कोभिड खोप आयातमा चलखेल नगरेको हुकुमको दाबी ‘झूठो’
कोरोनाविरुद्धको कोभिसिल्ड खोप आयातमा कमिशनको चलखेल भएको समाचारलाई आधारहीन भएको बताउने हुकुम डिस्ट्रिब्युसन एण्ड लजिष्टिक प्राइभेट लिमिटेडको दाबी झुठो ठहरिएको छ ।
सरकारले २० लाख डोज आफैँ किन्ने निर्णय गरिसकेपछि थप ५० लाख डोज खरिदको निम्ति उसले स्वास्थ्य सेवा विभागमा पेश गरेको पत्रबाट उसको झूठ छर्लङ्ग हुन्छ ।
हुकुमले ल्याउने ५० लाख डोज खोपको आधारमा प्रधानमन्त्री स्वयमले छोटो समयभित्रै सबै नेपालीलाई खोप लगाउने वचन दिनुभएको थियो ।
हुकुमले आज जारी गरेको विज्ञप्तिमा ५० लाख डोज खोप खरिदको लागि भएको पहलबारे केही पनि उल्लेख छैन ।
उसले सरकारले सोझै भारतको सिरम इन्स्टिच्युटसङ्ग खरिद गरेको १० लाख र प्रक्रियामा रहेको बाँकी १० लाख डोजसम्बन्धमा इन्स्टिच्युट प्रतिनिधिको हवालासहित स्पस्टिकरण दिएपनि १० प्रतिशत कमिशन उल्लेख गरेर गत फेब्रुअरी २४ तारिखका दिन विभागमा पेश गरेको प्रस्तावबारे उल्लेख नगर्नु रहस्यमय भएको छ ।
प्रस्तावमा ५ डलर ५० सेण्ट प्रति डोज खोपलाई ५५ सेण्ट कमिशन जोडेर ६ डलर ५ सेण्ट मूल्य कायम गरिएको छ । भुक्तानी भएको १ सय २० दिनभित्र खोप ल्याउने र उक्त प्रस्ताव ७ दिनको लागि मान्य हुनेगरी पेश गरिएको बकायदा उल्लेख छ ।
प्रस्तावमा रकम भुक्तानी ८० प्रतिशत पहिले र २० प्रतिशत खोप सिरमले पठाउने तयारी गरेपछि भनिएको छ ।
सिरमको आधिकारिक प्रतिनिधिको रुपमा हुकुमले विभागबाट फेब्रुअरी २४ को दिन गरिएको अनुरोधबमोजिम आफूले उक्त प्रस्ताव गरेको पत्रमा उल्लेख गरेको छ ।
यसबाट सरकारी अधिकारी,राजनीतिक नेतृत्व तथा सम्बन्धित पक्षको मिलेमतोमा ५० लाख डोज खोप खरिदमा पछिल्लो विनिमयदरअनुसार झण्डै ३६ करोड रुपैयाँको कमिशन रकममा चलखेल भएको स्वतः देखिन्छ । खोपको मूल्य ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी पर्न आउने प्रस्ट छ ।
टिप्पणीहरू