पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्नेहरु पनि पक्राउ पर्ने
नेपाल प्रहरीले पशुपंक्षीप्रति निर्दयी र आततायी व्यवहार गर्ने,त्यस्तो व्यवहार गरेको फोटो वा भिडियो सार्वजनिक गर्नेहरूमाथि कडा निगरानी र कारबाही गर्ने भएको छ ।
हिजो मातहत कार्यालयलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षकको कार्यालयले मुलुकी अपराधसंहिता २०७४ को दफा २९० (१) को प्रावधान पशुपंक्षीको अधिकारसँग सम्बन्धित भएकाले उक्त व्यवस्थाको कडाइका साथ पालना गर्न भनेको हो ।
प्रहरीको आन्तरिक आदेशमा भनिएको छ,‘उक्त कानुनी प्रावधान पशुपंक्षीको अधिकारसँग सम्बन्धित विश्वव्यापी मान्यतामा आधारित भएको हुँदा विद्यमान कानुनले निर्दिष्ट गरेबमोजिम पशुपंक्षीप्रति कानुनसम्मत व्यवहार गर्नुपर्नेमा केही व्यक्ति तथा व्यवसायीले कानुनमा भएको व्यवस्था विपरित पशुपंक्षीलाई यातना दिने,मार्नेलगायतका कार्य गरेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएको र त्यसप्रति आमनागरिकको चासो समेत पाइएको हुँदा त्यस्ता व्यवहार गर्नेलाई कानुनी व्यवस्था गर्नु/गराउनु ।’
मुलुकी अपराधसंहिता २०७४ को दफा २९० (१) मा कसैले पनि कुनै पशुपंक्षीलाई कुटी,हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग,घाउ,खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा बृध्द भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन भनिएको छ ।
त्यसो गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । प्रहरीले त्यस्तो अपराध गर्नेलाई अब सोहीबमोजिम कारबाही गर्ने बताएको छ ।
टिप्पणीहरू