विभिन्न देशमा नयाँ पोस्टिङ्ग

विभिन्न देशमा नयाँ पोस्टिङ्ग

परराष्ट्र सेवाका कर्मचारीहरुबीच निकै ‘चार्मफुल’ मानिएको दक्षिण एशियाली राष्ट्रहरुको क्षेत्रीय सहयोग संगठन सार्कको कन्ट्री डाइरेक्टर रहेका दधिराम भण्डारीको स्थानमा नयाँ निर्देशक तोकिएको छ । दोहास्थित नेपाली दूतावासबाट फर्किएका मणिरत्न शर्मालाई त्यहाँ पठाईंदैछ । आइतबार राती अबेरसम्म मन्त्रालयमा भएको उच्चस्तरीय छलफलबाट त्यसबारे टुंगो लगाइएको हो । काठमाडौंमा बसेर मासिक ७ हजार अमेरिकी डलर तलब भत्ता पाइने भएपछि उक्त पदलाई सबैले आकर्षक भन्दै आएका छन् ।

त्यसैगरी ओमानबाट फर्केकी रोजिना ताम्राकारलाई क्यानाडा पठाउने तयारी छ भने अन्य देशमा कार्यकाल पूरा गरेर आएका राजदूतलाई डिभिजन चिफ बनाइएको छ । जेनेभाबाट फर्केका डिसिएम सुरेश अधिकारी ब्रसेल्स,बैंककबाट फर्केका जङ्गबहादुर गुरुङ्गलाई जेनेभा खटाउन लागिएको छ । साउदीबाट रिटर्न उपसचिव आनन्द शर्मा प्रथम सचिवको हैसियतले पोलिटिकल काउन्सिलरको जिम्मेवारी पाएर नयाँ दिल्ली जाने भएका छन् ।

अहिले परराष्ट्रको प्रशासनमा अस्ट्रियाको राजदूतबाट फर्किएका प्रकाश सुवेदीलाई राखिएको छ । त्यसैगरी बेलायतस्थित राजदूतबाट फर्केका दुबसु क्षेत्रीलाई चिफ अफ प्रोटोकलको जिम्मेवारी दिइएको छ । बेल्जियमबाट फर्केका सहसचिव लोकबहादुर थापालाई मन्त्रालयको नर्थ इष्ट एसिया डेस्कमा राखिएको छ । उक्त डेस्कले चीन,जापान, दक्षिण कोरिया,उत्तर कोरिया र मंगोलिया हेर्छ ।

राजदूत बनेर जाने लाइनमा अझै पनि सहसचिवहरु टन्नै देखिएका छन् । झण्डै आधा दर्जन मुलुकमा रहेको राजदूतावास नेतृत्वविहीन छ । सहसचिव भएपछि परराष्ट्रका कर्मचारीले पाएसम्म राम्रो मुलुक, नभए जहाँको भएपनि राजदूत हुन खोज्नु अस्वाभाविक हैन । राजदूत भइसकेका एकजना कर्मचारीले भने ‘हाम्रो लागि राजदूत पद जर्नेलको फुली जस्तै हो । जहाँको भएपनि बन्न पाए पुग्यो ।’

राजदूत बन्ने लाइनको सबैभन्दा माथि रहेका निर्मल काफ्लेलाई भने अहिलेसम्म अड्काइएको छ । उनी यसअघि बेइजिङबाट न्यूयोर्क र न्यूयोर्कबाट परराष्ट्रको युरोप, अमेरिका डेस्कमा आएका थिए । यसअघि नियुक्त दुई पोलिटिकल फिल्डका सहित तीन जनालाई सरकारले नै रोकिदिएपछि काफ्लेको इजिप्टमा राजदूत बन्ने योजना अहिलेसम्म थाती छ ।

उता,डेनमार्कबाट फर्केर राहदानी महाशाखा चिफ बनेका डोरनाथ अर्याल पनि राजदूत बन्न तम्तयार भएर बसेका छन् भनिन्छ । गुल्मीका अर्याल समकालीन कर्मचारीमा छरिता मानिन्छन् ।

टिप्पणीहरू