अख्तियारको कता छ आँखा,माननीयको लगानी, जनतालाई हानि
पूर्वमाननीयहरूको लगानी रहेको क्रसरले हरेक महिना बिपी राजमार्गमा क्षति पु¥याउँछ । भलै व्यक्तिलाई प्रत्यक्ष केही भएको छैन तर राजमार्ग डाइभर्सन तथा खोला थुन्न प्रयोग गरिएको डस्ट र हिउँद वर्षात सधैँ जाने पहिरोका कारण राज्यको सम्पत्ति मात्रै क्षति भएको छैन यात्रुसमेत जोखिममा परेका छन् ।
पूर्वमाननीय तीर्थ लामा, शंकर भण्डारीसहितको लगानीमा नाङसाल ढुंगा रोडा उद्योग प्रालि बिपी राजमार्गको खार्पाचोक सडकखण्डमा सञ्चालन भइरहेको छ । उक्त क्रसर शक्तिकै भरमा राजमार्ग जोडेर सञ्चालनमा छ भने हरेक पटक पहिरोका कारण जतिबेला पनि दुर्घटनाको खतरा छ ।
तत्कालीन प्रजिअ सुदर्शन ढकाल र एसपी पूजा सिंहले क्रसर र खानी बन्द गर्न खोजे पनि साध्य चलेको थिएन । अख्तियार तथा अन्य निकायले पनि क्रसरको दादागिरीविरुद्ध बोल्न सकेका छैनन् । विशेष गरी बिपी राजमार्ग आयोजना र सडक विभागले पनि कारबाही प्रक्रिया थालेनन् । मनसुन शुरु नहुँदै गएको पहिरो मात्रै होइन, हिउँदमा पनि पहिरो गएर रोकिएको राजमार्ग र डाइभर्सनबारे कसैको कानमा बतास लागेन ।
क्रसरले रोशी खोला रोकेर संकट निम्त्याइरहेको बेला वर्षातमा गएको पहिरोले राजमार्गका यात्रु थप जोखिममा छन् । झण्डै एक दशकदेखि क्रसरले राजमार्गमा क्षति पु¥याउँदै आएको छ ।
रोशी खोलाको दुवैतिर थुपारिएको डस्टले खोला छेकिएको छ । जसकारण बिपी राजमार्ग र त्यस आसपासको बस्ती जोखिममा परेको छ । असार १ गते मेलम्ची र इन्द्रावती खोलाले बगाएको लेदोका कारण मेलम्ची बजार पुरिएजस्तै उक्त क्रसरले खोलामा थुपारेको डस्टका कारण सडक र रोशी खोला आसपासको बस्ती जोखिममा परेको छ । २०७६ माघ ११ गते उक्त क्रसरले बिपी राजमार्ग रोकेर ‘डाइभर्सन’ सडक सञ्चालन गरेको थियो । उक्त उद्योगका कारण बिपी राजमार्ग २०७६ माघ ११ गतेदेखि सुख्खा पहिरो जाँदा अवरुद्ध थियो । उद्योगको उद्घाटन भण्डारीले नै गर्नुभएको सञ्चालक वाङचु लामाले जानकारी गराउनुभएको छ ।
खानी तथा क्रसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं पूर्वसांसद तीर्थ लामाको २२ प्रतिशत, ग्राण्डी अस्पतालका सञ्चालक दीपक कुँवरको ६३ प्रतिशत (सोही प्रतिशतमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री शंकर भण्डारीको पनि सेयर छ ।), तीर्थ लामाका भाइ नानीबाबु लामाको २ प्रतिशत, नेकपा नेता सुजन लामाको २ प्रतिशत, भीम लामाको ५ प्रतिशत, सेराप लामाको १ प्रतिशत, वाङचु लामाको ४ प्रतिशत सेयर छ । गाउँपालिका अध्यक्ष डिबी लामाले क्रसर तथा खानीका कारण उत्पन्न समस्या समाधानका लागि पटक पटक छलफल गरेको बताउनुभयो ।
२०६६ साल असोज ६ गते घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरिएको उद्योगले वार्षिक १ करोड २८ लाख २० हजार क्युफिट रोडा, ढुंगा उत्पादन गर्ने भने पनि उद्योग नै नवीकरण भएको छैन ।
टिप्पणीहरू