नेपालको शान,गाउँ जगाउने अभियान

नेपालको शान,गाउँ जगाउने अभियान

-गणेश लम्साल

प्रदेश १ र २ मा बेरोजगारहरुलाई सीपमूलक तालिम दिएर रोजगारी बृध्दि गर्न थालिएको सम्बृध्दि आयोजना सफल सहयोगी बनेको छ । प्रदेश १ कोशी करिडोरअन्तर्गतका ८ ,प्रदेश २ मा जनकपुर करिडोरअन्तर्गतका ७ र बागमती प्रदेशको एउटा जिल्लाका ३० हजार बढी बेरोजगारलाई प्रत्यक्ष रोजगारी दिलाउन उक्त आयोजना सफल सहयोगी बनेको बताइन्छ ।

नेपाल सरकार र दातृ निकायको सहयोगमा सञ्चालित उक्त आयोजना प्रदेश १ को कोशी करिडोरअन्तर्गत मोरङ,सुनसरी, धनकुटा,तेह्रथुम,भोजपुर,खोटाङ, ओखलढुंगा र उदयपुरमा लागू गरिएको छ ।

त्यसैगरी प्रदेश २ को जनकपुर करिडोरअन्तर्गतका सप्तरी, सिरहा,धनुषा,महोत्तरी,सर्लाही, रौतहट र बाराका साथै बागमती प्रदेशको एक मात्र जिल्ला सिन्धुलीमा आर्थिक वर्ष २०७५/०७६ देखि सञ्चालन भइरहेको छ ।

आयोजना व्यवस्थापन कार्यालयका अनुसार आयोजनाले २०७५/०७६ मा १६ जिल्लाका ६० नगर र गाउँपालिकाहरुमा ५ हजार जनाले विभिन्न २३ विषयमा व्यावसायिक तालिम लिइसकेका छन् । यसैगरी चालु आर्थिक वर्ष १६ जिल्लाका १० हजार ७ सय जनाले २७ विषयमा तालिम प्राप्त गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ मा थप १४ हजार जनालाई तालिम दिने कार्यक्रम रहेको बताइएको छ । आयोजनाले कृषि तथा औद्योगिक उत्पादनका साथै बजारिकरण र सीप प्रदान गरेर रोजगार प्रवर्धनलाई प्राथमिकतामा राखेको छ । आयोजनामा सहभागी भएकाहरुले क्षमता विकासपश्चात् रोजगार प्राप्त गर्ने,सीप सिकेर साना तथा मझौला उद्योग सञ्चालन गर्न सक्षम भइरहेका छन् । आयोजनाले बेरोजगारहरुलाई छोटो अवधिका विभिन्न विषयमा निःशुल्क सीपमूलक तालिम दिएर रोजगार बनाउन सहयोग गर्ने गरेको छ ।

कृषि,आपूर्ति र कोभिड प्राथमिकतामा

सम्वृद्धि आयोजना प्रमुख शालिकराम दाहाल हालसम्म छोटो अवधिको सीपमूलक तालिम लिएका युवाहरु रोजगारमा सफल भइसकेकोले आयोजना गरिबी निवारणमा सफल हुँदै गएको दाबी गर्छन् । आगामी आर्थिक वर्ष कोभिडको असरलाई प्राथमिकतामा राखेर वैदेशिक रोजगारबाट फर्केकालाई तालिम दिने,रोजगार दिलाउने र साना तथा मझौला कृषकहरुलाई दूध,माछा, बाख्रा,तरकारी र सुगन्धित जडिबुटी खेतीमा आवश्यक प्रविधिसहितको ज्ञान दिएर प्रोत्साहन गर्ने योजना राखिएको छ ।

उक्त कार्यक्रम सञ्चालन भइसकेपछि प्रदेश १ र २ का गाउँमा आर्थिक विकासको लहर ल्याउनेमा आफू ढुक्क रहेको आयोजना प्रमुख दाहालको विश्वास छ । उनी भन्छन् – ‘सम्वृद्धिले बेरोजगारलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सहयोग गरिहेको छ,यसैले गाउँमा आर्थिक विकासको लहर ल्याएर गरिबी निवारण गरेरै छाडिने छ ।’

रोजगारी बढाउन फलदायी देखिएको उक्त आयोजना असफल भए दातृ निकाय र नेपाल सरकार मात्र असफल हुने नभई मुलुकको अर्थतन्त्रमा समेत असर पर्ने उनको निचोड छ । त्यसैले सम्वृद्धि कार्यक्रम सफल बनाउन सबैजना लागि पर्नुपर्ने उनको जोड छ ।
गरिबीको रेखामुनी र जोखिममा रहेकालाई प्राथमिकता

आयोजना प्रमुख दाहालका अनुसार स्थानीय पालिकाहरु मार्फत् तालिम कार्यक्रम सञ्चालन हुने गरेको छ । तालिममा महिला, जोखिममा परेका समुदायलाई उच्च प्राथमिकता दिने गरिन्छ । तालिम लिन पढेलेखेको हुनैपर्ने भन्ने छैन । परियोजना कोशी करिडोर कार्यालय इटहरीका अनुसार गरिबीको रेखामुनीका ८० प्रतिशत नागरिकलाई आयोजनामा सहभागिताका लागि प्राथमिकता दिइएको छ । जसमा ३३ प्रतिशत महिलासहित ४० प्रतिशत युवा र ६० प्रतिशत वैदेशिक रोजगारबाट फर्केका एवम् समाजिक बहिष्करणमा परेकाहरुले अवसर पाइरहेको बताइन्छ ।

अन्तर्राष्ट्रिस्तरको मोडल

सम्वृद्धि कार्यक्रममा साझेदार संस्थाहरुलाई परिचालन गरिरहेको हेल्भेटास नेपालका टीम लिडर बालमुकुन्द न्यौपाने अन्तर्राष्ट्रिय स्तरमा सफल भइसकेको मोडेललाई प्रयोग गरिएकोले उक्त आयोजना पनि सफल बनेको बताउँछन् । रोजगार तालिममा युवाहरुलाई सहभागी गराउने मात्र नभएर बजारबाट उनीहरुले कस्तो उपलब्धी हासिल गरे भन्नेबारेमा सम्वृद्धिले विशेष जोड दिने गरेको न्यौपाने बताउँछन् ।

तालिम मात्रै नभई बजारको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्न आयोजनाले सरोकारवाला निकाय र साझेदार संस्थाहरुसँग समन्वय र अनुगमन मूल्याङ्कन गर्ने गरेको जानकारी पनि संस्थाले दिएको छ ।

२७ भन्दाबढी विषयमा आत्मनिर्भर तालिम

सम्वृद्धिले निर्माण,मेकानिकल, ईलेक्ट्रिक,अटोमोबाइल,पर्यटन, स्वास्थ्य,सौन्दर्य,वैकल्पिक ऊर्जा, प्लम्बिङ,हस्तकला,छालाजन्य वस्तु उत्पादन,रेफ्रिजेरेसन,चाइल्ड केयर,कुकी,बुटिक,सिलाईबुनाई लगायत २७ भन्दा बढी विषयमा दीर्घ र अल्पकालीन तालिम प्रदान गर्दै आएको छ । तालिम लिनेहरु सीपमा दक्ष हुने भएकाले वैदेशिक रोजगारमा जान,आफै व्यवसाय गर्न र स्वदेशमै रोजगारी गर्नसमेत दक्ष भएको पाइएको छ ।

के हो सम्वृद्धि आयोजना ?

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच सन् २०१५ को डिसेम्बरमा सम्झौता भई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) कार्यान्वयनमा आएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र हेल्भेटास नेपाल आयोजनाका प्रमुख साझेदार तथा सरोकारवाला निकाय हुन् । आयोजनाको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्दछ । आयोजनालाई पुनःपरिष्कृत गरी सन् २०१७ नोभेम्बरदेखि २०२२ डिसेम्बरसम्म सञ्चालनका लागि पुनः योजना तय गरिएको हो । व्यवसायिक रुपले रोजगारी सृजना गरी आयआर्जन बढाउन,युवाहरुलाई वैदेशिक पलायन हुनबाट रोक्न, ठूला र साना उद्योगहरुबीच सम्बन्ध स्थापित गराई उत्पादन बढाउन र वैदेशिक रोजगारबाट भित्रिएको विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउने आयोजनाको उद्देश्य रहेको छ ।

कार्यक्रमले प्रत्यक्षरुपमा ३० हजार जना युवालाई रोजगारी दिलाउने, ५० हजार जनालाई वित्तीय शिक्षा र व्यावसायिक ज्ञान दिलाउने,१ लाख जनालाई वैदेशिक रोजगारीका लागि दक्ष बनाउने लक्ष्य लिएको छ ।

टिप्पणीहरू