मृत्युपछि के को आन्दोलन, कसलाई न्याय !

मृत्युपछि के को आन्दोलन, कसलाई न्याय !

– पवित्रा पराजुली

मलाई थाहा छ । अन्याय र हिंसा सहनुहुन्न । यदि, कसैले आफूमाथि शारीरिक या मानसिक कुनै पनि तरिकाले हिंसा गर्न लागेको छ भने कसरी आवाज उठाउनुपर्छ त्यो पनि थाहा छ । तर, के यी सबै कुरा थाहा भएको मान्छे हिंसाको शिकार हुनुपर्दैन ? हिंसा भएको खण्डमा के उसले न्याय पाउँछ ? अनि हिजोआज जति पनि महिला हिंसाका घटना भएका छन्, के ती महिलालाई यी कुरा थाहा नभएर होला त ? किन उनीहरू हिंसा सहिरहेका छन् ? किन आफ्नो न्यायको अन्तिम विकल्प मृत्यु रोजेका छन् ?

एउटी छोरीलाई तँ हामीसँगै बस्, समस्या समाधान गरौँला, तँ पनि केही गर्न सक्छेस्, कमजोर नहुनु भन्न नसक्ने समाजबाट जन्मिने भनेकै यस्तै भयावह मृत्युहरू हुन् ।

केही समय भयो, मनमा यस्तै प्रश्नले घर बनाएका छन् । विस्तारै डर पनि जन्माएका छन् । डरमाथिको डर यो छ कि सुषुप्त रहेको डरले कुन दिन म आफैँलाई खाने हो ! मभित्रको डरलाई सामाजिक सञ्जालले मलजल गरिरहेका छन् । दैनन्दिन युट्युब, फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि आदिमा आउने भयावह सामग्री, रेडियो, टिभी र पत्रपत्रिकाका समाचारले मलाई प्रत्येक पल असुरक्षित बनाइरहेका छन् ।

‘फलानो ठाउँमा ससुराको हिंसापछि बुहारीले आत्महत्या गरिन्, आफ्नै बाबुबाट बालिका बलात्कृत, काकाले भतिजीलाई यौनदासी बनाए, १७ वर्षे युवती कोठामा मृत भेटिइन्, आमाछोरी एउटै पासोमा भेटिए, कलेज जान लागेकी किशोरीद्वारा आत्महत्या, बिहेअघि बेहुलीको आत्महत्या, बिहे गरेको महिना दिनमै आत्महत्या…’ यावत् हेडलाइनका समाचारले मेरो गिदी बिथोलेका छन् । हरेक दिन म यिनै समाचार सुनेर भयभित हुन्छु । ‘दाइजो नपाएको निहुँमा महिलामाथि हिंसा, त्यसपछि ती महिलाको आत्महत्या’ यस्ता समाचार अब दैनिक आउने अन्य समाचारजस्तै भइसके ।

कार्यालयको काम सकेर फेसबुक हेर्दै थिएँ । घरनजिकैको अंकलले पोष्ट गर्नुभएको एउटा कुराले मथिंगल हल्लाएको छ । दुई शब्दको हार्दिक श्रद्धाञ्जली र सँगैको फोटोले मलाई अहिलेसम्म कमजोर बनाइरहेको छ । सानोमा सँगै भाँडाकुटी खेलेको साथीले आत्महत्या गरिछ, त्यो पनि घरेलु हिंसाका कारण । भर्खर २२ वर्षकी थिई ऊ । पढाई राम्रो थियो । मान्छे टाठी थिई । यस्तो मान्छेले कसरी आत्महत्या गर्न सक्छ ? मलाई रत्तिभर पत्यार लागेको छैन । माइतीमा सबैले माया गर्छन् र सबै बुझ्ने छन् । के उसले आत्महत्या गर्नेबेलासम्म आफ्नो अवस्थाबारे कसैलाई केही सुनाइन ? उसको आत्महत्या अरूका लागि दिनहुँ आउने समाचारजस्तै थियो । मेरोलागि त त्योभन्दा धेरै । म कार्यालयबाट कतिखेर हान्निएर घर आइपुगें थाहा छैन । त्यत्रो लामो बाटो, गाडी कतिबेला चढेँ, झरेँ । आमालाई घटनाबारे सोधेँ । मैले उसको बिहेपछि खास कुरा गरेको थिइनँ । सामाजिक सञ्जालमा नियमित अपडेट हेर्थेँ, कहिलेकाहीँ माइत आउँदा हाँसेर बोल्थी, मानौँ सबै ठीक छ । तर उसले किन आत्महत्या रोजी । मलाई जसरी पनि जान्नुथियो ।

श्रीमान् विदेशमा थिए । सासू, ससुरा सँगै बस्थी । विदेश भएका श्रीमान्ले उसमाथि शंका गर्न थाले । सासू, ससुराले कहिले दाइजो कम भयो भनेर सुनाउने । कहिले श्रीमान्लाई कुरा लगाएर शंकाको आगोमा घ्यू थप्ने । श्रीमान् र सासू, ससुराको तनाव झेल्न नसकेर माइती आएकी उसलाई माइतीले पनि सुनेनन्, ‘बिहेपछि शुरुशुरुमा यस्तै हुन्छ, घर जाऊ, अलिअलि सहनुपर्छ ।’ मैले खुब बुझक्कड मानेका उसका माइतीले आफ्नै छोरीलाई बुझ्न खोजेनन् । समाज र इज्जतको डर देखाएर जबर्जस्ती घरै पठाएका उसका माइती, दाइजोको कमि, बाहिरी सम्बन्धको शंका गर्ने उसका श्रीमान् र घरपरिवार यो समाजका सबैभन्दा कुरूप अनुहार लागिरहेछन् । सायद माइती र घर मिलाउन उसको बलबुताले सकेन । माइतीलाई जब छोरीको अवस्था र उसको हारगुहारभन्दा समाज र इज्जत ठूलो भयो अनि श्रीमान् र घरलाई दाइजो, अनि उसले मृत्यु रोजी । माइतबाट फर्केको केही दिनमा आफ्नो इहलीला कोठामै झुन्डिएर सिध्याई ।

हिजो सहनुपर्छ भन्दै छोरीको कुरा नसुनी घर फिर्ता पठाउनेहरू ! अब मरेकी छोरी फिर्ता ल्याएर देखाऊ ।

मलाई अब उसको मृत्युभन्दा ठूलो डर परिवार र समाजसँग भयो । जब कुनै महिलाको समस्या कसैले सुन्ने र समाधान गर्नेतिर नलागी सहनुपर्छ, विस्तारै ठीक हुन्छ भन्नेतिर समाज जान्छ, घरपरिवार जान्छन्, आफ्नै बाबुआमा त्यसतर्फ लाग्छन्, तब हरेक घण्टा यस्ता मृत्यु बढ्नेछन् । आत्मबल बढाउन नसक्ने समाज हरेक दिन मृत्यु बढाउन सफल हुन्छ । एउटी छोरीलाई तँ हामीसँगै बस्, समस्या समाधान गरौँला, तँ पनि केही गर्न सक्छेस्, कमजोर नहुनु भन्न नसक्ने समाजबाट जन्मिने भनेकै यस्तै भयावह मृत्युहरू हुन् ।

अझ आत्महत्या कायरहरूले गर्छन्, आत्महत्या समस्याको समाधान होइन, आत्महत्या गर्ने मान्छेको केही गल्ती भएरै होला भन्नेहरू पनि छन् । मलाई उनीहरूदेखि दया लाग्छ, कसैको आत्महत्यापछि यति धेरै विशेषज्ञ बन्नेहरू समस्या के छन्, कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ सोच्दैनन् । बिहे भएर गएकी छोरी माइतमा बस्नु घरका लागि बोझ, समाजका लागि घर गरिखान नसक्ने, एकपटक घर बिग्रेकालाई कसले बिहे गर्छ भन्दै कुरा काट्ने मेलो । माइत आउनुमा कारण नसोधी एकोहोरो ‘माइत बस्नु राम्रो होइन, घर जाऊ’ भन्नेहरूले कहिल्यै के भएको छ ? हामी समाधान गर्छौं नि भनेको भएमात्र पनि मेरो साथीले यो उमेरमा मृत्यु रोज्ने थिइन । बाँचुञ्जेल समाज र इज्जतको डर देखाउनेले मृत्युपछि बिचरा भन्नु र आँशु झार्नु गोहीको आँशुजस्तो लाग्छ । हिजो सहनुपर्छ भन्दै छोरीको कुरा नसुनी घर फिर्ता पठाउनेहरू ! अब मरेकी छोरी फिर्ता ल्याएर देखाऊ ।

हरेक कुराको समय हुन्छ, म घर बस्दिनँ, त्यहाँ मलाई गाह्रो भयो, ममाथि हिंसा भएको छ भन्दाभन्दै घर पठाउने माइतीले मृत्युपछि आत्महत्या होइन, हत्या हो, छोरीले हामीलाई यसो भनेकी थिई भनेर प्रशासन घेर्नु र सडकमा सुत्नुले न्याय पाइन्छ भन्ने लाग्दैन मलाई । जानाजान मृत्युको बाटोमा धकेलेर मृत्युपछि प्रशासन र सरकारसँग न्याय माग्नु कति सान्दर्भिक ? के अब ऊ फर्केर आउँछे ? के मरेको छोरीले अब न्याय पाउँछे ? मृतकको नाममा आउने पैसाले के अब अर्को कुनै चेलीले मर्नुपर्दैन ? हामी कहिलेसम्म मृत्युपछिको न्यायका लागि भौंतारिइरहने ?

यिनैमध्येका कुनै छोरी भोलि माइत आएर म घरमा बस्न सक्दिनँ भन्यो भने मेरो साथीलाई जस्तै गरी फेरि घर फर्काउनेछ र मर्न बाध्य बनाउनेछ । मलाई यो समाजजति ढोंगी अरू केही लाग्दैन ।

यसरी गरेको आन्दोलनले केही दिन कोही जेल जाला, केही रकम धरौटी बुझाउला र फर्केला । धेरै गरे पछुतो मान्ला । तर के कसैको पश्चातापले मरिसकेको मान्छे फर्कन्छ ? मृत्युको दुई दिनमै घरपट्टीकालाई जेल पठाउन सक्ने माइतीहरू किन उसले म घर बस्न सक्दिनँ भन्दा एकवचन सोध्ने र बुझ्ने प्रयास गरेनौँ ? यही समाज आज मेरो साथीको मृत्युमा न्याय माग्दै प्रशासन घेर्न पुग्यो । यिनैमध्येका कुनै छोरी भोलि माइत आएर म घरमा बस्न सक्दिनँ भन्यो भने मेरो साथीलाई जस्तै गरी फेरि घर फर्काउनेछ र मर्न बाध्य बनाउनेछ । मलाई यो समाजजति ढोंगी अरू केही लाग्दैन ।

यो घटना मेरो मनमस्तिष्कबाट सेलाउन पाएको थिएन । अर्को घटना सुनेँ, घरेलु हिंसामा परेर एक महिलाको मृत्यु । फेरि उस्तै आन्दोलन शुरु भयो । आत्महत्या होइन हत्या हो भन्दै केटीका माइतीपक्ष प्रहरी, प्रशासन र सडकमा । अब म यसको व्याख्यामा लागिनँ ।

मलाई थाहा छ, क्रान्तिले नयाँ र सुनौलो बिहानी ल्याउँछ । आन्दोलनले परिवर्तन ल्याउँछ । विद्रोहले प्रभाव पार्छ, पार्छ । तर के हामीले हरेक दिन छोरीचेली मरेपछि कोही जेल जाने र क्षतिपूर्तिको रकम उसका बालबच्चाको नाममा लिने परिवर्तन खोजेका हौँ ? मृत्युपछिको न्यायले त दिने यिनै कुरा रहेछन् । अहिले भएका आन्दोलनले मृत्यृपछि मात्र आन्दोलन गर भनेर सिकाएको छ । मैले यसो भन्दा आन्दोलनको विरोध गरेको अर्थ नलगाइयोस् । तर म कोही मर्ने अवस्थामा नपुगुन् भन्ने चाहन्छु ।

त्यसका लागि समाजले सुनोस् भन्ने चाहन्छु । हामी पहिला आफू सुन्दैनौँ छोरीचेलीका कुरा अनि मरेपछि प्रशासनलाई सुनाउन हुल बाँधेर जान्छौँ । के कुनै छोरीलाई आफू आत्महत्या गर्ने अवस्थासम्म नपुग्ने कुनै वातावरण दिन सक्दैनौँ हामी ? मलाई मृत्युपछि गरिने आन्दोलनले हिंसा सहन हुन्न भनेर सिकाएको छ जस्तो लाग्दैन । हामी सानासाना घटनालाई त्यति महत्व दिँदैनौँ । तर हामीलाई सुन्दा सामान्य लाग्ने घटनाका कारण आत्महत्या वा मृत्यु सामान्य बन्दै गइरहेको छ । र, यसरी हुने मृत्यु सामान्य होइन ।

हामीले जबसम्म सानासाना घटना अथवा भनौँ घरेलु समस्यालाई ध्यान दिँदैनौँ । जबसम्म कुनै छोरीले मलाई समस्या छ भन्दा सहनुपर्छ भन्छौँ वा उसलाई चुप गराउन लाग्छौँ तबसम्म यस्तै छोरी सधैँ सधैँलाई चुप लाग्नेछन् । यसरी हामी हिंसाको मूल जरामा पुग्ने र हिंसा अन्त्य गर्ने भन्ने कुरा सम्भव हुँदैन । नारा र ब्यानरबाजीले समाजमा होहल्ला र चर्चा त होला तर समस्यालाई झनै बल्झाउँछ ।

यस्ता घटनाको शिकार अधिकांश महिला भएका छन् । कोही देखिएका छन् त कोही मौन छन् । कतिलाई मेरो साथीको जस्तै परिवारको इज्जत र माइतीको चिन्ता होला । कति एक्लोपनमा बाँचेका होलान्, कति अशिक्षित र परनिर्भर होलान् । यस्ता धेरै कारणले महिला घरेलु हिंसा सहन बाध्य छन् । र जुन दिन सहन सक्दैनन् त्यो दिन मेरो साथीजस्तै यो समाजमा रहन सक्दैनन् ।

मेरो साथी पढेलेखेकी थिइ, टाठी थिई, पढेर मात्र हु“दैन । जानेर मात्र हुँदैन रहेछ । जबसम्म एउटा नारी आफ्नालागि आफैँ आवाज उठाउन सक्ने हुँदिनन्, जबसम्म एक्लै पनि बाँच्न सक्छु भन्ने हिम्मत उसमा आउँदैन तबसम्म यस्ता घटना निरन्तर हुन्छन् । आफ्नो अनुहार सिँगार्ने नारी अब समाजको बिग्रेको अनुहार पनि सिँगार्ने र अपराध गर्न प्रोत्साहन गर्नेको अनुहार बिगार्ने बन्न सक्नुपर्छ ।

न बुबा, दाजु, ससूरा, आफन्त, छरछिमेकी कोही कसैसँग पनि महिला सुरक्षित छैनन् । यसैको डरले मलाई गाँजेको छ । म अहिलेसम्म डरसँग लडिरहेकै छु । तर जुनदिन डरसँग हार्नेछु जब मलाई पनि मेरो साथीलाईजस्तै माइती, घर र समाजको इज्जतको डरले कायर बनाउने छ त्यो दिन म हुनेछैन । अधिकार र न्यायका कुरा आन्दोलन र भाषणमा भन्दा बढी महिलालाई अब्बल बनाउने व्यवहार हाम्रै घरबाट शुरु कहिले हुने ?

म मान्छु आन्दोलनले समाजमा धेरै परिवर्तन भएको छ । म यो पनि मान्छु कि हिंसाको स्वरूप परिवर्तन भएको छ । हिंसा कम भएको छैन । हिजो हुने धेरै शारीरिक हिंसा अहिले मानसिक हिंसामा बदलिएका छन् । कानुन छ तर त्योभन्दा अगाडि समाज र परिवार छ । महिला हिंसाविरुद्ध लड्न वा डरलाई जित्न नसक्नुको कारण कानुन होइन समाजको घेरासँगको डर हो । बलात्कारीलाई फाँसी दे भन्नुभन्दा पहिला, मरेपछि न्याय चाहियो भन्नुभन्दा पहिला बलात्कार हुन नदिनेतर्फ सोच्ने कि जिउँदैमा न्याय दिनेतर्फ सोच्ने कि ?

टिप्पणीहरू