हरिद्वारमा पूर्वराजाको चिन्ता : सांस्कृतिक अतिक्रमण बढ्यो (भिडियाे सहित)
धार्मिक भ्रमणमा व्यस्त पूर्वराजा ज्ञानेन्द्र शाह अहिले हरिद्वारमा हुनुहुन्छ । राजनीतिक घटनाक्रममा कम चासो राख्ने पूर्वराजा ज्ञानेन्द्रले हरिद्वारमा सम्पन्न महाकुम्भ मेलामा लामो धार्मिक सम्बोधन गर्नुभएको छ ।
महाकूम्भ मेलालाई सम्बोधन गर्दै उहाँले हिन्दु धर्म र संस्कृति बचाउन अपिल गर्नुभएको छ । हिन्दु धर्म, सभ्यता र संस्कृतिका आदर्शहरुले विश्वकै मानवीय मूल्यलाई डोर्याउने भन्दै पूर्वराजा ज्ञानेन्द्रले हिन्दु संस्कृतिको रक्षा गर्न मठ, मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नदीहरूको प्रवाह स्वच्छ पार्नु छ’, उहाँले भन्नुभएको छ, ‘भगवान रामले भन्नुभएजस्तै ‘अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गा गरीयसी’ भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।’
पूर्वराजा ज्ञानेन्द्रले ‘के नेपाल सानो छ’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवन्धको स्मरण गर्दै पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत उल्लेख गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण हिन्दु धर्म, संस्कृति र सभ्यतामा ह्रास आएको उल्लेख गर्नुभएको छ ।


‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नु भएको ‘के नेपाल सानो छ’ भन्ने निबन्ध पढेको थिएँ। बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो’, उहाँले भन्नुभएको छ ।
पूर्वराजाले हिन्दू सभ्यता, हिन्दुत्व र सनातनीक आर्य संस्कृति, वेद उपनिषद् पुराण अनेकौ ग्रन्थ शास्त्र सबै महत्वपूर्ण भएकाले तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशिलन आफैमा गहन रहेको पनि उल्लेख गर्नुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र चैत २६ गते पत्नी कोमलका साथ निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानन्दजी महाराजको निमन्त्रणामा हरिद्वार पुग्नुभएको हो ।
टिप्पणीहरू