सावधान,उपत्यकाका नदीमा पनि पानीको सतह बढ्यो

सावधान,उपत्यकाका नदीमा पनि पानीको सतह बढ्यो

मनसुनी वायुको प्रभावले शनिवार संघीय राजधानी काठमाडौंलगायत मुलुकका अधिकांश स्थानमा ठूलो वर्षा भएको छ ।

शुक्रबार साँझदेखि नै काठमाडौंलगायत कतिपय स्थानमा भारी वर्षा भएको हो । गए राती र आज बिहानको वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह ह्वात्तै बढेको छ ।

त्यसैगरी मनोहरा नदीमा समेत पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका हुन् । विशेष गरेर नदी किनारमा बसोबास गर्दै आएको बस्तीभित्र बाढी पस्ने खतरा बढेको हो ।

आज बिहानबाट काठमाडौंको बागमती र विष्णुमती नदीको सतह पनि बढेको छ । धोबी खोला र बल्खु खोलाको सतह निकै बढेको थियो । काठमाडौं उपत्यकाका सबै नदी र खोलाको पानी एकीकृत भएर बहने चोभार गल्छीमा बागमतीको बहाव निकै बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भूभागमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।

विभागले शनिबार प्रदेश १ र २ का तराईका जिल्ला भएर बग्ने स-साना नदी तथा जलाधारमा पानीको बहाव बढ्न सक्ने भन्दै सर्तकता अपनाउन समेत आग्रह गरेको छ ।

टिप्पणीहरू