काठमाडौंमा पनि छठको तयारी, आज ‘नहाय–खाय’

काठमाडौंमा पनि छठको तयारी, आज ‘नहाय–खाय’

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा समेत थालिएको छ । विशेषगरी तराइका जिल्लामा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत धेरैले मनाउन थालेका छन् ।

सोही अवसरमा काठमाडौंको गौरीघाटमा छठी माताको पूजाका लागि छठ पूजा समितिको स्थापना गरेर छठघाट निर्माण भइरहेको छ ।

कमलपोखरीमा भने निर्माण कार्यले पूर्णता नपाएकाले त्यहाँ यो वर्ष छठपर्व नमनाउने बताइएको छ । तर, गहनापोखरी, नागपोखरी, बागमती नदी किनारमा भने पूजाको निम्ति सरसफाइ थालिएको छ ।

त्यसैगरी पहाडी जिल्लाका कतिपय नदी किनारा र पोखरीमा पनि यो पर्व मनाउने तयारी थालिएको छ । ४ दिनसम्म विशेष रुपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ बाट शुरु हुन्छ । ब्रतालुहरुले पर्व शुरु हुनु एक दिनअघि नै उसिनिएको धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य वस्तुहरु बार्ने चलन छ ।

यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ । हिजो ‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले आज अर्थात चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्छन् ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।

टिप्पणीहरू