गोजीमा छैन दाम,करोडौं तिर्न कसरी जाम ?

गोजीमा छैन दाम,करोडौं तिर्न कसरी जाम ?

बिहान खाए बेलुका के खाने भन्ने अवस्थामा रहेका सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङपाल गाउँपालिका ८ लागार्चेका युवामाथि अहिले ठूलो बज्रपात आइपरेको छ । वर्षदिन कमाउँदा पनि पाँच महिना पेट पाल्न मुश्किल पर्ने त्यहाँका विपन्न युवामाथि करोडौं राजश्व छलीको आरोप लागेको हो । सामान्य मजदुरी गरेर जीविकोपार्जन गरिरहेका १२ जना युवा अहिले राज्यबाट त्रसित छन् ।

राजश्व छली गर्ने गिरोहले उनीहरुको कागजात दुरुपयोग गरेर फर्म खडा गर्दै करौडौंको राजश्व छली गरेका हुन् । तर,राज्यको अघिल्तिर केही नभएका आवाजविहीन नागरिकहरु दोषी ठहरिएका छन् ।

कसरी लाग्यो करौडौं राजश्व छलीको मुद्दा ?

गाउँमा वर्षभरि दुःख गर्दा पनि परिवारको पेट पाल्न नसक्ने स्थिति देखिएपछि १२ जना युवा काम खोज्दै पाँच वर्षअघि राजधानी काठमाडौं आएका थिए । थाङपाल गाउँपालिका ८ बस्ने दिपक भुजेल, दिपक अधिकारी,पुरुषोत्तम धिताल, रविन्द्र धिताल,ध्रुवराज गोतामे, ज्ञानबहादुर खड्का,राजन थापा, युवराज खड्का,भीमबहादुर तामाङ, राजन भुजेल,प्रकाश गौतम र ध्रुवबहादुर खड्का एकै पटक काठमाडौं आएका हुन् ।

जागिर खाने र परिवार पाल्ने सुन्दर सपना बुनेर काठमाडौं आएका उनीहरुको भेट लक्ष्मण राय यादवसँग भएको थियो । यादवले जागिर लगाइदिने आश्वासन दिँदै उनीहरुसँग नागरिकता मागे र केही कागजातमा दस्तखत गर्न लगाए ।

साँवा अक्षर चिनेका सोझा युवाहरुले जागिर पाउने प्रलोभनमा सजिलै कागजातमा दस्तखत गरिदिए । हस्ताक्षरमा सही गरेपछि बैंक खाता खोल्न लगाएर यादवले सबैलाई तीन हजार रुपैयाँ दिएको तिनैमध्ये एक आरोपित राजन भुजेलले बताएका छन् । रायले ‘अहिलेलाई घर जानु,जागिर पाएपछि खबर गर्छु’ भनेपछि उनीहरु गाँउ फर्केका थिए ।

‘जागिर लगाइदिने भन्दै नागरिकता मागे हामीले दियौं,तर यस्तो हुन्छ भनेर सोचेका थिएनौं,’उनले भने,’ अहिले आएर त्यसको दुरुपयोग गर्दै फर्म खडा गरेर करौडौंको राजश्व छली गरिएको थाहा पायौँ,’ उनी भन्छन् ।

“हाल अदालतले ‘तिम्रो नाममा खोलिएको फर्मले १२ करोड राजश्व छली गरेको’ भन्दै भुक्तानीको लागि पत्र काटेपछि २४ वर्षका पुरुषोत्तम धिताल राजश्व छली मुद्दामा कहिले पक्राउ पर्ने भन्ने त्रासमा बसेका छन् ।”

पाँच वर्षपछि अदालतले जब करोडौं हिनामिनाको पत्र लेख्यो त्यसपछि आफ्नो होश खुलेको उनीहरु बताउँछन् । हाल अदालतले ‘तिम्रो नाममा खोलिएको फर्मले १२ करोड राजश्व छली गरेको’ भन्दै भुक्तानीको लागि पत्र काटेपछि २४ वर्षका पुरुषोत्तम धिताल राजश्व छली मुद्दामा कहिले पक्राउ पर्ने भन्ने त्रासमा बसेका छन् ।

धितालसँगै लागार्चे गाउँका दीपक अधिकारी र दीपक भुजेलको नाममा पनि राजश्व अनुसन्धान विभागले उस्तै व्यहोराको पत्र पठाएको छ । राजश्वले काटेको पत्रमा उनीहरुकोे नाममा फर्म दर्ता भएर कारोबार भएको उल्लेख छ ।

पत्र काटिएको युवाहरु कोही सामान्य मजदुरी गरेर बसिरहेका छन् भने कोही उपत्यकामा जागिरको लागि आएका छन् । तीमध्ये कोही विदेशमा भएको र कोही वैदेशिक रोजगारीबाट फर्किएर आइसकेको बताइन्छ । सम्पर्कमा आएका सबै युवाले आफ्नै गाउँका युवराज खड्कामार्फत पैसा पाइने लोभमा लक्ष्मण यादवलाई नागरिकता बुझाएको यथार्थ खुलाएका छन् । राजश्व छलीमा परेपछि राजन भुजेलको दुई वर्षदेखि काम गरेको तलबसमेत बैंक खातामा रोक्का छ ।

के भन्छन् जनप्रतिनिधि ?

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले यसबारे आफूले केही दिनअघि मात्र थाहा पाएको बताउनुभयो । ‘केही अघि थाहा पाएका हौं । आज छलफल गरेर सबै जानकारी लिन्छौं,’ अध्यक्षले भन्नुभयो । उहाँका अनुसार राजश्व मुद्दामा परेका सबै युवा निर्दोष हुन् ।

गाउँका युवाको नाममा कसैले कम्पनी खोलेर करोडौंको राजश्व छली भएको भन्ने घटनाबारे जानकार रहेको र यसबारे थप अनुसन्धान गर्ने लागर्चेका वडाध्यक्ष विष्णु खड्काको भनाइ छ ।

मेलम्ची बजारबाट करिब १२ किलोमिटर उत्तरमा रहेको लागार्चेका अधिकांश परिवार गरिबीको रेखामुनी बाँचिरहेका छन् । दुई छाक खान पनि समस्या पर्नेहरुमाथि यसरी करोडौं राजश्व छलीको आरोप लागेपछि बस्ती नै अचम्मित बनेको छ ।

ठगको जालोमा परेर युवाहरू राजश्व छलीको अभियोग मुद्दामा फसेका छन् । गाउँका सोझासाझा युवालाई राजश्व छलीको आरोपमा फसाउने लक्ष्मण राय यादव यसअघि किर्ते मुद्दामा तीन वर्ष सजाय पाएका व्यक्तिसमेत हुन् ।

यादव जस्ता व्यक्तिहरुले कम लेखपढ भएका र जागिरको खोजीमा रहेका युवाहरूका नाममा कम्पनी खडा गरी राजश्व छली गरी कानुनी झमेलामा पार्ने गरेका घटनाहरु थुप्रै छन् । यता,राजश्व छली गरेका प्रमुख योजनाकारहरुले भने कानुनको चौघेराबाट उन्मुक्ति पाएका छन् ।

टिप्पणीहरू