जसमा जनयुध्दका अनेक कथाब्यथा जोडियो

जसमा जनयुध्दका अनेक कथाब्यथा जोडियो

पारिवारिक वियोग,सशस्त्र द्वन्द्व, एकल महिलाको संघर्ष र सफलतालाई समेटिएको नेपाली डकुमेन्ट्री फिल्म ‘मायाको संसार’ सार्वजनिक भएको छ । इलामकी मायादेवी भण्डारी भट्टराईको वास्तविक जीवनकथा समेटिएको ४७ मीनेटको डकुमेन्ट्री साउन १५ गते सार्वजनिक भएको हो ।

माओवादीले चलाएको सशस्त्र द्वन्द्वले नेपाली जनजीवनमा पारेको असर र त्यसले उत्पन्न गरेको पारिवारिक वियोग,एकल महिलाले गर्नुपरेको संघर्ष र संघर्षपछिको सफलतालाई सिलसिलेबार प्रस्तुत गरिएको मायाको संसारले एउटा पारिवारिक जीवनको करिब १५ वर्षको अन्तरालमा आएका उतारचढावलाई देखाएको छ ।

इलामको सामाजिक,राजनीतिक, व्यावसायिक जीवनमा परिचित व्यक्तित्व माया भट्टराईका वास्तविक जीवनकथालाई ३ वर्षको रिसर्च,३ दिनको सुटिङ र ३ महिनाको सम्पादनमा सार्वजनिक गर्न सफल भएको यसका परिकल्पनाकार तथा लेखक रामप्रसाद ढुंगेलले बताए ।

‘डकुमेन्ट्री हेर्न लायक बनेको छ । केही प्राविधिक त्रुटि भए पनि मार्मिक कथा तथा दृश्यले दर्शकलाई रुवाउने अवस्था फिल्माङ्कन गरिएको छ । डकुमेन्ट्रीमा वास्तविक क्रियाकलाप,पात्र,बाइट र संवाद राखिएको छ’ ढुंगेलले भने ।

गत वैशाख ७ गतेकै दिन सुटिङ प्रारम्भ गरिएको यस डकुमेन्ट्री विर्तामोडको समृध्दि फोटो भिडियो सेन्टरले उत्पादन गरेको हो । यसको छायांकन र सम्पादनमा सिनेमाटोग्राफर देवेन्द्र निरौलाको योगदान रहेको छ । यूएईको राजपरिवारमा करिब १० वर्ष भिडियोग्राफी गरेर भर्खर नेपाल फर्किएका निरौला समृद्धि फोटो भिडियो सेन्टरका संस्थापकर प्रमोटर पनि हुन् ।

हरि बस्नेत डिकेको निर्देशन रहेको यो डकुमेन्ट्रीको सम्पादन रामप्रसाद ढुंगेल,देवेन्द्र निरौला, मिलन संग्रौला,हरि बस्नेत र पूर्णप्रसाद ढुंगेलले गरेका हुन् । सन्देश कार्कीले ध्वनि नियन्त्रकका रुपमा काम गरेका छन् भने रिचा उप्रेतीको भोइस ओभर रहेको छ ।

नेपाल पत्रकार महासंघ युएई शाखाका सहसचिव रहेका ढुंगेलले यसअगाडि योगदान रास्ट्रको लागि शीर्षकमा एक डकुमेन्ट्री तयार पारेका थिए । समृद्धि टिभी नामको युट्युब च्यानलमार्फत सार्वजनिक भएको मायाको संसार बिद्या चापागाईंको हेर्ने कथाबाट प्रभावित छ ।

यसले उठान गरेको विषयवस्तु दरिलो छ । यो डकुमेन्ट्री हेरेर यसको दरिलो पक्ष नै मार्मिकता, कलात्मकता,प्रस्तुतिकरण र सन्देशमुलक रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । कथाकार ढुंगेलले पत्रकारिताका साथमा नेपाली डकुमेन्ट्री फिल्डमा राम्रो सम्भावना देखाएका छन् ।

टिप्पणीहरू