कोभिडविरुद्ध लड्न उद्योग वाणिज्यको सहायता केन्द्र (भिडियो )

कोभिडविरुद्ध लड्न उद्योग वाणिज्यको सहायता केन्द्र (भिडियो )

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ ।

कोभिड १९ संक्रमणमा परेकालाई सेवा प्रवाह गर्न सहजीकरण र समन्वय गर्न वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा सहायता केन्द्र गठन गरिएको हो ।

कोभिड १९ सहायता केन्द्रले ६ वटा सहायता क्षेत्रको पहिचान गर्दै महासंघ सदस्यहरुलाई जिम्मेवारी समेत तोकेको छ । योसँगै महासंघले सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत् सम्पर्क गरेर सहयोग लिन सकिने जनाएको छ ।

अक्सिजन सिलिण्डरको व्यवस्थापनको जिम्मेवारी महासंघका उपाध्यक्ष रामचन्द्र सांघाइ र ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतीलाई दिइएको छ । यस्तै, अस्पताल तथा आइसालेसन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनका लागि देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र केयुर गौतमलाई जिम्मेवारी दिइएको छ ।

एम्बुलेन्स तथा आइसोलेसन केन्द्रको व्यवस्थापनका लागि रञ्जितराज आचार्य, औषधि तथा मेडिकल उपकरणको जिम्मेवारी प्रवलजंग पाण्डे र भक्त हमाललाई दिइएको छ भने होटल र हवाई यातायात व्यवस्थापनका लागि ज्योत्सना श्रेष्ठ,विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी दिइएको महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले जानकारी दिनुभयो ।

महासंघको सहायता केन्द्रबाट समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका सर्वसाधारणलाई सहयोग पुग्ने उहाँले बताउनुभयो । महासंघले काठमाडौँ उपत्यकामा दुई सय बेडको आइसोलेसन केन्द्र बनाउन लागेको पनि ढकालले जानकारी दिनुभयो ।

कोभिड संक्रमण बढेर देश नै अस्तव्यस्त हुन लागेको बेला नीजि क्षेत्रको छाता संगठनले सहायताको लागि अग्रसरता देखाएको छ । यो क्रम निरन्तर रहने र निजी क्षेत्रका संस्था तथा व्यवसायी एक भएर कोभिडबिरुद्ध लड्न जनता र सरकारलाई सघाउने वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभएको छ ।

कोभिड संक्रमण नियन्त्रणमा सरकारले सहकार्यका लागि आग्रह गरेपनि निजी क्षेत्रले बेवास्ता गरेको समाचार आउन थालेपछि महासंघले सक्रियता देखाएको हो ।

टिप्पणीहरू