मध्यबर्खामा सुख्खा बन्दरगाह सकिने
चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तसम्ममा सकिने भएको छ ।
इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारमा सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेकाले असार मसान्तभित्र पूरा हुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘भन्सार र क्वारेण्टिनका लागि बिल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भएको छ । एप्रिजल सेट तीन वटा तयार भइसकेको छ । ठूला गोदामहरु पनि दुई वटा बनिसकेको छ ।’
निर्माणाधीन सुख्खा बन्दरगाहमा तेस्रो मुलुकबाट सोझै काठमाडौंमा आयात गरिने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताउनुभएको छ । उहाँका अनुसार विदेशबाट आयात गरिने तर काठमाडौंसम्मको गन्तव्य रहेका सामान अबदेखि सोझै यहिँ आउने छ । उहाँले भन्नुभयो, ‘आयातकर्ताले म वीरगञ्ज,बिराटनगर,भैरहवा, नेपालगञ्जमा सामान क्लियर गर्दिनँ, सिधै काठमाडौंमा क्लियर गर्छु भनेमा सञ्चालनमा आएपछि मगाइएको समान यहीँ क्लियर गर्न सक्छन् ।’
उहाँका अनुसार बन्दरगाहले व्यापारलाई सहजीकरण मात्र नभई सामान ढुवानी र मूल्य घटाउनसमेत योगदान पुर्याउने छ । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रुपैयाँ रहेको उहाँले बताउनुभयो ।
टिप्पणीहरू