रुपन्देहिमा जेष्ठ ३१ सम्म निषेधाज्ञा,मार्निङवाक र ईभिनिङ वाकमा समेत रोक
-ऋषि भट्टराई
रुपन्देहि, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैसाख १६ गतेदेखि लागु हँदै आएको निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म लम्ब्याएको छ । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी को आज बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो ।
सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जेठ ३१ गत राती १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञालाई निरन्तरता दिएका हुन् ।
कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएको भन्दै यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग द्वारा जारी सुचनामा उल्लेख छ ।
आज थप गरिएको निषेधाज्ञामा औषधी उपचार तथा अत्यावश्यक काम बाहेक मार्निङवाक र ईभिनिङ वाकमा समेत रोक लगाइएको छ ।
वैठकले सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने, सबै प्रकारका पार्टी प्यालेस, सिनेमाहल, सेमिनार , तालिम, गोष्ठी सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, व्युटिपार्लर, स्विमिङ पुल, संग्राहलय, पुस्ताकालय, सामूहिक खेलकुद र जिमखाना बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैंकमा एक–एक जना प्रविधिक जनशक्तिबाट सेवा प्रदान गरी सम्पूर्ण बैक र वित्तिय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिएका छन् ।
टिप्पणीहरू