​शुरुमा स्वीकार, पछि साथीकै धिक्कार

आसाममा निकै मदिराविरोधी हरिभक्त कटुवालले आफ्नै मामालाई समेत खाँबोमा बाँधेका थिए भने काठमाडौंमा उनलाई रक्सी उनकै रक्स्याहा साथीहरूले खुवाएर खुंखार रक्सीबाज बनाइदिए । बिरामी हुँदा तिनै साथीहरूले सहयोग गरेनन् । अरू त अरू लैनसिंह बाङ्देल नेपाल एकेडेमीमा हुँदा कहाँ छ र बजेट भन्दै फिर्ता पठाइदिए ।

नेपालमा हुँदा एकेडेमीलगायत थुप्रै साहित्यिक पत्रिकाको सम्पादन गरेका र बहुदलको प्रचारका लागि सडक कविता क्रान्तिमा लागेका कटुवाल नेपालमा भएको अपमान सहन नसकेर गए असाम नै । तर, आसाम जानेको जिम्मेवारी दिएर उनलाई बिदाइ गर्दा बसपार्कमा एक जना मात्र थिए कि ? रक्सी आफू पनि खान्थे कटुवालका काठमाडांैली साथीहरू । तर, रक्स्याहा कटुवाल भएको आरोप लगाउँथे र कविता पनि बनाए । 

‘गण्डकी हुत्तिएकी छन् बांगोटिंगो गरी गरी
नयाँ सडकमा साँझ हरिभक्त हिँडेसरि’
आखिर तिनले हरिभक्तलाई तन्नम बनाए र आसाममा पु¥याई मर्ने बनाए । अस्तव्यस्त कटुवालको तकियामुनि एक रातो डायरी थियो, जहाँ उनका कविता, गीत र अन्य दैनिक घटनाको विवरण थियो । एक दिन उनको एक मित्रले खुसुक्क झिकेर चम्पट बनाए । असार १८ गते हरिभक्तको जन्मदिनमा ‘अनि हरिभक्त फर्किएनन्’ भन्ने वृत्तचित्र प्रदर्शनीका क्रममा मित्र रोचक घिमिरेले डायरीको प्रसंग निकाले । अविनाश श्रेष्ठले भने कटुवालमा दैनिकी लेख्ने बानी नभएको जिकिर गरेका छन् वृत्तचित्रमा । कटुवालले साहित्यकार बनाएकी माया ठकुरीको जन्मदिन पनि सोही दिन थियो । उनको जन्मदिन नातिहरूले सम्झन्छन्, श्रीमान् पङ्गेनीले थाहा पाउँदैनन् । उनलाई रुन मन लाग्छ ।

हरिभक्तलाई दुहुनसम्म दुहेकाहरू उनलाई सम्झन चाहँदैनन् बरु पुरु लम्सालजस्ता केटा वृत्तचित्र बनाउँछन् र बर्सेनि सम्झन्छन् । अर्काे वर्ष ठकुरीकै संयोजकत्वमा हरिभक्त कटुवाल स्मृति प्रतिष्ठान बन्ने भएको छ । उनका पुस्तकको रोयल्टी पनि दिइएको छैन, त्यो पनि खोज्नुपर्ने भएको छ । उनका छोरीहरू सपना र कविताले रोयल्टीको पनि माग गरेका छन् । रत्न पुस्तक भण्डारले पनि रोयल्टीको हिसाबकिताब गर्नुपर्ने भएको छ ।

टिप्पणीहरू