सडकमा खडा,ड्युटी कडा,किन वास्ता गर्दैनन् ठूला बडा !

सडकमा खडा,ड्युटी कडा,किन वास्ता गर्दैनन् ठूला बडा !

ट्राफिक प्रहरी सबैजसो समय सडकमा खटिरहने जनशक्ति हो । उनीहरु दिनरात,भोक प्यास नभनी सडकमा उभिरहेका हुन्छन् । सुरक्षा निकायका अन्यले झैँ ट्राफिक प्रहरीले पनि कोरोना महामारीमा समेत आफ्नो स्वास्थ्यको पर्वाह नगरी सेवा दिँदै आएको देखिएको छ ।

तर अन्य प्रहरीको तुलनामा ट्राफिक प्रहरीलाई स्वास्थ्यको दृष्टिकोणले थप जटिल समस्या हुने गर्दछ । अन्यत्र झैँ काठमाडौको व्यस्त सडक र धुलोमा सँधै उभिएर आफ्नो पेशामा लागिपरेका हुन्छन् । उनीहरुलाई समयमा खानसमेत फुर्सद हुँदैन भनिन्छ ।

ट्राफिक प्रहरी काठमाडौंको धुलो र धुँवामा १४ घण्टे काममा व्यस्त भएको पाइन्छ । धुलो र धुवाँमा मास्क लगाएर काम गरे पनि उनीहरु त्यसबाट बच्न सकिरहेका भने छैनन् । कामको प्रकृति फरक भए पनि ट्राफिक प्रहरी र अन्य प्रहरीलाई एउटै तरिकाको व्यवस्थापन गरिएको पाइन्छ ।

ट्राफिक प्रहरीका अनुसार उनीहरुलाई सरकारले रासनबाहेक अतिरिक्त भत्ता वा सुविधाको व्यवस्था गरेको छैन । उनीहरुको स्वास्थ्यलाई लिएर थप व्यवस्था पनि गरिएको छैन । यस्तै राजधानी काठमाडौंमा समेत ट्राफिक प्रहरीका लागि भनेर धेरै ठाउँमा छुट्टै भवनहरु बनाइएको छैन । भवनको अभावमा उनीहरु थकाइ मेट्न नपाएको गुनासो गर्छन् ।

‘पाँच वर्ष यता भत्ता बढाइएको छैन, त्यसैले परिवार पाल्न पनि धौ धौ पर्यो ।’

हाल सातदोबाटो,कलंकी,कोटेश्वर, दरबारमार्गलगायत केही स्थानमा मात्र छुट्टै भवन छन् । त्यहाँबाहेक अन्यत्र कार्यरतले सामान्य विश्रामको लागि नजिकैका सरकारी वा निजी भवन वा स्थानमा जानुपर्ने बाध्यता छ । उनीहरुको कार्य प्रकृतिअनुसार कार्यक्षत्रमा खटिँदा लामो समयसम्म उभिनु पर्ने हुन्छ ।

राजधानीको सँधैको ट्राफिक जाम, गर्मीको धुलो र धुँवा अनि जाडोयामको ठिहिरोमा समेत खुल्ला आकाशमुनि उभिएर काम गर्नु पर्ने बाध्यता छ । गर्मीयाममा घाममा उभिँदा हुने गाह्रो अर्कै पीडा रहेको उनीहरुको अनुभव छ । वर्षातको समयमा भोग्ने समस्या उस्तै । यस्तो अवस्थालाई ध्यानमा राखेर सरकारले थप सुविधाको व्यवस्था गर्नुपर्ने माग कोबाट सुनुवाइ हुने ?

यसरी खटिने ट्राफिक प्रहरीहरुमा धुलो र धुवाँका कारण फोक्सोदेखि लिएर अन्य धेरै समस्या पाइएको छ । त्यसो त ट्राफिक प्रहरी प्रवक्ता सन्जिव शर्मा दासले अहिले कार्यरत १ हजार ६ सय २० जना प्रहरीको हरेक महिना पूरै शरीर जाँच हुने गरेको बताउनुभएको छ ।

तर ट्राफिक प्रहरीलाई सरकारले अन्यलाई झैँ रासन भत्ताबाहेक अतिरिक्त भत्ता नदिएको उल्लेख गर्नुभयो । भन्नुभयो ‘रासन भत्ता दिइएको छ । त्योबाहेक अरु भत्ता र सुविधा केही पनि छैन ।’ प्रवक्ता दासले त्यसो भनिरहँदा केही ट्राफिक प्रहरीले भने मुख खोलेर सरकारले अहिले प्रदान गरेको सुविधा अपुग रहेको गुनासो गरेका छन् । ‘हामीलाई समयमा स्वास्थ्य परीक्षण नहुँदासमेत गाह्रो परेको छ । कोरोना महामारीका कारण पनि हाम्रो अवस्था दयनीय बनेको छ,’ उनीहरुले भने ।

तीन वर्षमा भत्ता बढ्ने भनिए पनि कोरोनाको कहरसँग जुधिरहँदासमेत सरकारले भत्ता नबढाएकोमा दुःख मनाउ बेग्लै छ । ‘हामी पनि त फ्रन्ट लाइनर हौं नि,’ यसो भन्दै गर्दा उनीहरुको थप भनाइ छ, ‘करिब पाँच वर्ष यता भत्ता बढाइएको छैन, त्यसैले परिवार पाल्न पनि धौ धौ पर्यो ।’

तर सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा प्रहरीको रासनमा १५ प्रतिशत बृध्दि गर्ने घोषणा गरिएको छ । जसअनुसार रासन भत्ता बढेको पनि छ । दुई वर्षअघि ४० प्रतिशत राशन बृध्दि गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा प्रस्ताव गरिएको भए पनि सरकारले पाँच वर्षपछि १५ प्रतिशत मात्रै बढाएको हो ।

सरकारले प्रहरीलाई कोरोना जोखिम भत्ता दिने भने पनि अहिलेसम्म उनीहरुले त्यो रकम पाउन सकेका छैनन् । सरकारको निर्णय पनि अहिलेसम्म मौखिकमै सीमित रहेको भन्दै उनीहरुले थप गुनासो गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रहरीलाई राशन भत्ता दिइएको तर कोरोना भत्ता उपलब्ध गराउन नसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘रासन भत्ता त पठाइरहेको जस्तो लाग्छ । कोरोना भत्ता पठाइएको छैन । नदिएकोलाई दिएको भन्न मिलेन ।’ गृहमन्त्रालयले कोरोना भत्ताको कुरा गरिरहँदा यस विषयमा सबै जानकारी हुनु पर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) का अधिकारीहरुले भने यो विषयमा आफूहरुलाई केही जानकारी नभएको भनेर तर्केका छन् । ‘त्यो सरकारको कुरो हो । हाम्रो तर्फको कुरो हो जस्तो लाग्दैन,’ सीसीएमसी स्रोतले भन्यो ।

यसबाट पनि ट्राफिक प्रहरीलाई सरकारले झुटो आश्वासन मात्र दिएको भान परेको छ । जसले गर्दा घोषणा गरिएको भत्ताको आश गर्दैमा दुई वर्ष बितेपछि उनीहरु थप निराश बनेका हुन् ।

टिप्पणीहरू