अर्को खतरनाक कदम केका लागि ?
पुरुषोत्तम पौडेल
पद, प्रतिष्ठा र शान–शौकात सामन्तवादका गहना हुन् । पुँजी, सम्पत्ति धाक–रवाफ पुँजीवादका विशेषता हुन् । अहिलेको सन्दर्भमा पद, पैसा र स्वार्थकेन्द्रित कुदाइ दक्षिण पन्थी अवसरवाद हो । दक्षिण पन्थी अवसरवाद अन्ततः वामपन्थको आवरणमा देखिने पुँजीवादी चिन्तन नै हो । अवसरवादको आफ्नो छुट्टै परिचय हुँदैन । यसले आफूलाई समय अनुकूल बनाइरहन सक्ने महारथ प्राप्त गरेको हुन्छ । वामपन्थीको वर्चस्व भएको हाम्रो समाजमा जुनसुकै अवसरवादले पनि आफूलाई वामपन्थी रंगमा देखाउने गरेको पाइन्छ । वामपन्थी अनुहार तुलनात्मक रूपले बिकाउ अनुहार भएकाले विभिन्न अवसरवाद अहिले वामपन्थी रंगमा देखिने गरेका छन् ।
वामपन्थी विचारधारा र वाम आन्दोलन नेपालमा सर्वथा लोकप्रिय आन्दोलनको रूपमा रहेको छ । नेपालमा वामपन्थी आन्दोलनलाई लोकतान्त्रिक आन्दोलनका रूपमा समेत लिइन्छ । वामपन्थी आन्दोलनलाई देशभक्तिपूर्ण आन्दोलनका रूपमा पनि लिइन्छ । नेपालको सन्दर्भमा वामपन्थी आन्दोलन नै कम्युनिष्ट आन्दोलनको रूपमा समेत परिभाषित भइरहेको छ । नेपाली राजनीतिमा वामपन्थीलाई कम्युनिष्ट आन्दोलनका अभियन्ताको रूपमा बुझिन्छ । नेपालमा कम्युनिष्ट पार्टीले राष्ट्रियता, जीविका र लोकतन्त्रलाई आफ्नो एजेण्डाको रूपमा उठाउँदै आएका छन् ।
नेपाली कम्युनिष्टहरूले समाजमा शान्तिपूर्ण आन्दोलनको मिशाल प्रदर्शन गरेका छन् । खास अवस्थामा सशस्त्र युध्दसमेत गरेर आएका छन् । अहिले भने नेपाली कम्युनिष्ट आन्दोलनले आफूलाई सत्ताको केन्द्रमा उभ्याएको छ । केही दिन अगाडिसम्म नेकपाको रूपमा यो आन्दोलन देशको सबभन्दा ठूलो पार्टीको रूपमा थियो । झण्डै दुई तिहाइ बहुमतको सरकार चलाइरहेको थियो ।
आन्दोलनको नेतृत्व तहमा प्रकट अहं, अवसरवाद तथा अराजकतावादी चिन्तनको कारण आज पार्टी नै विभाजित छ र सरकार पनि आफूलाई बचाउन कसरत गरिरहेको छ । सत्तालिप्सा र चरम अवसरवादी चिन्तन नै यो अवस्थाका लागि जिम्मेवार छ । नेतामा देखिएको विधिलाई अस्वीकार गर्ने र अवसरको खोजीमा मग्न रहने चिन्तनले हामी अन्योलको अवस्थामा आइपुगेका छौँ ।
हिजो माओवादी आन्दोलन उत्कर्षमा रहेका बेला उनीहरूले देशभरि जनअदालत चलाए । कानुन हातमा लिएर अनेक मुद्दा फैसला गरे । माओवादी कमान्डरहरूले आफ्नो भूमिगत सेल्टरमै मालपोत कार्यालय चलाएर जग्गा जमिन पास गर्ने र मुद्दा फैसला गर्ने कामसमेत गरे । मधेस आन्दोलन उत्कर्षमा पुगेका बेलामा मधेशी आन्दोलनका अगुवाहरूले आफूखुसी मधेसमा रहेका सरकारी कार्यालय कब्जा गर्ने काम गरे । ती कार्यालयमा हस्तक्षेप गरेर मधेश सरकार लेखिएका बोर्ड राख्ने काम गरेका थिए । यी सबै काम राजनीतिमा देखिएको एक खालको चरम अराजकता थियो । पहिलो उग्र वामपन्थी अराजकता थियो भने दोस्रो चरम दक्षिणपन्थी अराजकता थियो ।
आज देशमा फेरि अर्को खालको अराजकता प्रकट भइरहेको छ । हिजो देखिएको अराजकता राज्यविरुद्ध आक्रोशको रूपमा प्रकट भएको थियो । त्यसलाई स्वाभाविक मान्न सकिन्थ्यो होला । तर, आज त्यस्तो अराजकता राज्य संरक्षित अराजकताको रूपमा प्रकट हुन थालिरहेको छ । हिजो आफैँले गरेको पार्टी एकता सम्मानित सर्वोच्च अदालतले भंग गरिदिएको परम पराजयलाई समेत विजयको रूपमा प्रचार गर्दै सरकारको संरक्षणमा एकथरी व्यक्ति विजयी आन्दोलनकारीको जस्तो पार्टी कार्यालय कब्जा गर्ने, कार्यालयमा अनधिकृत बोर्ड राख्ने र पार्टीभित्रकै फरक मत राख्ने साथीहरूविरुद्ध र कसैका पक्षमा नाराबाजी गर्ने अराजक तथा आपत्तिजनक प्रवृत्तिलाई हाबी गराउने काम गरिँदै छ ।
त्यति मात्र होइन, सत्तामा रहेको पार्टी नेकपा एमालेका अध्यक्ष स्वयं पार्टीको नीति, विधि र विधानविपरीत गुटको बैठक गरेर निजी गुटलाई नै पार्टी मान्ने, गुटको बैठकको निर्णयलाई नै पार्टी निर्णय भन्दै प्रचार गर्ने अनि आफूसँग फरक मत राख्ने सबैलाई बढारेर पार्टीलाई आसेपासेको अखडा बनाउने कामको नेतृत्व गरिरहनुभएको छ । हँुदाहुँदा अब त पार्टीका वरिष्ठ नेता र महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई समेत किञ्चित हिसाब नगरी हुकुमी पजनीद्वारा आफ्नो गुटका व्यक्तिलाई मात्र समावेश गरेर पार्टीलाई चाटुकारहरूको भर्तीकेन्द्र बनाउने सोच र योजनासहित तयारी भएको छ । जुन अवसरवादको अर्को चरम नमुना हो ।
नेकपा एमालेजस्तो लोकतान्त्रिक प्रक्रियाबाट आएको पार्टी, जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यक्रम र मार्गदर्शक सिद्धान्त बनाएर आएको पार्टी अनि पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी र आदरणीय कमरेड मनमोहन अधिकारीले पसिना बगाएको पार्टीलाई कुर्सी र केवल प्रधानमन्त्रीको कुर्सीलाई दिगो बनाउनका लागि २०७५ जेठ ३ गते विघटित गरिदिने काम भयो । पार्टीको लोकप्रिय नीति जनताको बहुदलीय जनवादलाई कुर्सीकै लागि बलि चढाउने काम गरियो । अहिले मात्र आफ्नो कुर्सी रक्षाकै लागि आफैँले एकता गरेर बनाएको एकीकृत पार्टी नेकपालाई विघटन गरेर खुसियाली मनाउने काम हुँदै छ । नेकपा विघटन सँगसँगै पुनर्जीवन पाएको नेकपा एमालेलाई एकता र शक्ति आर्जन गर्ने आधार बनाउनुको सट्टा चरम गुटबन्दीको चक्करमा परेर पुनः विभाजन गर्ने व्यूह रचना गरिँदै छ । यो संसद् विघटन, पार्टी विघटनपछिको अर्को खतरनाक कदम सावित हुनेछ ।
यो खतरनाक कदमले नेकपा एमालेका एकथरी मान्छेलाई तत्काल केही न्यानो दिन सक्छ । आफ्ना चाटुकारहरूलाई नेतृत्वमा ल्याउन सफल भएकोमा सत्ताधारीहरूलाई केही चैनको अनुभूति भएको हुन सक्छ । अरूलाई पीडा दिएर रमाउने पीडकहरूलाई आनन्द आएको हुन सक्छ । आलोचना हुन नसक्ने, बहुलवादी विचारलाई पचाउन नसक्ने अनि प्रसंशामा मात्र रमाउनेहरूलाई मज्जा आएको हुन सक्छ । तर, कालान्तरमा यसले पार्टीलाई डुबाउनु त छँदै छ । देश र जनतालाई पनि ठूलो नोक्सानी हुनेछ । आम जनताको नजरमा सधैँ शक्ति मात्र पूज्य हुँदैन । ठुल्ठूला शक्तिशालीले पनि जमिन बिर्सनु हँुदैन । अरूको अस्तित्व अस्वीकार गरेर आफूलाई मात्र हिरो सोच्नेको अस्तित्व पनि एकदिन नामेट हुन सक्छ । हामीले त्यस्तो दिन देख्नु नपरोस् । सबैको जय होस् !!!
टिप्पणीहरू