प्रधानमन्त्री ओलीले झूठमाथि झूठ बोल्नुभयो : प्रचण्ड

प्रधानमन्त्री ओलीले झूठमाथि झूठ बोल्नुभयो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई धम्काउन थालेको बताउनुभएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो विपक्षी पाँचदलीय गठबन्धनले पत्रकारहरूसँग गरेको अन्तरक्रियामा बोल्दै दाहालले प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमै महान्यायाधिवक्तामार्फत् न्यायालयलाई धम्काउने र थर्काउने काम गरेको दाबी गर्नुभयो । अदालतको फैसला पहिले नै आफूलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफूहरू न्यायालयले संविधानअनुसार नै फैसला गर्नेमा विश्वस्त रहेको स्पष्ट पार्नुभएको छ ।

आफूले भन्दै नभनेको कुरालाई बनाएर भन्ने र जनतामा भ्रम फिँजाउने काम प्रधानमन्त्री ओलीले गरेको दाबी दाहालको थियो । उहाँले कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रिमण्डल बिस्तार गर्ने अधिकार संविधानले नै नदिएको भन्ने आफ्नो अभिव्यक्तिलाई ओलीले अदालतको फैसला पहिले नै प्रचण्डले जानकारी पाएको भनेर गलत प्रचार गरेको बताउनुभयो ।

गठबन्धनको भविश्यबारे सोधिएको जिज्ञासामा उहाँले आफू पहिलेदेखि नै प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष दाहालले यतिखेर प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि प्रहार भएको हुनाले राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि गठबन्धन बनाएर सरकारका प्रतिगामी कदमविरुध्द आफूहरू उत्रिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले गोहीको आँशु चुहाएर मान्छेलाई भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप लगाउँदै अध्यक्ष दाहालले भन्नुभयो ‘पार्टी एकताका लागि सहमतिमा हस्ताक्षर गर्ने,तर पछि सहमति तोडेर धोका दिने ?’

अदालतको फैसलापछि पार्टी एकताका लागि कुनै पहलकदमी नगरेका ओलीले उल्टै आफूमाथि चासो नदेखाएको भनेर लगाएको आरोप झुठो र बेइमानीको पराकाष्टा भएको उहाँको टिप्पणी थियो ।

टिप्पणीहरू