हतारो किन कमरेड, बीआरआईभन्दा थ्री बी डब्लुमा जोड ?
अघिल्लो साता विश्वका प्रमुख सातवटा औद्योगिक राष्ट्र सम्मिलित जी–सेभेनको सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले थ्री बी डब्लु अर्थात् बिल्ड ब्याक अ बेटर वर्ल्डको अवधारणा प्रस्तुत गर्नुभयो । अमेरिकी गठबन्धनका ती मुलुकहरुले राष्ट्रपति बाइडेनको उक्त प्रस्तावलाई तत्काल समर्थन गरिहाले । किनकि त्यो प्रस्ताव सुझबुझका साथ चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को बढ्दो लोकप्रियतालाई रोक्न ल्याइएको स्वयम पश्चिमा सञ्चारमाध्यमहरुले बताइरहेका छन् ।
राष्ट्रपतिको प्रस्ताव जी–सेभेनको बैठकमा प्रस्तुत भएपनि त्यसबारे विस्तृत रुपमा अहिलेसम्म सार्वजनिक भएको छैन । तर, आफ्ना भाषणहरूको संकलन शुक्रबार बालुवाटारमा आयोजित लोकार्पण समारोहमा बोल्दै पूर्वपरराष्ट्रमन्त्री एवं एमाले सचिव प्रदीपकुमार ज्ञवालीले बीथ्रीडब्लु सन्तुलित,उच्चस्तरीय तथा पारदर्शी मोडेल भएको बताउनुभएको छ ।
अमेरिकाले जी–सेभेनमा प्रस्तावित उक्त परियोजनामा नेपाल पनि सहभागी हुनुपर्ने ज्ञवालीले खुल्लममखुल्ला बताउनुभएको छ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा ज्ञवालीले ‘हामीलाई कनेक्टिभिटी चाहिएको छ,पूर्वाधार चाहिएको छ’ भन्नुभयो । उहाँको धारणा थियो ‘हामी विश्वसँग जोडिन चाहन्छौं । हामी बीआरआईमा जोडिएका छौं । हामीले अब थ्री बी डब्लुबाट अधिकतम लाभ लिनुपर्छ ।’
उहाँले देशको हितमा निर्णय गर्न डराउन नहुने भनाई राखिरहँदा छिमेकी मित्रराष्ट्र चीनले अघि सारेको बिआरआई कार्यक्रमलाई चुनौती दिनेगरी पश्चिमा मुलुकहरुको अवधारणामा अघि सारिएको बी थ्री डब्लुप्रति चीनले जनाउने प्रतिक्रियाको समेत ख्याल नगरिएको कूटनीतिक क्षेत्रमा चर्चा भएको छ ।
यसअघि अर्थमन्त्री रहँदा हाल अमेरिका पुगेका नेपाली राजदूत युवराज खतिवडाले पनि झण्डै तीन वर्षसम्म बीआरआईसँग सम्बन्धित सहयोगका परियोजनाको निम्ति औपचारिक प्रस्ताव अघि नसार्न विभिन्न बहाना बनाउनुभएको थियो । तर,अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन भने अनेक उपाय अपनाउनुभएको थियो । मुलुकको वार्षिक बजेटमा समेत अनुमोदन नभएको एमसीसीको प्रस्तावित सहयोग रकम उल्लेख गराउनुभएको थियो ।
टिप्पणीहरू