न्यायको भीख माग्दै चिसो सडकमा बास

न्यायको भीख माग्दै चिसो सडकमा बास

दैनिक हजारौको संख्यामा ओहोरदोहोर हुने सडक हो काठमाडौंको माइतीघर मण्डला । देशका शीर्ष नेतादेखि सरकारी जागिरे र प्रतिष्ठित व्यक्तिहरु पनि सोही बाटो आवतजावत गर्दछन् । तर, त्यही छेउमा भोकभोकै रन्थनिएर १२ दिनदेखि आमरण अनशन बसिरहेका चितवनका अम्विकाप्रसाद अधिकारीलाई कसैले देखेका छैनन् ।

चितवनका अधिकारी न्याय माग्दै माइतीघर आएको १२ दिन नाघिसकेको छ । तर, न्यायको लागि होमिएको भने वर्षौं बितेको छ । तथापि, न्याय अझै पनि उनको नजिक देखिएको छैन । न्यायको लागि विगत सात वर्षदेखि भौंतारिरहेका उनले झै न्याय पाउने आश मारेका छैनन् । आफ्ना दाजुभाइबाट धोका पाएर न्यायको ढोका ढक्ढकाएको वर्षौं बित्दासमेत सरकारले चासो नदेखाएको उनी गुनासो गर्छन् ।

आफ्ना बाबुका पाँच छोरामध्ये उनी साईंलो हुन् । दुःखसुःख गरेर बाबुले सबैलाई पढाए, हुर्काएका थिए । सबैलाई समान माया गरेर हुर्काए पनि जेठा र कान्छो मिलेर बाबुको सबै सम्पत्ति खाइदिएको उनी बताउँछन् । त्यसपछि उनको अंशको लडाईं सुरु भयो ।

अंशको लडाईं लड्दालड्दै माइतीघर आइपुगेका यत्रो दिन बितिसक्दा पनि उनको पीडा सरकारले सुनेको र देखेको छैन । जाडोको मौसम त्यसमाथि १२ दिनदेखिको भोको पेट । बोली फुट्न छाडिसकेको छ । शरीरमा एकजोर कपडा लगाएर सडकमा आमरण अनशन बसिरहेका उनको अवस्था कहालीलाग्दो छ ।

दाजुभाईबाट मात्र नभई न्यायालयबाट पीडित भएपपिछ अब उनको जाने ठाउँ पनि छैन । चार छोराछोरीका बाबु यसरी सडकमा आएर बास बस्दा छोराछोरी पनि अलपत्र परेका छन् । ‘घरमा छोराछोरी भोकै छन्, पढाउन सकेको छैन,’ उनी भन्छन्,

सरकारले दिएको हकअधिकारकै लागि लडेका झण्डै सात वर्ष बितिसकेको छ । अदालत र घर गर्दागर्दै हातखुट्टा गलिसकेका छन् । विगत सात वर्षदेखि अदालतको तारिखमाथि तारिख बोकिरहेका छन् । न्याय पाउन मुद्दा लड्दालड्दै सम्पूर्ण श्री सम्पत्ति सिद्धिएको बताउँछन् । बालबच्चाको कानमा भएको मुन्द्रादेखि श्रीमतीको गलाको मंगलसूत्र बेचेर सडकमा आइपुग्दा पनि उनले न्याय पाउन सकेका छैनन् ।

दाजुभाईबाट मात्र नभई न्यायालयबाट पीडित भएपपिछ अब उनको जाने ठाउँ पनि छैन । चार छोराछोरीका बाबु यसरी सडकमा आएर बास बस्दा छोराछोरी पनि अलपत्र परेका छन् । ‘घरमा छोराछोरी भोकै छन्, पढाउन सकेको छैन,’ उनी भन्छन्, ‘घरबेटीको भाडा नतिरेपछि बिजुली काटिदिएका छन् । न्यायका लागि दौडिँदादौडिँदै थाकिसकेँ तर देख्नेले देख्दैनन् ।’

देशको न्याय पैसा हुनेको लागि मात्र हो ? उनी सरकारसँग प्रश्न गर्छन् । अन्यायविरुद्ध न्याय दिन न्यायालय छ भन्नु मात्रै हो, उनले भने । सत्य मुद्दाका साँचा फिरादीहरुलाई न्यायको प्रत्याभूति दिलाऊ सरकार भन्दै उनी पुस १८ गतेदेखि सडकमा बास बसिरहेका छन् । मुद्दाको वास्तविक पीडितजनलाई सजिलै न्याय पाउनबाट वञ्चित गराई सास्ती दिने कार्य सरकारबाट नहोस् भन्ने लडाइमा उनी एक्लै छन् ।

घरखेत सिद्धिसक्दा पनि तारिख बोकाउने प्रवृत्तिको अन्त्य होस्, न्यायालय सबैको लागि समान होस् भन्ने मागका साथ उनी अनसन बसेका हुन् । कानुनको व्याख्या विश्लेषण गर्नेहरुले नै कानुन मिच्ने र न्याय मार्ने काम गरेको उनी गुनासो गर्छन् । न्याय क्षेत्रमा लागेको ग्रहण हटाउन उनले जोडदार माग गरेका छन् ।

साथै, न्यायमाथि खेलबाड गर्ने अपराधीहरुलाई यथाशीघ्र कारबाही गरी दुनियाँलाई निष्पक्ष न्याय, स्वतन्त्र न्यायपालिका र स्वच्छ कानुनी राज्यको प्रत्याभुति दिलाउन उनले माग गरेका छन् ।

न्यायको लागि कसैले आफ्नो ज्यान गुमाउन नपरोस् भन्दै सरकारसमेत गुहारिएको छ । तारिख बोकाउने अदालती पुरातनशैली फेर्न उनले भनेका छन् । बिना पक्षपात, बिना भेदभाव नागरिकहरुलाई न्याय प्रदान गर्नुपर्ने उनको माग छ ।

के थियो घटना ?

चितवनका अम्विकाप्रसाद अधिकारी पाँच दाजुभाइमध्ये दुई जना दाजु सूर्यप्रसाद र चन्द्रप्रसाद अधिकारी पछिका हुन् । उनका दुई भाइ छन् केशवप्रसाद अधिकारी र दिनेशप्रसाद अधिकारी । बाबुले खाइ नखाई जोडेको सम्पत्ति दाजुभाइले मात्र खाइदिँदा उनी मारमा परेका हुन् । २०५१ सालमा उनका पिता छबिरमण अधिकारीले खोलेको साबुन उद्योग धराशायी बन्यो ।

उद्योग धराशायी बनेपछि बाबुले आमाको दाइजोबाट किनेको ३ कठ्ठा १७ धुरबाट २२ धुर जग्गा बेचेर राष्ट्रिय वाणिज्य बैंक, नवलपुरको ऋण तिरे । ऋण तिरेपछि बाँकी भएको जग्गा दुई दाजुभाइ मिलेर खाइदिएको उनी बताउँछन् ।

माइलो चन्द्रप्रसादकी श्रीमती मिनाकुमारी अधिकारीले भरतपुरको ४३ धुर जग्गा घरमा कोही नभएको बेला बाबुआमालाई पनि पत्तो नदिई त्यो जग्गा आफ्नो नाममा पास गरेको उनले बताए । कान्छो भाइ दिनेशप्रसाद अधिकारीले भने बाँकी सबै जग्गा आफ्नो नाममा लगेका छन् ।

आफ्ना र अरु दुई दाजुभाइको हातमा केही नपरेपछि उनको संघर्षको दिन सुरु भयो । न्यायालय र घर गर्दागर्दै उनको आधा उमेर गइसकेको छ । त्यही पनि कतैबाट सुनुवाइ नभएको उनी गुनासो गर्छन् ।

न्यायालयको ढोका ढक्ढकाएको पनि नखुलेपछि उनी निराश बनेका छन् । ससाना छोराछोरीको बारेमा सोच्दासोच्दै उनी तड्पिन्छन् । उनी भन्छन्, ‘कानुनी क्षेत्रमा व्यापक सुधार होस्, न्याय माग्दै सत्याग्रह बस्ने दिन नआओस् ।’

टिप्पणीहरू