भोलिदेखि राजधानीमा फोहोरको थुप्रो
फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले आफ्ना जायज माग पूरा नगरिए काठमाडौं उपत्यकाको फोहोरमैला ढुवानी बन्द गर्ने भएको छ । समितिले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले चासो नदिएकाले फोहोरमैला ढुवानी बन्दको चेतावनी दिएको हो ।
फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिको हालैको बैठकले उक्त निर्णय गरेको बताइएको छ । बैठकको निर्णयअनुसार समितिले सिसडोल ल्याण्डफिल साइट पूर्णरुपमा बन्द गराउने जानकारी काठमाण्डौँ महानगरपालिकालगायतका निकायलाई गराइएको बताएको छ ।
सो क्रममा उनीहरूले ककनी गाउँपालिका,धुनिबेसी नगरपालिका,बालाजु प्रहरी वृत्त, जिल्ला प्रशासन कार्यालय नुवाकोट,सशस्त्र प्रहरी बेसक्याम्प सिसडोल शाखा,चिलमार प्रहरी चौकी,इलाका प्रहरी कार्यालय, ककनी तथा विभिन्न सरोकारवाला निकाय र सञ्चारमाध्यमलाई जानकारी गराएका हुन् ।
समितिले आफ्ना माग पूरा नगरे फोहोरमैला ढुवानी बन्द गर्न अनिश शर्मा ढुङ्गानाको संयोजकत्वमा २२ सदस्यीय संंघर्ष समितिसमेत गठन गरेको छ ।
काठमाण्डोँ महनगरपालिकालगायत उपत्यकाका १८ वटै नगरपालिकाले फोहोरमैला विसर्जन गर्ने ओखरपौवाको ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरूलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने सम्झौताको कार्यान्वयन गराउनेतर्फ अहिलेसम्म ध्यान नदिएको समितिले जनाएको छ ।
बारम्बार झक्झक्याउँदा पनि माग पूरा नभएपछि समितिले संघर्षको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार चैत ११ र १२ गते फोहोरमैला बन्द गर्न विभिन्न सरोकारवाला निकायमा पत्राचार गरिएको, १३ गते फोहोरमैला पूर्णतयाः बन्द गर्ने, १४ गते ककनी गाउँपालिका १ मा पर्ने ठूलोखोलामा शिक्षक, अभिभावक, जनप्रतिनिधिलगायतको उपस्थितिमा फोहोरमैला सम्झौता कार्यान्वयन नहुँदासम्म फोहोर बोकेका सवारी साधन गुड्न नदिने संघर्षका कार्यक्रम तय गरेको संयोजक ढुङ्गानाले जानकारी दिएका छन् ।
टिप्पणीहरू