शीतल निवासभित्र नियुक्ति सच्याउने छलफलमा को को ?

शीतल निवासभित्र नियुक्ति सच्याउने छलफलमा को को ?

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्तिको सूचना र शपथ ग्रहण ढाँचामा संविधानको धारा उल्लेख नगरिएको कारण साँझ ६ बजे निर्धारित शपथ ग्रहणको कार्यक्रम रोकिएको छ ।

शपथ ग्रहणको ढाँचामा स्पष्टसँग संविधानको धारा ७६ (५) बमोजिमको सरकारको नेतृत्व गरिएको व्यहोरा नलेखेसम्म शपथ नगर्ने देउवाको अडानपछि शीतल निवासभित्र पुगेका संवैधानिक प्रमुखहरुबीच छलफल जारी छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको कानुनी छलफलमा स्वयम् देउवा,सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा,पाँच विपक्षी दलका नेताहरु सहभागी हुनुहुन्छ । निचोड नआइसकेको र सर्वोच्चको आदेशबमोजिम धारा ७६ (५) उल्लेख नगरेसम्म शपथ नगर्ने देउवाको अडान कायम रहेको बताइन्छ ।

यसअघि दिउँसो शीतल निवासले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको सूचनामा काँग्रेस संसदीय दलका नेता तथा प्रतिनिधिसभाका सदस्यको मात्रै हैसियत उल्लेख गरी प्रधानमन्त्रीमा नियुक्त गरिएको ठाडो व्यहोरा लेखिएको थियो ।

अधिवक्ता टिकाराम भट्टराईले उक्त व्यहोरामा टेकेर प्रधानमन्त्रीको शपथ ग्रहण गरेका अवस्थामा भोलिका दिनमा विश्वासको मत लिन कानुनी अड्चन आउने बताएपछि देउवा पछि हट्नुभएको हो ।

त्यसपछि देउवा निवासमा पुग्नुभएका मुख्यसचिव शंकरदास बैरागीलाई समेत उहाँले राष्ट्रपति कार्यालयको सूचना नसच्चिएसम्म शपथ ग्रहण नगर्ने जवाफ दिएर फर्काउनुभएको थियो ।

आज गठन हुने नयाँ मन्त्रीमण्डलमा काँग्रेसको तर्फबाट तीन जना र माओवादी केन्द्रका दुई जना गरी पाँच सदस्यीय मन्त्रीमण्डल बन्नेछ । जसमा बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्रीको जिम्मेवारी दिइने छ ।

माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री रहने पक्कापक्की भएको छ ।

टिप्पणीहरू