मान्छे कुट्दा मख्ख पर्ने जनप्रतिनिधि

मान्छे कुट्दा मख्ख पर्ने जनप्रतिनिधि

सामाजिक सुरक्षा भत्ता वितरणमा मनोमानी भएको आवाज उठाउँदा दलित युवकलाई वडा अध्यक्षले निर्घात कुटपिट गरेका छन् ।जाजरकोटको जुनिचाँदे गाउँपालिका २ मस्कोटका अध्यक्ष रामबहादुर नेपालीले स्थानीय दलित युवकलाई निर्घात कुटपिट गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा मनोमानी भएको आवाज उठाउँदा स्थानीय सर्पे नेपालीलाई सो पालिकाका वडाध्यक्ष नेपालीलगायतले हातखुट्टा बाँधेर कार्यालय परिसरमै कुटपिट गरेका थिए ।

वडा अध्यक्षको मनोमानीविरुध्द आवाज उठाउँदा युवकलाई निर्घात कुटपिट गरिएसँगै स्थानीयहरुले ती जनप्रतिनिधलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन् । सो गाउँपालिकाका वडा अध्यक्ष नेपालीसँग जनआस्थाले प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

सो पालिकाका वडा अध्यक्षले स्थानीयमाथि हातपात गरेको यो नै पहिलो घटना होइन,यसअघि पनि जुनिचाँदे गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक यज्ञश्वर बस्नेतलाई कुटपिट गरेका थिए ।

वडा अध्यक्ष नेपाली सो प्रकरणमा मुछिई पक्राउ परेर छुटेका थिए ।

टिप्पणीहरू