लुटको धन फुपूको ल्यापटप

निर्वाचन आयोग, राष्ट्रसंघीय विकास कार्यक्रम र इन्टरनेशनल फाउण्डेशन फर इलेक्टोरल सिष्टमबीच ४२ करोड ६८ लाख ५० हजारको सम्झौता भएकोमा आयोगले सोको लेखापरीक्षण नगराएको, अघिल्लो आर्थिक वर्ष १७ करोड ६३ लाख ५३ हजारको ल्यापटप खरिद गर्दा अनियमितता भएको महालेखा परीक्षक कार्यालयको ठम्याइ छ । सोही आयोगले स्थानीय तहको निर्वाचन गराउने नाममा हालै मात्र १० अर्ब ३० करोड निकासा पाइसकेको छ । अतिथि सत्कारका नाममा सभामुख, उपसभामुख, संसदीय समितिले ४ करोड ३६ लाख ७६ हजारको खाजा खाएको लाई महालेखाले अनियमितता किटान गरेको छ । यही आर्थिक वर्ष मात्र पनि त्यहाँको बेरुजु १५ करोड ५७ लाख २ हजार पुगेको छ । 

गगन थापाले कमाण्ड सम्हालेको स्वास्थ्य मन्त्रालयको स्वास्थ्यकर कोषमा दाखिला भएको ४० करोड रकममध्ये ३२ करोड २५ लाख मापदण्डविपरीत वितरण भएको, मन्त्रीनिकट एक गैरसरकारी संस्थालाई ४ करोड अनुदान दिइएको छ । उस्तै लुट छ, बयोवृद्ध सूर्यमान गुरुङले कमाण्ड सम्हालेको श्रम मन्त्रालयमा । नेपाली कामदारबाट काटिने एक हजार दरको वैदेशिक रोजगार कल्याणकारी कोषमा ३४ करोड २४ लाख मनपरी खर्च गरिएको, नेपाली राजदूतावास कोरियाले ३७ लाख ९७ हजारको गाडी खरिद गर्दा र राज्यमन्त्री विदेश भ्रमणमा जाँदा एउटै होटलको ४ लाख ६४ हजार खर्च देखाई रकम हिनामिना भएको उसको ठहर छ । 

सार्वजनिक खरिद ऐनको खिल्ली उडाउँदै मन्त्री गुरुङले सीप विकास तालिम केन्द्रमा ३८ करार, ३९ अस्थायी आसेपासे भर्ती गरी अन्यत्रै जागिर लगाएर त्यहाँबाट ९ लाख ९७ हजार भुक्तानी गरिएको समेत भेटिएको छ । 

उता, बिपीपुत्र श्रीहर्ष कोइरालालाई गलहत्याएर हर्ताकर्ता बनेका सनतकुमार शर्मा, विनिल अर्यालले लुट मच्चाएका छन् । लुट पनि कस्तो भने प्लानिटोरियममा ल्याबका उपकरण खरिद गर्ने नाममा २ करोड १८ लाखको सामग्रीलाई ६४ करोड देखाई रकम झ्वाम पारिएको समेत भेटिएको छ । अघिल्लो वर्ष मात्र स्थापना भएको पशुपक्षी विकास मन्त्रालयमा ३३ करोड ६७ लाख ३१ हजार परामर्शदाताकै नाममा खन्याइएको छ । खानेपानी मन्त्रालयले २ करोड ५२ लाख रुपैयाँ एउटै संस्थालाई दोहोरो भुक्तानी दिई लुट मच्चाएको पाइएको छ ।

टिप्पणीहरू