नेपाली भाषाका निम्ति अमेरिकामा पहल

नेपाली भाषाका निम्ति अमेरिकामा पहल

अमेरिकाको डायस्पोरामा नेपाली मानक भाषा शिक्षाको विस्तारका लागि पहल थालिएको छ ।

साहित्य परिषद् भुटानको शिक्षा विभागले डायस्पोराका लागि केन्द्रिकृत मानक भाषा शिक्षाको परियोजना तयार गर्न, विभागलाई विस्तार गर्न र अन्य भाषा, साहित्य र शिक्षणमा संलग्न व्यक्ति र संस्थासँग सहकार्य गरी अघि बढ्न आह्वान गरेको छ । डायस्पोरामा नेपाली भाषा समस्याको दिगो समाधानका प्रयासलाई समायोजन गरी समयसान्दर्भिक परियोजनाका रूपमा अघि बढाउने विषयमा सोमबार भर्चुअल छलफल गरिएको थियो । छलफलमा सहभागीले आधुनिक शिक्षा मनोविज्ञान, प्रविधि र बालबालिकाको रुचिअनुसारको शिक्षा नीति, पाठ्यक्रम र पाठ्यसामग्री तयार गर्नुपर्ने कुरामा विशेष जोड दिए ।

साहित्य परिषद्् भुटान सबैभन्दा पुरानो संस्था भएको, विगतमा शरणार्थी शिविरमा पनि भाषा शिक्षाको सफल परियोजना सञ्चालित गरेको, थुप्रै शिक्षक र साहित्यकारहरू जन्माइसकेको र पुनर्वासमा पनि मानक पाठ्यक्रम निर्माणको अभ्यास गरिरहेको हुँदा सहकार्य गरेर नेपाली मानक भाषा शिक्षाको विस्तार गर्नुपर्नेमा सहभागीको जोड थियो । साहित्य परिषद् भुटान, शिक्षा विभागका संयोजक खिम खतिवडाले नेपालले भाषा शिक्षणसहित प्रकाशित हुने कृतिहरूको मूल्यांकन गरी प्रकाशन र एउटा मानक निर्धारण गरिनुपर्ने बताए ।

अमेरिकाको हेरिस्वर्गमा लामो समयदेखि भाषा शिक्षण योजना चलाउँदै आएका डा. तुलाराम न्यौपानेले हाल प्रशिक्षित शिक्षक, कुनै मानक पाठ्यक्रम र पाठ्यसामग्री नभएकाले परिषद्सँग सहकार्य गर्न तयार रहेको बताए । भूतपूर्व शिक्षक ज्वाला रेग्मी र समाजसेवी नारद अधिकारी, जीवीएलओका अध्यक्ष कर्ण गुरुङ, एसएनके एजुकेशनका सञ्चालक कृष्ण रेग्मी र एथिक स्कुल (अस्ट्रेलिया) का सञ्चालक मोहन गौतमलगायतले आफ्ना संस्थामा भाषा शिक्षणका समस्या, अभिभावकको निरुत्साहितता र पाठ्यक्रम अभाव हटाउन पनि मानक परियोजना तयार आवश्यक रहेको औंल्याए ।

परिषद्का अध्यक्ष गंगा लामिटारेको अध्यक्षतामा भएको छलफलमा केन्द्रीय मानक भाषा शिक्षणको पाठ्यक्रम र परियोजनामा सहकार्यका सम्बन्धमा आगामी रणनीति तय गरेर अगाडि बढ्ने जानकारी दिइएको थियो ।

टिप्पणीहरू