चारतारामा चुनावी चटारो, छुट्टाछुट्टै छलफल गर्ने हतारो

चारतारामा चुनावी चटारो, छुट्टाछुट्टै छलफल गर्ने हतारो

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली काँग्रेसमा नेताहरुको दौडधुप बाक्लिएको छ । काँग्रेसको आगामी पाँच वर्षे कार्यकालका लागि सभापति पदका आकांक्षीहरुले आन्तरिक छलफल र भेटघाटलाई तीब्र बनाएका छन् ।

यसैबीच आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बोलाएको छ । संस्थापनइतर नेताहरुको बैठकले महाधिवेशनको तयारी र नेतृत्वसँग सम्बन्धित विषयमा छलफल गर्ने बुझिएको छ ।

यता,पौडेल पक्षबाट सभापतिका आकांक्षी देखिएका महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह भने संस्थापनतिर सभापतिका दावेदार उपसभापति बिमलेन्द्र निधिसँग छलफलमा जुटेका छन् । तीन नेताबीच कोइराला निवास महाराजगञ्जमा छलफल भइरहेको छ । संस्थापन पक्षका निधिसहित इतरपक्षका कोइराला र सिंह चरणबध्द छलफलमा छन् ।

महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच प्रतिस्पर्धा हुने अनुमान गरिए पनि आफ्नै समूहभित्र आकांक्षीको संख्या बढेपछि दुवै नेता अप्ठेरोमा परेका छन् ।

दोस्रो कार्यकालका लागि सभापतिमा दोहोरिने बताउँदै तयारी थाल्नुभएका देउवालाई संस्थापनभित्रैबाट चुनौती थपिएको छ । देउवाका बलियो सारथी भनेर चिनिएका निधि पौडेल पक्षका नेताहरुसँग छलफलमा जुटेपछि देउवा अप्ठेरोमा परेको बताइन्छ । निधिले अन्तिमसम्म अडान नछोडे सभापतिमा दोहोरिने देउवाको चाहनामा ब्रेक लाग्न सक्छ । देउवासँगको छलफलमा निकट नेताहरुले निधिलाई मिलाएर जान सुझाव दिनुले पनि त्यसको संकेत गरेको छ ।

यता,पौडेल पक्षलाई पनि साझा उम्मेदवार बनाउन महाभारत पर्ने देखिएको छ । १३औँ महाधिवेशनमा देउवासँग पराजित हुनुभएका पौडेल भावी सभापतिका लागि स्वाभाविक उम्मेदवार मानिएपनि सो पक्षकै शशांक,प्रकाशमान र शेखरलगायतले तीब्र आकांक्षा राखेका छन् । उनीहरुले तयारी समेत थालिसकेका छन् ।

छुट्टै धारको नेतृत्व गर्दै आउनुभएका नेता कृष्णप्रसाद सिटौला पनि सभापतिमा उठ्ने तयारीमा रहेको बताइन्छ । सिटौलालाई युवा नेता गगन थापा, प्रदिप पौडेललगायतको साथ रहेकाले यो समूह पनि बलियो दावेदारीका साथ मैदानमा उत्रने तयारीमा रहेको चर्चा छ ।

दुवैतिरका आकांक्षीहरु संयुक्त छलफलमा जुटेपछि काँग्रेसको आगामी महाधिवेशनमा सभापतिको प्रतिष्पर्धा रोचक हुने अनुमान गर्न थालिएको छ । यद्यपि छलफल प्रारम्भिक चरणमै रहेकाले अहिले अनुमान गर्न नसकिने कांग्रेस नेताहरु बताउँछन् । दुवैतिर दोस्रो तहका नेताहरुले लिने अडानले कांग्रेसको भावी नेतृत्वको फैसला गर्ने नेताहरुको बुझाइ छ ।

कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । गत फागुन ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गते महाधिवेशनको निर्णय गर्दै कार्यतालिका तय गरेको थियो । उक्त कार्यतालिकालाई संशोधन गर्दै हालै बसेको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । संविधानअनुसार काँग्रेसलाई अब महाधिवेशनको मिति पछाडि धकेल्ने छुट छैन ।

टिप्पणीहरू