तेस्रो लहरको लागि तयार हुन आग्रह,स्वास्थ्य सामाग्री गाउँमा जोहो गर्न सुझाव

तेस्रो लहरको लागि तयार हुन आग्रह,स्वास्थ्य सामाग्री गाउँमा जोहो गर्न सुझाव

कोरोना महामारीको दोस्रो लहर शुरु भएको दुई महिनामा नेपालमा पहिलो लहरमा भन्दा दोब्बरले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अधिकांशको कारक अक्सिजन अभाव रहेको बताइन्छ । दोस्रो लहरको शुरुमा मुलुकभर अक्सिजनको चर्को अभाव देखिएको थियो । त्यतिबेला धेरै सहयोगी संघ संस्थाले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका थिए । अस्पताल तथा स्वास्थ्य संस्थाहरूले पनि तत्कालको निम्ति महँगोमा धेरै वटा कन्सन्ट्रेटर खरिद गरे ।

अहिले अधिकांश ठूला अस्पतालमा अक्सिजन प्लाण्ट र लिक्विड अक्सिजनको व्यवस्था मिलाइएको छ । पहिलो लहर शुरु भएदेखि झण्डै डेढ वर्षसम्म सरकारले अक्सिजन उत्पादन तथा वितरणमा ध्यान नदिएको चर्को मूल्य दोस्रो लहरको प्रारम्भमा भएको हजारौंको मृत्युवरणमा राज्य र नागरिकले व्यहोर्नु परेको तीतो यथार्थ हामी सबैका सामुन्ने छ । अब राजधानी र ठूला शहरका अस्पतालमा त्यस्ता कन्सन्ट्रेटरको जरुरत देखिँदैन ।

विज्ञहरूले आगामी केही समयभित्र विश्वभरि कोरोना महामारीको तेस्रो लहर आउनसक्ने चेतावनी दिएका छन् । त्यसैले कोरोनाका सिकिस्त बिरामीलाई तत्काल आवश्यक पर्ने त्यस्ता अक्सिजन कन्सन्ट्रेटर अब दुर्गमका जिल्ला अस्पताल र स्वास्थ्य संस्थाहरूमा काम लाग्ने भएको छ । राज्यले यसबीचमा प्राप्त गरेका अधिकांश अक्सिजन कन्सन्ट्रेटर समानुपातिक हिसाबले सबै जिल्ला र पालिकामा रहेका अस्पतालमा बेलैमा पुर्याएर तयारी अवस्थामा राख्न विज्ञहरूले सुझाव दिएका छन् ।

तेस्रो लहरको निम्ति अस्पतालहरूमा सुविधासम्पन्न बेड, भेण्टिलेटर र लिक्विड अक्सिजनको लागि आवश्यक भौतिक पूर्वाधारको जोहो गर्न ढिलो गर्न नहुने उनीहरूको भनाई छ । त्यसैले यसबीचमा ठूला अस्पलालले प्राप्त गरेका कन्सन्ट्रेटरलाई बिस्तारै जिल्ला अस्पताल र हेल्थ पोष्टमा पठाउनुको विकल्प नभएको बताइन्छ ।

अहिले पनि गाउँ गाउँमा कोरोनाको सिकिस्त बिरामी देखिएका छन् । मुलुकका धेरै ग्रामीण ठाउँमा पीसीआर परीक्षणको सुविधा छैन । परीक्षण नै गरे पनि नतिजा आउन एक साता लाग्ने भएकाले ती स्थानमा तेस्रो लहरको लागि बेलैमा तयारी गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

टिप्पणीहरू