प्रधानमन्त्रीको भ्याकेटमा अर्को आदेश,म्याद अन्तै तामेल

प्रधानमन्त्रीको भ्याकेटमा अर्को आदेश,म्याद अन्तै तामेल

पदमुक्त कर्णाली प्रदेशसभाका चार जना एमाले सांसदको रिट निवेदनउपर सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश उल्ट्याउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हाल्नुभएको भ्याकेटमा पुनः अर्को आदेश भएको छ ।

भ्याकेट निवेदनको प्रारम्भिक सुनुवाइपछि असार ८ गते सर्वोच्चले अन्तरिम आदेशमाथि छलफल गर्न दुबै पक्षलाई आज बोलाएको थियो । तर,अदालतको सूचना विपक्षीहरुलाई कानुनबमोजिम बुझाएको नदेखिएकाले पुनः रीतपूर्वक म्याद तामेल गरी दुबै पक्षलाई छलफलको निम्ति बोलाइएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासले निवेदकमध्ये प्रकाश ज्वाला र कुर्मराज शाहीका नाउँको तोकुवा सूचना तामेली मुलुकी देवानी कार्यविधिसंहिता २०७४ को दफा १०५ बमोजिम रीतपूर्वक नेदेखिँदा उक्त म्याद तामेली बदर गरिदिएको हो ।

आदेशमा भनिएको छ ‘तारेखमा रहेका निवेदकहरुका वारेसलाई अन्तरिम आदेश खारेजीसम्बन्धमा छलफलको प्रयोजनको लागि निजहरुको नाउँको म्याद सूचना बुझाई छलफलको पेशी तोकी नियमानुसार गर्नू ।’

दुई जना माननीयको म्याद प्रादेशिक संसद सचिवालयले हातैमा बुझाए पनि प्रकाश ज्वाला र कुर्मबहादुर शाहीको म्याद भने संसद सचिवालयको सूचना पाटीमा टाँसिएको थियो । अदालतको म्याद सम्बन्धित व्यक्तिलाई बुझाउने नियम छ । अब म्याद ज्वाला र शाहीको हातमा बुझाउनुपर्ने हुन्छ । हाल काठमाडौंमा रहनुभएका ज्वाला र शाहीलाई पुनः नियमानुसार म्याद बुझाइनेछ ।

आज अदालतमा त्यहि विषयमा भएको बहसमा सांसदहरुको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा,गोविन्द बन्दी र चन्द्रकान्त ज्ञवालीले भाग लिनुभएको थियो ।

टिप्पणीहरू