गैंडाकोटमा डाइभर्सन बग्यो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

गैंडाकोटमा डाइभर्सन बग्यो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्मित डाइभर्सन हिजोको बाढीले बगाउँदा अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्रयाक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको हो । गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपालको ३१ नम्बर गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्रयाक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिनुभएको छ ।

सुरक्षा निकायले एकतर्फी सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको नाथले बताउनुभयो । पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा आज बिहानसम्म पनि सवारी साधन सञ्चालन हुन नसक्दा दुवैतर्फ पूर्व र पश्चिम जाने सवारी साधनको करिब चार किलोमिटर लामो लाइन छ । राजमार्ग बिस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनका लागि बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त अवस्था आएको हो ।

यसअघि गैँडाकोटको थुम्सी क्षेत्रमा निर्माण गरिएको २३ स्मृति पुलसहित विभिन्न चार स्थानको डाइभर्सन बाढीले बगाउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो । लामो समयसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पनि सवारी साधन सञ्चालन गराउन प्रभावकारी ढङ्गले काम हुन नसकेको चालक तथा यात्रुहरुले गुनासो गरेका छन् ।

सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीले पूर्व जाने सवारी साधनलाई डण्डा र पश्चिम जाने सवारीसाधनलाई गैँडाकोटतर्फ नै रोकेर राखेको छ ।

बाढीले बगाएको डाइभर्सन पुनःनिर्माण गरेर सवारी साधन सञ्चालन गर्न इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरी बलको ३१ नम्बर गुल्म, नारायणगढ–बुटवल सडक बिस्तार आयोजनाका कर्मचारी खटिएका छन् ।

टिप्पणीहरू