दछन् । बालबालिकाले अप्ठ्यारो मानेको अवस्थामा पनि उनीहरुको कुरा सुन्नेभन्दा सत्कार सिकाउने गरिन्छ । त्यस्तै विद्यालयमा शिक्षकलाई पनि अभिभावकहरुले त्यसैगरी विश्वास गरेका हुन्छन् । बच्चाहरुको भावना बुझ्नेभन्दा ठूलाका कुरामात्र सुन्ने नेपाली समाजको संस्कारले पनि यौनदुचारजन्य घटनामा बृध्दि भैरहेको सरोकारवालाहरुको भनाइ छ ।

टिप्पणीहरू