कसैलाई यतिसम्म कर गर्नु भयो ओली कमरेडले
‘मलाई उपप्रधानमन्त्री बन्ने रहर कहाँ थियो र ? केपीले बनिदिनुपर्यो भन्नुभयो, बनिदिएँ ।’ हिजोसम्म दुई हप्ताको लागि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका रघुवीर महासेठले आइतबार कर्मचारीहरुलाई यसो भन्नुभयो । उहाँलाई ०७४ सालमा पनि ओलीले दौरासुरुवाल लगाएर आउन भन्नुभएको थियो ।
तर, कोट–प्यान्टमा देखेपछि ‘किन यसरी ?’ भनी सोध्नुभयो । ‘मैले नाम पठाइसकेँ’ भन्दै मन्त्री हुने कुरा ओलीको मुखबाट सुने पनि तर कुन मन्त्रालय भन्ने थाहा थिएन । उनैको मागचाहिँ त्यहीबेलादेखि नै परराष्ट्रको थियो । तर, भौतिक पूर्वाधार मन्त्रालय पर्यो । ‘पछि बिदा लिनुप¥यो भन्नुभयो, मैले पनि हुन्छ भनेँ’, उहाँले सुनाउनुभयो । भन्नुभयो रुचि त गृहकै हो । वामदेव कमरेड गृहमा हुँदा पछाडिबाट त्यो मन्त्रालय चलाएको अनुभव मसँग छ ।
ओलीले रघुवीरलाई यसचोटि ‘परराष्ट्रमा जाने कोही भएनन्, तपाईंले नै सम्हाल्नुस्’ भनेकोले आफू उक्त मन्त्रालयमा पुगेको धनुषा जिल्लावासी र परराष्ट्रका एमालेनिकट कर्मचारीलाई उहाँले शेयर गर्नुभएको छ । ‘जुलीलाई बरु कृषितिर लानोस्, म बाहिरै बसेर सहयोग गर्छु भन्दा पनि मान्नुभएन । परराष्ट्रमा आइज कि आइज भनिरहनुभयो ।’ रघुवीरको जिकिर छ ।
हुन पनि ओलीको बाध्यता त्यस्तै छ । मधेसमा भएका एमालेहरु उहाँसँग छैनन् । २ नम्बर प्रदेशका आठ जिल्लाको ३२ सीटमा एमालेले प्रत्यक्षतर्फ जितेको जम्मा २ सीट । एउटा सिराहाबाट लीलानाथ श्रेष्ठ र अर्का उनै रघुवीर । त्यसमाथि हिजोसम्म क्याबिनेटमा एमालेका मन्त्रीमध्ये दुई जना प्रदेश २ का । अनि, धनुषाबाट जितेका तीनजना एउटै क्याबिनेटमा, पर्यटनमा उमाशंकर अरगरिया (यादव), परराष्ट्रमा महासेठ र शहरी विकासमा राजेन्द्र महतो । यसरी आफ्नो पक्षमा व्यालेन्स राख्न पनि रघुवीरलाई नबनाई नहुने बाध्यतामा ओली परेको बताइन्छ ।
तराईमा एमाले पाँचौं शक्ति हो । त्यसमाथि एमालेभित्र त्यहाँ माधवपक्ष बलियो छ । आठमध्ये सबै जिल्लामा माधवकाले अध्यक्ष जितेका हुन् । ओलीलाई यसचोटि यी सबै दबाब एकैचोटि परेको छ । अर्थात्, रघुवीरको चाहनाभन्दा ओलीको बाध्यताले उहाँ उपप्रधानमन्त्री बन्नुभएको हो । ओलीलाई मधेसमा नेताकै अभाव छ । रामप्रित पासवान, रामअवतार साह, सुधीर साह, श्रीप्रसाद साह, यदुवंश झा, रत्नेश्वर गोइत, रामदयाल मण्डल, धर्मनाथप्रसाद साह, रामचन्द्र साह, रामचन्द्र यादव सबै माधवतिर छन् । केपीले उनीहरुलाई पनि देखाउनुपर्ने कारण रघुवीरलाई अगाडि सारेको बताइन्छ ।
टिप्पणीहरू