पचास हजारमा कुरा मिल्यो

पचास हजारमा कुरा मिल्यो

अन्ततः ५० हजार १ रुपैयाँ जरिवाना तिरेसँगै गीत चोरी प्रकरणको विवाद सेलाएको छ । विराज भट्टको ‘साङ्लो’ चलचित्रमा प्रयोग भएको ‘झ्याम्मै आँखा झ्याम्मै…’ गीत संगीतकार सुरेश अधिकारीले चोरेको आरोपसहित टेकु प्रहरी गुहार्न पुगेका सुदीप भुसालले ५० हजार १ रुपैयाँ क्षतिपूर्ति पाएसँगै तत्कालका लागि यो विवाद सल्टिएको हो ।

अघिल्लो साता सुदीपले संगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनीविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दर्ज गरेका थिए । अनुमति बेगरै आफूले सिर्जना गरेको रचना ‘साङ्लो’ चलचित्रमा घुसाइदिएको, रचनाकारको रुपमा क्रेडिटसमेत नदिएको भेटिएपछि उनी प्रहरीको शरणमा पुगेका हुन् । सो गीतमा गायकसमेत रहेका निशान भट्टराईको नाम राखिएको थियो जबकि यो निशानले गाएका हुन्, रचना उनको होइन । संगीतकार सुरेश र निर्देशक सुदीपबीच दुवैको नाम गीतकारमा राख्ने गरी विवाद सल्टिएको छ । सुदीपले प्राप्त ५० हजार रकम चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गीय केशव भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने बताएका छन् ।

शिखरबाट ढुंगो टिपेर फर्कंदा
लेखक, समीक्षक, पाठकलाई जोड्न र कृतिमाथि गम्भीर बहस गर्न थालेको छ साहित्य घर कोटेश्वरले । हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने यो बहसमा यसपटक सरल सहयात्रीको कृति ‘शिखरको ढुंगा’ले स्थान पाएको थियो । र, कृतिमाथि समीक्षा गर्दै थिइन् कैलाश राई । कुनै समय जनयुद्धमा सहभागी भएका र क्यान्टोनमेन्टमा समेत रहेका सरलले त्यहाँ देखे-भोगेका विषयवस्तुलाई उपन्यासको रुप दिएका हुन् । पुस्तकको समीक्षा गर्दै राईले शिखर प्राप्तिका लागि हिँडेको योद्धाले ढुंगा लिएर फर्केको विषयसँग लडाइँबाट प्राप्त उपलब्धिलाई जोड्न चाहिन् । क्यान्टोनमेन्टबाट आरम्भ भएको उपन्यासले जनयुद्धलाई पृष्ठभूमिमा छाडेको हुँदा यसलाई हिमाल आरोहणको उपन्यासभन्दा अन्याय नहुने उनको जिकिर थियो । असन्तुष्टि पनि पोखिहालिन्, जनयुद्धमा महिलाको सहभागिता उल्लेख्य भए पनि उपन्यासले महिला पात्रलाई अन्याय गरेको र जनयुद्धलाई ओझेलमा पार्ने काम गरेको छ । तर, सरल सहयात्रीले आफ्नो बचाउमा भने– जनयुद्धको आयाम बृहत् भएका कारण त्यसलाई संबोधन गर्न सक्दिनँ कि भन्ने डर थियो । त्यसबाट भाग्न खोजेको र हिमाल आरोहणको कथा समेटिएका कारण आफूले त्यसैअनुकूलको पात्र चयन गरेको तर महिला पात्रलाई अन्याय नगरेको उनले जिकिर गरे ।

टिप्पणीहरू